मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अर्जुन सापकोटा
२०७५ माघ १८ शुक्रबार ०९:२९:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

गम्भीर मानवीय संकट झेल्दै भेनेजुएला

Read Time : > 3 मिनेट
अर्जुन सापकोटा
२०७५ माघ १८ शुक्रबार ०९:२९:००

भेनेजुएलाको मुद्रा यति कमजोर भएको छ कि दशौँ लाख भेनेजुएली नागरिक आधारभूत आवश्यकताका वस्तु खरिद गर्न नसक्ने स्थितिमा पुगेका छन्

पछिल्लो राजनीतिक तथा आर्थिक संकटका कारण भेनेजुएला गम्भीर मानवीय संकटको चपेटामा फसेको छ । सिरियापछि एक्काइसौँ शताब्दीकै सबैभन्दा ठूलो मानव सिर्जित गम्भीर मानवीय संकटमा भेनेजुएला फसेको छ । संयुक्त राष्ट्र संघका पूर्वर्‍यापोटर अल्फ्रेड जयासले भेनेजुएलाको आर्थिक तथा मानवीय संकटको वास्तविक कारण अमेरिकाले लगाएको आर्थिक प्रतिबन्ध भएको भन्दै अमेरिकी कदमको आलोचना गरेका छन् । भेनेजुएलाको पछिल्लो राजनीतिक विकासक्रमलाई लिएर गत २४ जनवरीमा नोम चोम्स्कीलगायत विश्वका ७० जना विद्वान्ले अमेरिकालाई खुला पत्रमार्फत भेनेजुएलाको आन्तरिक मामिलामाथि उसले गरेको हस्तक्षेपको संयुक्त रूपमा भत्र्सना गरेका छन् । 

३० लाख भेनेजुएलीले छाडिसके देश 
देशको राजनीतिक अस्थिरता, भोकमरी, अकासिएको महँगी, खाद्यान्न अभाव, औषधि अभाव, भ्रष्टाचार, रोजगारीको अभाव, बढ्दो आपराधिक गतिविधिलगायतका कारण लाखौँ भेनेजुएली नागरिले देश छाडिसकेका छन् । संयुक्त राष्ट्र संघका अनुसार सन् २०१५ यता मात्र देश छाड्ने भेनेजुएली नागरिकको संख्या ३० लाख नाघिसकेको छ, जुन देशको जनसंख्याको झन्डै १० प्रतिशत हो ।

राष्ट्रसंघको रिपोर्टअनुसार यस वर्ष मात्रै २० लाख भेनेजुएलीले देश छोडिसकेका छन् भने सन् २०१९ सम्म ५० लाखले देश छाड्ने अनुमान गरिएको छ । उनीहरू शरणार्थीका रूपमा विशेषतः दक्षिण अमेरिकी तथा क्यारेबियन मुलुकमा शरण लिन पुगेका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनएचसिआर) र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम)का अनुसार बढ्दो राजनीतिक तथा आर्थिक संकटका कारण दैनिक हजारौँ भेनेजुएली नागरिकले देश छाडिरहेका छन् । यी निकायका रिपोर्टअनुसार २४ लाख भेनेजुएली छिमेकी तथा नजिकका मुलुकमा शरण लिन पुगेका छन् ।

सबैभन्दा बढी कोलम्बियामा मात्रै १० लाखभन्दा बढी भेनेजुएलनले शरण लिएका छन् । दक्षिण अमेरिकी मुलुक पेरुमा पाँच लाखभन्दा बढी, इक्वेडरमा दुई लाख २० हजारभन्दा बढी, अर्जेन्टिनामा एक लाख ३० हजार, चिलीमा एक लाखभन्दा बढी र ब्राजिलमा ८५ हजार शरण लिन पुगेका छन् । यसैगरी, क्यारेबियन मुलुक पानामामा ९४ हजार भेनेजुएली शरण लिन पुगेका छन् । स्पेनमा दुई लाख आठ हजार र अमेरिकामा दुई लाख ९० हजार भेनेजुएली शरण लिन पुगेका छन् । राष्ट्रसंघीय निकाय, गैरसरकारी संगठन, रेडक्रसलगायत मानवीय सहायताको क्षेत्रमा काम गर्ने संगठनले उनीहरूलाई राहत उपलब्ध गराउँदै आएका छन् । तर, यी शरणार्थी शरण दिने मुलुकमा रंगभेद, मानवीय घृणा, बेचविखन, यौनहिंसालगायत सामाजिक विकृतिको खतरामा परेका छन् । विशेषतः महिला र बालबालिकामा यस्तो जोखिम देखिएको छ । धेरै महिला र किशोरी बेचविखन तथा यौनशोषणको चपेटामा परेका छन् । 

खाद्यान्न अभाव 
भेनेजुएलामा खाद्यान्न अभाव कहालीलाग्दो बनेको छ । विशेषतः विपन्न वर्ग भोकमरीको खतरामा छन् । एक सर्वेक्षणअनुसार खाद्यान्न अभावका कारण मानिसले खाद्यान्नको खपत कम गरेका छन् । इकोभीले गरेको एक सर्वेक्षणअनुसार १० जनामध्ये आठजनाले खाद्यान्न अभावका कारण कम खाद्यान्न खपत गर्नुपरेको बताएका छन् भने १० जनामध्ये ६ जनाले खाद्यान्न खरिद गर्ने रकम नभएका कारण पेटभरि खान नपाएको बताएका छन् । पेटभरि खान नपाएका कारण सर्वेक्षणमा सहभागीमध्ये ६४.३ प्रतिशतले सन् २०१७ मा औसत ११.४ केजी शरीरको तौल घटेको बताए । परम्परागत खाद्यान्नको परिणाम र गुणस्तरसमेत निरन्तर गिर्दाे छ । शरीरका लागि अत्यावश्यक आइरन, भिटामिन, प्रोटिनलगायत तŒवको अभाव भएको छ । ८२ लाख जनसंख्याले मुस्किलले दुई छाक खान पाएका छन् । गरिबको खाद्यान्न भनेर चिनिने जराका रूपमा आउने आलु तथा कन्दमुलजस्ता खाद्यान्नलाई उनीहरूले विकल्पका रूपमा प्रयोग गर्न थालेका छन् ।  

मधुमेह, रक्तचापलगायतका बिरामीले सेवन गर्नुपर्ने औषधि तथा ऐन्टिबायोटिकको अभावका कारण गम्भीर तथा दीर्घरोगको औषधि सेवन गर्ने बिरामीको जीवन संकटमा परेको छ

 कुपोषणको प्रकोप 
भेनेजुएलामा व्याप्त भोकमारी तथा खाद्यान्न अभावका कारण दसौँ हजार बालबालिका कुपोषणबाट ज्यान गुमाउनुपर्ने स्थितिमा पुगेका छन् । दादुराजस्ता देशबाट निर्मूल भइसकेका रोग पनि पुनः देखिएका छन् । भेनेजुएलाको स्वास्थ्य मन्त्रालयका अनुसार देशको बालमृत्युदर ३० प्रतिशतले बढेको छ । 

 कमजोर मुद्रा र महँगी 
भेनेजुएलाको मुद्रा यति कमजोर भएको छ कि जसका कारण दसौँ लाख भेनेजुएली नागरिकले आधारभूत आवश्यकताका वस्तु खरिद गर्न नसक्ने स्थितिमा पुगेका छन् । अहिले भेनेजुएलाको मुद्रा १ हजार ६ सय बोलिभारबराबर एक अमेरिकी डलरमा झरेको छ । सन् २०१८ मा देशको महँगी लाखौँ प्रतिशतले बढेको छ । ब्लुमवर्गका अनुसार भेनेजुएलामा जनवरी २०१८ मा १८ सय कप कफी खरिद गर्न सकिने रकमले अहिले एक कप मात्र कफी खरिद गर्न पुग्छ । यसर्थ, देशमा चरम महँगी तथा भोकमरीको सामना गर्ने वा देश  छाड्ने विकल्प रोज्ने स्थितिमा भेनेजुएली नागरिक पुगेका छन् । सन् २०१८ को अन्त्ययता हरेक १९ दिनमा भेनेजुएलाको महँगी दुई गुणाले बढिरहेको छ । अहिले भेनेजुएलाको कुल गार्हस्थ उत्पादनमा भारी गिरावट आएको छ । पेट्रोलियम पदार्थको निर्यातमा निर्भर देशको अर्थतन्त्र अमेरिकी आर्थिक नाकाबन्दीका कारण धराशयी भएको छ । 
 औषधि अभाव 
भेनेजुएलामा औषधिको अभाव विकराल स्थितिमा पुगेको छ । सन् १९६१ मा मलेरियामुक्त देश घोषित भएको भेनेजुएलामा पछिल्ला वर्षमा ठूलो संख्यामा मलेरियाका रोगी बढेका छन् । भेनेजुएलाको स्वास्थ्य विभागअनुसार मलेरियाविरुद्धको औषधि अभाव भएको छ । यसैगरी, अन्य संक्रमण फैलिने रोगविरुद्ध लड्ने औषधिको पनि अभाव भएको छ । दादुरा र भ्यागुते रोग पनि भेजेजुएलामा फर्किएको छ ।

देशको औषधि उत्पादक संगठनमा ८५ प्रतिशत औषधिको अभाव छ । कोलम्बियालगायत छिमेकी देशबाट चोरीपैठारीका माध्यमबाट कतिपय औषधि देशमा भित्रिरहेका छन् । तर, चिकित्सकले यस्ता औषधिले स्वास्थ्यमा खतरा निम्त्याउन सक्ने भएकाले सेवन नगर्न चेतावनी दिएका छन् । यसैगरी, मधुमेह, रक्तचापलगायतका बिरामीले सेवन गर्नुपर्ने औषधि तथा ऐन्टिबायोटिकको पनि अभाव उसैगरी बढेको छ, जसका कारण गम्भीर तथा दीर्घरोगको औषधि सेवन गर्ने बिरामीको जीवन संकटमा परेको छ । भेनेजुएला संकटले आगामी दिनमा कुन मोड लिने हो टुंगो छैन । तर, अहिलेलाई त्यहाँ मानवीय संकट चरम बिन्दुमा पुगेको छ । समयमै यसको सम्बोधन हुन सकेन भने त्यसले गम्भीर परिणाम निम्त्याउन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । 

एजेन्सीको सहयोगमा