मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २७ मंगलबार ०५:५४:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोरोना संक्रमण  कसरी घटाउने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २७ मंगलबार ०५:५४:००

डाक्टरको सल्लाह

  • डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । सीमाक्षेत्रनजिक भएका स्थान र सहरी क्षेत्रमा संक्रमितको संख्या झन् तीव्र रूपमा बढ्दो छ । लकडाउन खुलेसँगै सार्वजनिक स्थानमा भिडभाड बढेपछि संक्रमण पनि बढेको हो, जुन बिस्तारै गाउँघरतिर सर्दै गएको छ । पछिल्लो केही दिनयता लक्षणसहितका बिरामी देखिनु, अस्पतालका भेन्टिलेटर र आइसियू वार्ड भरिँदै जानु र मृत्यु हुनेको संख्या बढ्दै जानुले पनि जोखिम अवस्थाको संकेत गरेको छ । सरकारले कम्तीमा पनि १५ दिनका लागि सही योजना बनाउने हो भने ७५ प्रतिशत संक्रमण नियन्त्रण गर्न सकिन्छ । 

सीमानाका पूर्ण रूपमा बन्द गर्ने
सुरुवाती दिनमा बाहिरबाट आएका व्यक्तिहरूबाट नेपालमा संक्रमण फैलिएको हो, जसले बिस्तारै जटिल रूप लिँदै गएको छ । लकडाउन खोलेपछि भारतबाट दिनहुँ मानिसहरू नेपाल भित्रिनुले गाउँघरसम्म संक्रमण फैलिने जोखिम बढाएको छ । समयमै संक्रमण नियन्त्रणमा ल्याउन नसकिएमा नेपालमा पनि भयावह अवस्था सिर्जना हुन सक्छ । यसका लागि भारतसँग जोडिएका सबै नाका र नेपालभित्र पनि एक जिल्लाबाट अर्को जिल्ला जान रोक लगाउन आवश्यक छ । जसले गर्दा बाहिरबाट आएका व्यक्तिबाट समाजमा संक्रमण फैलिनबाट रोक्न सकिन्छ । 

१५ दिन कडा लकडाउन गर्ने
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले एक सय २० दिनको लकडाउन खोलेसँगै संक्रमितको संख्या ह्वात्तै बढेको पाइन्छ । संक्रमित बढेसँगै सरकारले विभिन्न स्थानमा लकडाउन र काठमाडौंजस्ता सहरी क्षेत्रमा निषेधाज्ञा गरेको छ, जुन संक्रमण नियन्त्रणका लागि पर्याप्त होइन । १५ दिन कडा लकडाउन गर्ने अर्थात् घरबाट निस्कन प्रतिबन्धित गर्नुपर्छ । सामान्यतः १५ दिनभित्र संक्रमित निको भइसक्छन् भने नयाँ संक्रमितको संख्या एकदमै न्यून हुन्छ । जसले गर्दा बिरामीको चाप कम्तीमा ७५ प्रतिशत घटाउन सकिने हुँदा नियन्त्रण गर्न सहज हुन्छ । यो समयमा आममानिसलाई घरमै बस्न सरकारले राहतको व्यवस्था गर्नुपर्छ ।

परीक्षणको दायरा बढाउने
संक्रमण फैलिएका क्षेत्रहरूलाई सिल गरेर सकेसम्म हरेक व्यक्तिको स्वास्थ्य परीक्षण गरिनु आवश्यक छ । संक्रमित स्थानबाट आएर विनापरीक्षण भित्रिनुले काठमाडौंजस्ता स्थान संक्रमणको इपिसेन्टर बन्ने जोखिम बढेको छ । यसका लागि दिनहुँ हुने परीक्षणको दायरा बढाउनुका साथै एक जिल्लाबाट अर्को जिल्ला भित्रिँदा सीमामै स्वास्थ्य चेकजाँच अनिवार्य गर्नुपर्छ । परीक्षण नहुँदा संक्रमित पहिचान हुन गाह्रो हुने भएकाले समेत अन्य व्यक्तिमा सजिलै संक्रमण फैलिरहेको पाइन्छ । परीक्षणको माध्यमबाट संक्रमितलाई व्यवस्थापन गर्नुका साथै अन्य व्यक्तिमा सर्न सक्ने जोखिम घटाउन सकिन्छ । 

सुरक्षित आइसोलेसन 
सीमित स्रोतसाधनले गर्दा अस्पताल वा सरकारले निर्माण गरेका अधिकांश आइसोलेसन बिरामीअनुकूल छैनन् । सही व्यवस्थापन नहुँदा स्वस्थ खानपान, सरसफाइ र स्वास्थ्य चेकजाँचको पनि अभाव रहेको पाइन्छ । लक्षणसहितका संक्रमित देखिन थालेसँगै कोभिड रिपोर्ट पोजेटिभ आएका कतिपय व्यक्तिहरू सम्पर्कविहीन हुन थालेका छन्, जसको मुख्य कारण असुरक्षित आइसोलेसनलाई मान्न सकिन्छ । तसर्थ, बिरामीको स्वास्थ्य अवस्थासँगै मनोविज्ञानसमेत स्वस्थ राख्न सुरक्षित आइसोलेसन आवश्यक छन् ।