Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मेयरलाई ज्ञापनपत्र बुझाउँदै नेकपा वडा समितिका प्रतिनिधि ।
२०७७ श्रावण २६ सोमबार २२:२२:००
Read Time : > 1 मिनेट
प्रदेश

विपन्नलाई निःशुल्क दिएको मिटरबक्स उपभोक्ता समितिले बेचेको आरोप 

Read Time : > 1 मिनेट
२०७७ श्रावण २६ सोमबार २२:२२:००

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ११ खार्मीमा विपन्न परिवारलाई निःशुल्क दिन भनी ल्याएको मिटरबक्स विद्युत् विस्तार उपभोक्ता समितिले दुई हजारमा बेच्ने गरेको आरोप लागेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वडा समितिले अवैध रूपमा रकम असुली गर्ने उपभोक्ता समितिमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्याल र नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । 

उपभोक्ता समितिका अध्यक्ष कमल राई, सचिव शुक्रबहादुर श्रेष्ठ, सदस्य डाकमनी तामाङ, महेन्द्र राईलगायतले प्रतिपरिवार दुई हजारसम्म असुलेको प्रमाणसहित सोमबार जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा ज्ञापनपत्र बुझाएको वडा समितिको भनाइ छ । 
‘०७६ सालमा ७३ र ०७७ सालमा ४२ घर गरी एक सय १५ घरबाट रकम असुलेको पाएका छौँ,’ वडा समितिले प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र नगरप्रमुख दीपनारायण रिजाललाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ, ‘अवैध रूपमा असुल गरिएको रकम तुरुन्त फिर्ता गराउनुका साथै रकम असुलीमा संलग्नलाई तत्काल कारबाही गरियोस् ।’

प्रजिअ पौडेलले ज्ञापनपत्र बुझ्दै सोे सम्बन्धमा नगरपालिकासँग समन्वय गरेर कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिक्रिया दिए भने नगर प्रमुख रिजालले खार्मीको विद्युत् विस्तार प्राधिकरण आफैँले गरिरहेकोले स्थानीय उपभोक्ता समितिको कुनै भूमिका नहुने बताए । 
उनले भने, ‘विपन्न परिवारका लागि सरकारले निःशुल्क उपलब्ध गराएको भनेपछि कसैले पनि शुल्क लिन पाइँदैन, समितिको नाममा रकम असुली भयो भनेर ज्ञापनपत्र आएको छ । उक्त समिति वैधानिकसमेत नरहेको र यदि साँचो ठहरिएमा कारबाही गरिनेछ ।’

बदनाम गराउन झुटो आरोप : उपभोक्ता समिति
उपभोक्ता समितिका अध्यक्ष राईले नेकपा वडा समितिले लगाएको आरोप झुटो रहेको दाबी गरेका छन् । ‘हामीबाट कुनै पनि शीर्षकमा रकम असुल्ने काम भएको छैन,’ उनले भने, ‘समितिले राजनीतिक स्वार्थपूर्तिका लागि बदनाम गराउन झुटो आरोप लगाएको हो ।’

५५ रुपैयाँमै मिटर दिइरहेका छौँ : प्राधिकरण
विपन्न घरपरिवारका लागि भनेर दिइएको मिटरबक्सका लागि कार्यालयमा लाग्ने शुल्कबापत ५५ रुपैयाँ जम्मा गरी रसिद काटेर दिने गरिएको प्राधिकरणका प्रमुख रामदिनेश राय यादवले बताए । ‘अन्यका लागि दुई हजार पाँच सय ५५ लाग्छ,’ उनले भने, ‘विपन्न परिवारका लागि निःशुल्क आएको हुँदा सम्बन्धित वडाको सिफारिसको आधारमा उपलब्ध गराउने गरिएको छ ।’

७७४ घरधुरी उपभोक्ता रहेको खार्मीमा टिआर कन्ट्रक्सन प्रालिमार्फत विद्युत् विस्तार भइरहेको छ । ठेकेदार कम्पनीले विद्युत् विस्तारको जिम्मा लिए पनि प्राधिकरणकै कर्मचारीमार्फत काम भइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।