मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २६ सोमबार १६:३८:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

लाभांशको आसले सेयर परिसूचक नेप्से उकालो दौडँदै, नाघ्याे १४ सय बिन्दु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २६ सोमबार १६:३८:००

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक एकैदिन ३२ अंकले बढेर १४ सयको बिन्दु पार गरेको छ । नेप्से एक हजार चार सय ३० बिन्दुमा पुगेको हो । 

नेपाल बैंकले करिब २० प्रतिशत र सिद्धार्थ बैंकले करिब ९ प्रतिशत लाभांश दिन सक्ने वित्तीय विवरण प्रकाशित गरेसँगै बजारमा लगानीकर्ताहरू केही आशावादी देखिएका हुन् । 

कोभिड– १९ को कारण बैंक तथा वित्तीय संस्थाहरूमा परेको प्रभावको कारण बैंकहरूको वितरणयोग्य मुनाफा नकारात्मक हुनेसमेत आकलन गरिएका थिए । 

यद्यपि सिद्धार्थ बैंकको नाफा ७ प्रतिशत र नेपाल बैंकको १ दशमलव ५५ प्रतिशतले खुम्चिएको छ । 

निक्षेप बजारमा ब्याजदर ओरालो लागिरहेकोले अबको केही महिनामै सूचीकृत कम्पनीहरूले दिने लाभांश लिन पाइने भएकोले पनि बजारमा लगानीकर्ताहरू आशावादी देखिएका छन् । 

ब्याजदर बजार ओरालो लागेसँगै बैंकहरूमा साधारण निक्षेपको अधिकतम ब्याजदर ५ दशमलव ५ सम्म र मुद्दति निक्षेपमा ८ दशमलव ७५ सम्म बैंकहरूले ब्याज दिइरहेका छन् । 

तुलनात्मक रूपमा केही कमजोर मानिएका बैंकहरूले अधिकतम ब्याज दिइरहेका भए पनि ठूलाले ७ दशममलव २५ हाराहारी छ । साधारण बचत खातामा भने ब्याजदर ३ प्रतिशतसम्म ओर्लिएको छ । 

अन्य लगानीका अवसरसमेत खुम्चिएकोले बजारमा पर्याप्त तरलता देखिँदै आएको छ । यही कारण पछिल्ला दिनहरूमा कारोबार रकमसमेत अर्ब हाराहारी हुने गरेको छ । 

कतिपय विकास बैंकहरूले भने नोक्सानमा गएको वित्तीय विवरण प्रकाशित गरेका छन् । कम्पनीको अवस्था हेरेर लगानी निर्णय लिनु यो समयमा सही हुने देखिन्छ । 

सोमबार बैंक, बिमा कम्पनीहरू कारोबार रकमका आधारमा समेत अग्रस्थानमा छन् । यस दिन  बजारमा १ अर्ब ५५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । 

१ सय ६९ कम्पनीको सेयर किनबेच भएकोमा २० कम्पनीको मूल्य घटेको र ५ कम्पनीको स्थिर छ भने बाँकीको मूल्य बढेको छ ।