Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ६ मंगलबार
  • Tuesday, 22 September, 2020
किशाेर नेपाल
२०७७ श्रावण २७ मंगलबार १०:१०:००
दृष्टिकोण प्रिन्ट संस्करण

कांग्रेसी बिरासतका बादसाह

किशाेर नेपाल
२०७७ श्रावण २७ मंगलबार १०:१०:००

आशा गर्न सकिन्छ कि देशका कांग्रेसीहरू ढिलोमा जेठ ०७८ भित्र महाधिवेशन गर्न सफल हुनेछन्

आउँदो फागुनका लागि तोकिएको नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको आकर्षण बढ्न थालेको देखिएको छ । कांग्रेस कार्यकर्ताका लागि महाधिवेशन चुनौती र अवसरको समय भएकाले उनीहरू आल्हादित हुनु ठूलो कुरा भएन । यसपटक जागरुक र लोकतन्त्रवादी नेपाली नागरिक तथा बौद्धिक व्यक्तिले पनि महाधिवेशनलाई ठूलो अभिरुचिका साथ हेर्न थालेका छन् । देशमा पहिलोपल्ट नेपाल कम्युनिस्ट पार्टीले दुईतिहाइ बहुमतको सरकार बनायो । नेपालको राजनीतिक इतिहासमा यो सानो घटना थिएन । तर, दुई वर्ष पुग्दानपुग्दै नेपाल कम्युनिस्ट पार्टीमा धाँजा फाट्न सुरु भयो । पहिलो त एमाले र माओवादी कम्युनिस्ट पार्टी भए पनि यिनीहरूबीचको राजनीतिक र सैद्धान्तिक अन्तर्विरोध यथावत् थियो । युद्धबाट सोझै गणतान्त्रिक समाजमा आएका माओवादी र पञ्चायतकालदेखि नै कहिले बहुदलीय शासन व्यवस्थाविरुद्ध मतदान गरेर, कहिले जनपक्षीयको नाममा ‘ग्रे कोट’मा सजिएर राष्ट्रिय पञ्चायतको बैठकमा भाग लिएर, संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि अल्पमतको सरकार चलाएर, कहिले प्रतिगमन आधा सच्चिएको बताएर खेली–खाई हुर्किएको एमालेको तुलना सम्भव नै छैन । 

कम्युनिस्ट एकता सत्ता र शक्तिको बाँडफाँडका सर्तमा भएको थियो । जब सरकार बन्यो, माओवादी जिल्लियो । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री र अध्यक्ष पद छाड्न कुनै सर्तमा तयार भएका छैनन् । उनी आफ्नो राजनीतिक गोठको नाइके माओवादीलाई बनाएर आफ्नै खुट्टोमा बन्चरो चलाउन चाहँदैनन् । गणतान्त्रिक संविधान जारी भएपछि बनेको एमाले–माओवादी गठबन्धन सरकारको समयमै यो कुरा थाहा भएको थियो । माओवादी अध्यक्ष प्रचण्डको नेपालमा एउटै कम्युनिस्ट पार्टी खडा गर्ने जिद्दीका कारण उनी आफै अपमानित भएका छन् ।

नेपाली जनताले पछिल्लो कम्युनिस्ट एकताको सन्दर्भसँग जोडेर हेरेका छन्, कांग्रेसको चौधौँ महाधिवेशनलाई । कोरोनाका कारण महाधिवेशन समयमा सम्पन्न हुन सक्नेमा द्विविधा छ । महामारीको वेग कम भएमा महाधिवेशन फागुनमै होला । होइन भने केही समय पछि सर्ला । महामारी र प्राकृतिक दुर्घटना कसैको नियन्त्रणमा हुँदैन । आशा गर्न सकिन्छ कि देशका कांग्रेसीहरू ढिलोमा जेठ ०७८ भित्र महाधिवेशन गर्न सफल हुनेछन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारीअनुसार कांग्रेसको केन्द्रले आफ्ना सबै जिम्मेवारी आगामी असोजभित्र पूरा गर्नेछ । 

कांग्रेसको यो महाधिवेशनमा देशका राजनीतिक घरानासँग जोडिएका तीनजना प्रभावशाली नेताले सभापति पदमा निर्वाचन लड्ने अठोट देखाएका छन् । अहिलेसम्म कांग्रेसभित्र बिरासत धान्ने र थेग्ने चलन छैन । बिपीले आफ्ना छोरालाई राजनीतिमा लाग्न कहिल्यै सघाउनु्भएन । उहाँका जेठा छोरा प्रकाश कोइराला कांग्रेसको राजनीतिमा ‘फिट’ हुनुभएन । पछि उहाँ राजा ज्ञानेन्द्रको मन्त्रिपरिषद्मा सामेल हुनुभयो । 

शशांक कोइराला : बिपीका कान्छा छोरा तथा सभापति देउवाका महामन्त्री शशांक कोइरालाले निकै अघिदेखि कांग्रेस सभापति पदमा चुनाव लड्ने इच्छा व्यक्त गर्दै आएका छन् । शशांकको व्यक्तित्वमा ठूलो आकर्षण छ । उनी मृदुभाषी छन् । आँखाका कुशल र लोकप्रिय डाक्टर हुन् उनी । र, आफैँ आँखामा हाले पनि नबिझाउने व्यक्तित्व छ उनको । आफ्नी स्वनामधन्य आमा सुशीला कोइरालाजस्तै संवेदनशील र बुबा बिपी कोइरालाजत्तिकै कुशाग्रबुद्धिका प्रतिभाशाली व्यक्तित्व हुन् शशांक । उनी कुशल नेत्रचिकित्सक हुन्, जसले हजाराैँ नेपालीको आँखालाई उज्यालो संसार देखाए । सेवाबाट निवृत्त भएपछि उनी राजनीतिसँग जोडिएका हुन् । राजनीतिमा उनी अझै बिन्दास छन् । उनी मोरंग तथा सुनसरीबाट बाहिर पहिलेको नवलपरासी र हालको नवलपुरबाट चुनाव लडेका छन् । नवलपुरका जनताले उनलाई लगातार तीनपटक प्रतिनिधि निर्वाचित गरेर पठाएका छन् । यता आएर जनतासँग उनको भावनात्मक सम्बन्धको डोरी मक्किन थालेको छ । जनता शशांकमार्फत जिल्ला र क्षेत्रको विकास चाहन्छन् । यो कुरा शशांकका घनिष्ठ सहयोगीले कुन्नि कति बुझेका छन् ? 

शशांक सभापति देउवाको राजनीतिक वृत्तबाट बाहिर देखिन्छन् र पनि नीतिगत हिसाबले देउवासँगै बगेका छन् । महत्वपूर्ण विषयमा देउवासँग उनको राय बाझिएको देखिँदैन । शशांक नेपाली राजनीतिका चतुर खेलाडीको संगतमा छन् । शशांकले आफ्ना पिता बिपी र उहाँले स्थापना गर्नुभएको कांग्रेसको मूल्य–मान्यता, संस्कार र चरित्रलाई कति बुझेका छन् ? यसको पहिचान हुन बाँकी नै छ । समाजले उनलाई ‘सेलिब्रिटी’का रूपमा चिन्छ । राजनीतिमा यति मात्र पर्याप्त छैन । उनले नेपाली कांग्रेस पार्टीका सामान्य कार्यकर्ताका भावनालाई कसरी बुझेका छन् ? यो बढी महत्वपूर्ण विषय हो । 

प्रकाशमान सिंह : आफ्नो हातमा आएको सत्ता र शक्तिलाई कृष्णप्रसाद भट्टराईको हातमा सुम्पेर गणेशमान सिंहले आफूलाई नेपाली राजनीतिमा दधिचिका रूपमा स्थापित गराउनुभएको छ । कांग्रेसमा उहाँको उदात्त भावनाको गलत व्याख्या गरिएको छ । सिंहमा आफ्नाबारे आफैँ ठट्टा गर्ने गुण थियो । उहाँ अक्सर ठट्टामा आफूलाई ब्राह्मणपीडित भन्नुहुन्थ्यो, प्रजापरिषद्मा टंकप्रसाद आचार्यबाट, कांग्रेसमा बिपीबाट र प्रजातन्त्रको पुनस्र्थापनापछि भट्टराईबाट । त्यसपछि उहाँ हाँस्नुहुन्थ्यो । 

शशांक नेपाली राजनीतिका चतुर खेलाडीको संगतमा छन् । शशांकले आफ्ना पिता बिपीले स्थापना गर्नुभएको कांग्रेसको मूल्य–मान्यता, संस्कार र चरित्रलाई कति बुझेका छन् ? यसको पहिचान हुन बाँकी छ ।

यो सत्य हो, नेपाली कांग्रेसले आफ्ना नेताहरूको बिरासतप्रति अन्याय गरेको छ । गणेशमानपुत्र प्रकाशमान सिंहको संघर्षशील र क्रान्तिकारी व्यक्तित्वको छनक सबैले पाएका छन् । उनी कर्मठ र उच्च शिक्षित व्यक्ति हुन् । प्रकाशमान सिंहका समकालीन सबै ठूलो र बलियो पदमा पुगिसके । तर, उनका आकांक्षा मूर्त भएका छैनन् । नेपाली राजनीति लोकतन्त्रको संघर्षकालीन मूल्यपद्धतिबाट सत्ता र शक्तिमा संक्रमित भएकाले अहिलेको स्थिति उत्पन्न भएको विश्लेषण छ उनको । कांग्रेसका विकारहरूको अन्त्य गर्न उनी यसको संस्थागत विकास हुनुपर्ने र यसैका लागि आफू कांग्रेस सभापतिको पदमा उम्मेदवार बन्ने तयारीमा लागेको बताउँछन् । विज्ञानका राम्रा विद्यार्थी रहेका प्रकाशमानले पार्टीको सुधारका लागि तयार गरेको ब्लुप्रिन्ट निकै आकर्षक छ । राजनीतिले त्यसलाई कसरी ग्रहण गर्छ ? त्यो हेर्न भने बाँकी छ । 

काठमाडौंको राजनीतिमा राम्ररी भिजेका प्रकाशमान सिंह कांग्रेस सभापति पदका लागि सुयोग्य छन् । तर, उनले कांग्रेसभित्रको विविध समीकरण कसरी मिलाउँछन् ? त्यो हेर्न बाँकी नै छ । गणेशमान सिंहको त्याग, तपस्या र बलिदानको मूल्यांकन हुन नसकेको अहिलेको परिस्थितिमा प्रकाशमानले आफ्नो स्वीकार्यता बढाउन निकै मिहिनेत गर्नुपर्छ । उनले बुझेको हुनुपर्छ, गएको संघीय संसद्को निर्वाचनमा एकजना रेडियो एंकरले उनको निर्वाचनमा झन्डै ठूलो प्वाल पारिसकेका थिए ।

विमलेन्द्र निधि : कांग्रेसभित्र लोकतन्त्रका लागि अहिंसात्मक संघर्षका प्रवक्ता तथा गान्धीवादी नेता महेन्द्रनारायण निधि मधेसका अत्यन्त प्रभावशाली नेता हुनुहुन्थ्यो । निधिजीलाई नजिकबाट चिन्नेहरूका अनुसार उहाँले आफ्नो कान्छो सुपुत्र विमलेन्द्रमा केही असामान्य गुण देख्नुभएको थियो । विमलेन्द्रमा ती गुण देखिए । उनी पिताको राजनीतिमा रहेनन् । उनले बिपीबाट राजनीतिक दीक्षा पाए । उनी हिंसात्मक राजनीतिमा लागेका गिरिजाप्रसाद कोइरालाको कमान्डमा रहेर काम गरे ।

कांग्रेस उप–सभापति विमलेन्द्र निधिले कांग्रेस सभापतिको निर्वाचन लड्ने कुरा विभिन्न सञ्चार माध्यममार्फत प्रकट गरेका छन् । कुनै वेला कांग्रेसको आधारभूमि रहेको मधेसमा दुर्भाग्यवश यति वेला कांग्रेसको अस्तित्व खतरनाक मोडमा पुगेको छ । यो अवस्थाबाट कांग्रेसलाई मुक्त गराएर मधेसको राजनीतिक मूलधारमा सुरक्षित अवतरण नगराएसम्म मधेस–पहाड सम्बन्धमा आएको विचलन रोकिन गाह्रो छ । मधेस र पहाडबीच एकता स्थापित गर्न राष्ट्रपति रामवरण यादवलाई कांग्रेसले राष्ट्रपति बनाएको थियो । बदलिएको परिस्थितिमा मधेस र पहाडका समाजलाई जोड्ने क्षमता विमलेन्द्रमा रहेको राय धेरै बुद्धिजीवीको छ ।

प्रजातान्त्रिक आन्दोलनमा निरन्तरता विमलेन्द्रको राजनीतिको बलियो पक्ष हो । विमलेन्द्रको प्रतिभा र क्षमताको परख स्वयं बिपी कोइरालाले गर्नुभएको थियो । उहाँले ०३६ सालमा २४ वर्षका विमलेन्द्रलाई नेपाल विद्यार्थी संघको अध्यक्ष बनाउनुभएपछि आठ वर्षदेखि नेपाल विद्यार्थी संघका अध्यक्ष रहेका शेरबहादुर देउवाले विश्राम लिएका थिए । विमलेन्द्र मधेसी हुन् । देशको कार्यकारी प्रमुखमा अहिलेसम्म मधेसको मूलधारबाट कुनै व्यक्ति स्थापित भएको छैन । उनी त्यो व्यक्ति हुने सम्भावना बलियो छ । भावुक र इमानदार निधि कुनै कुरामा अडिएपछि त्यसैमा दृढ रहन्छन् । जनकपुरको समाजको एउटा तप्का सधैँ विमलेन्द्रको विरोधमा सक्रिय हुन्छ । पछिल्लो संसदीय चुनावमा उनी राजेन्द्र महतोसँग पराजित भए । महतोले उनका विरुद्ध जातीय मतको प्रयोग गरेका थिए । विमलेन्द्रमा आफ्नो मिसनलाई सफल बनाउने खुबी छ । तर, उनले आफ्नो सफलतालाई संगठित गर्न सकेको देखिँदैन । यो उनको कमजोर पक्ष बनेको छ ।