मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २७ मंगलबार ०५:२९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकाका मेयरहरूको निष्कर्ष : सरकार र नागरिकको हेलचेक्र्याइँले संक्रमण बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २७ मंगलबार ०५:२९:००

काठमाडौं उपत्यकामा सोमबार ४४ जना कोरोना संक्रमित थपिए । हालसम्म उपत्यकामा एक हजार एक सय ८१ जनामा संक्रमण देखिएको छ । तीमध्ये सात सय ६१ जना पछिल्ला १५ दिनमा संक्रमित भएका हुन् । यो संख्या चार महिनायताकै सर्वाधिक हो । संक्रमण दिनानुदिन बढ्दै जाँदा उपत्यकाका मेयरहरूको निष्कर्ष छ– यसको मुख्य कारण सरकार र सर्वसाधारण दुवैको हेलचेक्र्याइँ हो ।

काठमाडौंका मेयर विद्यासुन्दर शाक्य भन्छन्, ‘हामीले पटक–पटक उपत्यका भित्रिने नाकामा कडाइ गर्न आग्रह ग¥यौँ, तर संघीय सरकारले समयमा ध्यान दिएन । अब समुदायस्तरमा कोरोना फैलिने जोखिम बढेको छ ।’ उपत्यका मेयर फोरमको सोमबार सम्पन्न बैठकमा सहभागी मेयरहरूको जोड नाकामा कडाइ गर्नुपर्नेमा थियो ।

किनकि, उपत्यकामा देखिएका संक्रमितमध्ये ६४ प्रतिशत बाहिरबाट आएका हुन् । ‘अहिले भारतबाट पनि सीधै काठमाडौं आइपुगेको भेटिन्छ,’ मेयर शाक्यले भने, ‘एकपटक परीक्षण गर्दा संक्रमण छैन भनेर ढुक्क हुने अवस्था छैन, त्यसैले नाका बन्द गर्नुको विकल्प छैन ।’

सरकारले १२ वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरबाहिर ननिस्किन आग्रह गरेका वेला गृह मन्त्रालयले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न परिपत्र गरेको शाक्यले बताए । ‘यस्तो विरोधभासपूर्ण कार्यशैलीले जोखिम झन् बढाएको छ,’ उनले भने ।

संक्रमणको जोखिम बढ्दासमेत नागरिकले हेलचेक्र्याइँ गर्नु दुःखद भएको मध्यपुरठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बताए । ‘दिनदिनै संक्रमित थपिएका छन्, सरकारले स्वास्थ्य मापदण्ड जारी गरेको छ, तर पनि मान्छे भिडमा जान छाड्दैनन्,’ उनले भने, ‘मास्क पनि लगाउँदैनन् ।’

समुदायस्तरमा संक्रमण फैलिने त्रास बढेपछि काठमाडौं उपत्यकाका स्थानीय तहले तीन साताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् । फोरमको बैठकले १८ वटै नगरपालिका र मातहतका सरकारी कार्यालयमा सेवा बन्द गर्ने निर्णय गरेको हो । र्‍याली, सभा, भेला, अनशन, जुलुस, चाडपर्व, मेला, जात्रामा रोक लगाउने निर्णय फोरमले गरेको छ ।

यस्तै, फोरम बैठकले कोरोना नियन्त्रणमा संघीय सरकारलाई विभिन्न सुझाबसमेत दिएको छ । १५ भदौसम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन र बाँकीलाई जोर–बिजोर लागू गर्न फोरमले सुझाएको छ । उपत्यका प्रवेश गर्ने नाकाहरूमा खुला आवतजावत निषेध, उद्योग र कलकारखानाभित्रै क्वारेन्टाइन व्यवस्था गर्न सुझाब दिइएको छ ।