Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण २७ मंगलबार ०४:०५:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

परराष्ट्रको सक्रियता : १२ देशमा राजदूत नियुक्तिको तयारी, विदेश नीति पुनरावलोकन हुँदै

Read Time : > 3 मिनेट
२०७७ श्रावण २७ मंगलबार ०४:०५:००

-अमेरिका, बेलायत, रुस, जर्मनी, बेल्जियम, पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका, दक्षिण कोरिया, ब्राजिल, इजिप्ट र अस्ट्रियामा राजदूत नियुक्तिको गृहकार्य 

 -छिमेकलाई सर्वोच्च प्राथमिकता दिइएको विदेश नीतिको मस्यौदा तयार, अन्तिम रूप दिएर एक महिनाभित्रै मन्त्रिपरिषद्बाट पारित गराउने तयारी 

..............

सरकारले अमेरिकासहित १२ देशका लागि राजदूत नियुक्तिको गृहकार्य थालेको छ । अमेरिकाका लागि राजदूत डा. अर्जुन कार्कीको कार्यावधि अर्को निर्णय नभएसम्मका लागि थपिएको छ । 

राजदूतावास रहेका ३३ मध्ये दुई वर्षदेखि तीन मुलुकमा राजदूत रिक्त छन् भने दुई महिनापछि आठ मुलुकका लागि नेपाली राजदूत कार्यकाल सकेर फर्किंदै छन् । सरकारले रिक्त र केही महिनामा खाली हुन थालेका मुलुकका लागि एकैपटक राजदूत नियुक्तिको गृहकार्य थालेको हो । परराष्ट्रसचिव शंकरदास बैरागीले यसबारेमा गृहकार्य भइरहेको प्रतिक्रिया दिए । ‘राजदूत नियुक्तिका सन्दर्भमा आवश्यक गृहकार्य भइरहेको छ,’ परराष्ट्रसचिव शंकरदास बैरागीले भने । 

सरकारले दुई वर्षअघि तयार गरेको राजदूत तथा स्थायी प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा राजदूतको कार्यकाल सकिनुभन्दा तीन महिनाअघि नै नयाँ नियुक्तिको प्रक्रिया थाल्ने उल्लेख छ । दुई वर्षदेखि श्रीलंका, दक्षिण कोरिया र दक्षिण अफ्रिकामा राजदूत खाली राखेर निर्देशिका उल्लंघन गरेको सरकारले खाली हुन लागेका आठसहित १२ देशमा राजदूत नियुक्तिका लागि गृहकार्य थालेको हो । 

खाली रहेका तीन मिसनबाहेक ३० देशमा रहेका राजदूतमध्ये परराष्ट्र सेवा र बाहिरका १५–१५ जना छन् । परराष्ट्र र बाहिरबाट आधा–आधा प्रतिनिधित्व गर्ने नीतिअनुसार ६–६ जना छनोट हुनेछन् । हाल परराष्ट्र सेवाबाट स्विट्जरल्यान्ड, बेलायत, क्यानडा, जर्मनी, रुस, बेल्जियम, इजिप्ट, ब्राजिल, कुवेत, पाकिस्तान, फ्रान्स, थाइल्यान्ड, युएई, अस्ट्रियामा राजदूत तथा राष्ट्रसंघीय स्थायी प्रतिनिधिका रूपमा न्युयोर्कमा अमृतबहादुर राई छन् ।

परराष्ट्र सेवाबाहिरबाट अमेरिका, भारत, चीन, कतार, साउदी अरब, बंगलादेश, डेनमार्क, अस्ट्रेलिया, इजरायल, ओमान, बहराइन, मलेसिया, म्यानमार, जापान र स्पेनमा राजदूत छन् । 

विगतमा कांग्रेसको कोटाबाट गएका राजदूतमध्ये जापानका लागि प्रतिभा राणा र म्यानमारका लागि भीम उदासलाई सरकारले फिर्ता बोलाएको छैन । राणा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी सासू हुन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार जापान र म्यानमारका लागि राजदूतहरूलाई फिर्ता बोलाउने विषयमा पनि छलफल भइरहेको छ । ‘भारतका लागि राजदूत नीलाम्बर आचार्यको कामबाट प्रधानमन्त्रीज्यू सन्तुष्ट हुनुहुन्न । तर, उहाँलाई तत्कालै फिर्ता गर्ने सोच छैन,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो । 

नेपालले हालसम्म एक सय ६८ देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । ३३ देशमा नेपाली राजदूतावास, पाँच स्थानमा महावाणिज्य दूतावास र एक स्थानमा वाणिज्य दूतावास छन् ।

यी हुन् सम्भावित राजदूतका दाबेदारहरु

परराष्ट्रसेवाबाट राजदूतका प्रत्यासी सहसचिवहरुमा गेहेन्द्र राजभण्डारी, तापस अधिकारी, रामकाजी खड्का, निर्मलराज काफ्ले, हरिश्चन्द्र घिमिरे, भरत रेग्मी, डोरनाथ अर्याल, कुमार खरेल, रामप्रसाद सुबेदी छन् ।

पचास प्रतिशत कायम भए यीमध्ये ६ जना राजदूतमा पर्ने परराष्ट्र स्रोतको भनाई छ । परराष्ट्र सेवा बाहिरबाट पठाइने सम्भावित राजदूतहरुमा मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल, नेकपा विदेश विभाग उपप्रमुख बिष्णु रिजाल, सदस्यहरु डा केशब बस्याल, युवराज चौलागाईँ, नेकपा नेता युवराज कार्की, पूर्वराजदूत ऋषिराज अधिकारीलाई प्रत्यासीका रुपमा हेरिएको छ ।

कार्यकाल सकेर को को फर्किँदैछन् ? असोजदेखि मंसिरभित्रै आठ देशका राजदूतको कार्यकाल सकिँदैछ । परराष्ट्रमन्त्रालयबाट गएका उनीहरुमध्ये तीनजनाको अबकास भइसकेको छ भने पाँचजना परराष्ट्र फर्किनेछन् ।

अब फर्किनुपर्ने राजदूतहरुमा पाकिस्तानका लागि सेवा लम्साल, इजिप्टका लागि झविन्द्रप्रसाद अर्याल, बेलायतका लागि दुर्गाबहादुर सुबेदी, ब्राजिलका लागि ताराप्रसाद पोखरेल, रुसका लागि ऋषिराम घिमिरे, जर्मनीका लागि रमेशप्रसाद खनाल, अष्ट्रियाका लागि प्रकाशकुमार सुवेदी, बेल्जियमका लागि लोकबहादुर थापा छन् ।

दुई बर्षदेखि दक्षिण अफ्रिका, दक्षिण कोरिया र श्रीलंका राजदूतविहीन छन् । दक्षिण अफ्रिकाका लागि राजदूत अमृतबहादुर राईलाई सरकारले काठमाडौं बोलाएर संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि नियुक्त गरिसकेको छ ।

दक्षिण कोरियाका लागि राजदूत अजुृन जंगबहादुर सिंहलाई फिर्ता बोलाए पनि राजदूत नियुक्त गरेको छैन । अमेरिकाका लागि राजदूत डा अर्जुन कार्कीको कार्यकाल सकिए पनि अर्को व्यवस्था नभएसम्मका लागि उनी अमेरिकामै छन् । परराष्ट्रबाट राजदूत भएकाहरुमध्ये इजिप्टका राजदूत अर्याल, जर्मनीका लागि राजदूत खनाल र रुसका लागि राजदूत घिमिरेले सेवाबाट अबकास पाइसकेका छन् ।

पाकिस्तानका लागि राजदूत लम्साल परराष्ट्रमा भरतराज पौड्यालपछि बरिष्ठतम सहसचिव हुन् । लम्सालसहित सहसचिवहरु दुर्गाबहादुर सुबेदी, तारा पोखरेल, लोकबहादुर थापा र प्रकाश सुबेदी भने परराष्ट्रमा हाजिर हुनेछन् ।

..............

विदेश नीति पुनरावलोकन हुँदै

सरकारले विदेश नीति परिमार्जनका लागि पनि गृहकार्य थालेको छ । अघिल्लो साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्रसचिव शंकरदास बैरागीले विज्ञहरूसँग रायसमेत लिएका छन् । परराष्ट्र स्रोतका अनुसार छिमेकलाई सर्वोच्च प्राथमिकता दिइएको विदेश नीतिको मस्यौदा तयार भएको छ । अन्तिम रूप दिएर एक महिनाभित्रै मन्त्रिपरिषद्बाट पारित गराउने तयारी छ । 

अढाई वर्षअघि अघिल्लो सरकारकै पालामा विदेश नीति पुनरावलोकनका लागि उच्चस्तरीय कार्यदलले प्रतिवेदन बुझाएको थियो । प्राध्यापक श्रीधर खत्री संयोजक रहेको कार्यदलले सबै पक्षसँग छलफल गरेर दिएको प्रतिवेदन अपूरो रहेको भन्दै सरकारले त्यसलाई परिमार्जन गरेर नयाँ नीति ल्याउन लागेको हो । 

‘छिमेकी भारत र चीनलाई पहिलो प्राथमिकतामा राखिएको छ भने अमेरिकासहित शक्तिराष्ट्र, श्रम गन्तव्य मुलुक, दातृ निकायसँगको सम्बन्ध वर्गीकरण गरेर सम्बन्धका विकासक्रम, अभ्यास र व्यवहारमा सधैँ एकरूपता दिने गरी स्पष्ट नीति तर्जुमा गरेका छौँ,’ परराष्ट्र स्रोतले भन्यो, ‘एक महिनाभित्र मन्त्रिपरिषद्बाट पारित भएरै आउने गरी काम गरिरहेका छौँ ।’

परराष्ट्रमन्त्री ज्ञवालीले पछिल्लोपटक बिहीबार विदेश नीतिका सम्बन्धमा पूर्वपरराष्ट्रसचिव ज्ञानचन्द्र आचार्य, भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय, चीनका लागि पूर्वराजदूत डा. महेश मास्के, पूर्वरथी बालानन्द शर्मा, त्रिवि अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक डा. खड्ग केसी, सुरक्षा मामिलाविज्ञ गेजा शर्मा वाग्ले र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईसँग परामर्श लिएका थिए । भेटमा सहभागी भारतका लागि पूर्वराजदूत उपाध्यायले नयाँ पत्रिकासँग भने, ‘विदेश नीति परिमार्जन गर्ने गरी काम भइरहेको छ भनेर परराष्ट्रमन्त्रीले जानकारी दिनुभयो । त्यस सम्बन्धमा हामीले आफ्नो सुझाब दिएका छौँ ।’