१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २६ सोमबार २०:०३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

केन्द्रीय सदस्यहरूसँग नेता नेपालले भने– बहुमत भए पनि ओलीलाई मौका दिइरहेका छौँ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २६ सोमबार २०:०३:००

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई बैठकको छलफलमा ल्याउने प्रयास भइरहेको बताएका छन् । नेता नेपालको निवास कोटेश्वरमा सोमबार आएका डेढ दर्जन केन्द्रीय सदस्यसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

नेकपाको स्थायी कमिटी बैठक ६ साउनयता अवरुद्ध छ । १३ साउनमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहले बहुमत स्थायी कमिटीको बैठक गरे पनि अध्यक्ष ओलीले मान्यता दिएका छैनन् । ‘ओलीजीलाई बैठकमा आउनुस् भनेर कोसिस गरिरहेका छौँ, अझै पनि सोच्नुहोला भनेर कुरेका हौँ, हामीसँग बहुमत छ, बहुमत पक्षले कहिले पनि पार्टी फुटाउने काम र गतिविधि गर्दैन । उहाँहरू (ओली समूह) अल्पमतमा हुनुहुन्छ, त्यसैले फुटलाई प्रश्रय दिनेगरी गतिविधि गर्नुहुन्छ भन्ने मलाई विश्वास छैन,’ भेटमा सहभागी एक केन्द्रीय सदस्यले नेपालको भनाइ उद्धृत गर्दै नयाँ पत्रिकासँग भने, ‘कार्यकर्तापंक्ति पार्टी एकताको पक्षमा उभिएको छ, हामीमाथि जति दबाब छ, तपाईंहरूमाथि पनि होला । त्यसैले तपाईंहरूले पार्टी फुट्दैन र फुटबाट कसैको हित हुँदैन भन्ने जवाफ दिनुहोला ।’

उनले लेनिनवादी संगठनात्मक सिद्धान्तअनुसार नचले पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई अझै सच्याउने प्रयास जारी रहेको जानकारी गराएका थिए । भेटमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, केन्द्रीय सदस्यहरू डा. विजय पौडेल, राजेन्द्र राई, ठाकुर गैरे, यज्ञराज सुनुवार, रामकुमारी झाँक्री, मेटमणि चौधरी, दिलु पन्त, गणेश पहाडीलगायत सहभागी थिए । 

केन्द्रीय सदस्य दिलु पन्तले वरिष्ठ नेता नेपालले पार्टी विभाजित नहुने विषयमा आफूहरूलाई आश्वस्त पारेको जानकारी दिइन् । ‘पार्टीभित्रको अहिलेको अन्तरविरोधबाट कोही पनि नआत्तिनुहोस्, ढुक्क हुनुहोस्, पार्टी फुट्दैन, फुटाउने कसैले कोसिस गरिरहेको छ भने पनि त्यो पार्टीको कुनै नेता वा आधिकारिक व्यक्ति हुन सक्दैन भनेर उहाँले हामीलाई आश्वस्त तुल्याउनुभयो,’ पन्तले भनिन् ।

भेटमा केन्द्रीय सदस्यहरू पहाडी, सुनुवार र झाँक्रीलगायतले आइतबार ६१ सांसदकातर्फबाट सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनबारे नेता नेपाललाई ‘ब्रिफिङ’ गरेका थिए । उनीहरूले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको धारणाबाट पार्टी एकताका लागि सकारात्मक सन्देश प्रवाह भएको निष्कर्ष सुनाएका थिए । नेता नेपालले पनि पार्टी एकताका पक्षमा राम्रो काम गरेको भन्दै सांसदहरूलाई धन्यवाद दिएका थिए ।