मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २६ सोमबार १६:२३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोनाका कारण संसदीय समितिका बैठक प्रभावित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २६ सोमबार १६:२३:००

उपत्यकालगायत देशभरि नै कोरोनाको जोखिम बढेसँगै संघीय संसदका समितिहरूको बैठक प्रभावित भएको छ । 

कोरोनाका कारण संघीय संसदका समितिहरूको बैठक प्रभावित हुँदा महत्वपूर्ण विधेयकहरू समितिमै अड्किएका छन् । निरन्तर रूपमा बैठक सञ्चालन हुन नसक्दा राज्य सञ्चालनका लागि आवश्यक नीति–नियम निर्माणका काम प्रभावित भएका छन् । 

महामारीको समयमा राहत वितरण तथा उद्धारका काम प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायलाई जिम्मेवार बनाउन निर्देशन दिने निकायको रूपमा रहेका समितिहरूको बैठक प्रभावित हुँदा समस्या देखिएको छ ।

राष्ट्रिय सभामा १० र प्रतिनिधिसभामा १० गरी दुवै सदनका समितिमा २० वटा विधेयक विचाराधीन रहेका छन् । सरकारको कार्य सञ्चालनमा महत्वपूर्ण र आवश्यक विधेयकहरू समिति र दुवै सदनमा विचाराधीन रहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।

कोरोना संक्रमण जोखिमको कारण अहिले संसदीय समितिहरूको बैठक नियमित सञ्चालन हुन सकेको छैन । कोरोना संक्रमणको जोखिमका कारण बैठकहरू सुचारु गर्न समस्या भएको उनले बताए । 

समितिमा अध्यागमन विधेयक, अनुगमन तथा मूल्यांकन विधेयक विचाराधीन अवस्थामा रहेका छन् । अनुगमन तथा मूल्यांकन विधेयक विचाराधीन रहँदा विकास निर्माणका काम कारबाहीलाई कसरी मूल्यांकन गर्ने, कसरी व्यवस्थित गर्ने भन्ने कुराहरू प्रभावित भएका छन् ।

यस्तै तथ्यांक विधेयक पनि समितिमै विचाराधीन रहेको छ । आगामी वर्ष (२०७८) मा सुरु हुने राष्ट्रिय जनगणनामा तथ्यांक कसरी संलकन गर्ने, कसरी व्यवस्थित गर्नेलगायतका प्रावधान विधेयकमा रहेका छन् ।

विधेयक विचाराधीन हुँदा ती काम गर्न बाधा पुग्न सक्ने उनले बताए । नागरिक उड्डयन प्राधिकरण, नेपाल हवाई सेवा विधेयक, बिमासम्बन्धी विधेयक, बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी र धितोपत्र ऐनसम्बन्धीलगायतका विधेयक समितिमा अड्किँदा सरकारका कामकारबाही प्रभावकारी ढंगले अगाडि बढाउन समस्या उत्पन्न हुने उनले बताए । 

राष्ट्रिय सभा र प्रतिनिधिसभामा भ्रष्टाचार र अख्तियार दुरुपयोगसम्बन्धी विधेयक, नागरिकता विधेयक, निजामती सेवा विधेयकलगायत महत्वपूर्ण विधेयकहरू विचाराधीन रहेका छन् ।

निजामती विधेयक पारित हुँदा प्रदेश निजामती सेवा बन्न सकेको छैन भने स्थानीय तहमा कर्मचारी भर्नाका काम पनि प्रभावित भएको उनले बताए । कोरोनाका कारण तत्काल संसदको अधिवेशन सुरु गर्न सक्ने अवस्था छैन । कोरोना संक्रमणको जोखिमका कारण संसदीय काम कारबाहीमा समेत असर परेको छ ।

संघीय संसद सुरु भएपछि एक सय २२ वटा विधेयक दर्ता भएका छन् । ६८ वटा विधेयक दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरणसमेत भइसकेका छन् । एक विधेयक फिर्ता भएको छ । संसदको छैटौँ अधिवेशनको अन्त्यसम्म समितिमा २० र दुवै सदनमा १९ वटा विधेयक विचाराधीन रहेका छन् ।

प्रतिनिधिसभामा १५ र राष्ट्रिय सभामा तीनवटा विधेयक विचाराधीन रहेका छन् भने एउटा विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रिय सभामा पठाएको भए पनि पेस हुन बाँकी रहेको छ । १३ वटा विधेयक दर्ता भए पनि प्रक्रियामा जान बाँकी रहेका छन् ।