मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २६ सोमबार १२:१७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सवारीसाधनमा जोर–बिजोर : सार्वजनिक सवारीमा यात्रुको चाप र जाेखिम बढ्यो, मापदण्डको भएन पालना

Read Time : > 1 मिनेट
२०७७ श्रावण २६ सोमबार १२:१७:००

सरकारले गत बिहीबारदेखि सवारीसाधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागू गरेसँगै सार्वजनिक सवारीसाधनमा यात्रुको चाप थप बढ्न थालेको छ । 

अहिले जोर–बिजोर प्रणाली हुँदा यात्रुको चाप बढेसँगै कोराेना भाइरसको जोखिम पनि बढेको यात्रुहरूको गुनासो छ । 

काठमाडौंको सानागाउँ बस्ने भिमा पन्थी कार्यालय जाने हतारले सार्वजनिक सवारीसाधन चढिन् । 

उनी चढ्दा  सबै सिटमा मानिस बसिरहेका थिए । कोही उभिएरै यात्रा गरिरहेका  थिए  ।

उनी पनि उभिनेमा परिन् । गाडीमा खचाखच मानिसको बीचमा बाध्यताले चढ्नुपर्दा निकै डर लागेको उनले बताइन् । 

भिडभाडमा संक्रमणको जोखिम धेरै हुने भए पनि जसोतसो रत्नपार्कसम्म गएकाे उनी बताउँछिन् । 

उनी भन्छिन्, ‘बसमा स्यानिटाइजर पनि छैन, सामाजिक दूरीको व्यवस्था पनि छैन, प्रायजसो कार्यालय आउँदा यस्तै अवस्था भोग्नुपर्छ । हेर्ने कसले हो ?’

त्यस्तै बौद्धबाट नयाँ बसपार्क कार्यालयमा आएका रमेश विष्ट पनि सार्वजनिक सवारीमा  उभिएर यात्रा गर्नुपरेको बताउँछन् । 

‘जोर–बिजोर लागू नहुँदा दूरी कायम गरौँ भन्दा पनि छानी–छानी सवारी चढ्न पाइन्थ्यो, खाली बसमा चढ्दा दूरी कायम हुन्थ्यो, अहिले कम सवारी चलेको हुँदा दूरी कायम भएकाे छैन, यस्ताेमा सवारी चढ्नु जोखिम हाे,’ उनले भने, ‘सरकारका अधिकारीहरू सार्वजनिक सवारीसाधनमा नियम लगाएको भन्छन्, तर नियमकाे पालना खाेइ ?’

सरकारले  तोकेको मापदण्डअनुसार सार्वजनिक सवारीसाधनमा एक सिट छाडेर बस्नुपर्ने, सवारीसाधनमा अनिवार्यमा स्यानिटाइजर लगाएको हुनुपर्ने, चालक तथा सहचालकले अनिवार्य मास्क र पन्जा लगाएको हुनुपर्नेछ । 

तर, अधिकांश सार्वजनिक सवारीसाधनले सरकारले तोकेको मापदण्ड पूरा गरेका छैनन् ।

सार्वजनिक सवारीसाधनमा न्यूनतम मापदण्ड पूरा गर्न नसकिएको यातायात मजदुर  संगठनका अध्यक्ष भीमज्वाला राई स्वीकार गर्छन् । 

उनी भन्छन्, ‘हामी सकेसम्म सचेतता अपनाउन कोसिस गरिरहेका छौँ, मास्क, स्यानिटाइजरलगायतको सामग्री पनि महासंघबाट पर्याप्त उपलब्ध हुन सकेको छैन । त्यसकारण यो समयमा यात्रु र चालक तथा सहचालक आफैँले सचेत हुनुबाहेक हामीसँग अरू विकल्प छैन ।’

जोर–बिजोर लागू भएपछि यात्रुकाे चाप बढेको र सबै सवारीसाधनलाई सञ्चालन गर्न सजिलो भए पनि सामाजिक दूरी कायम गर्न यात्रु आफैँ सचेत हुनुपर्ने उनको भनाइ छ ।

‘सरकारले ताकेको मापदण्ड कतिपय पालना गर्न चाहेर पनि सकिँदो रहेनछ, सकेसम्म कोसिस गरिरहेका छौँ,  चालक तथा सहचालक पनि उच्च जोखिममा छन्, त्यसैले यो वेला सबै सचेत हुनुपर्नेछ,’ उनले भने ।

यस्ताे वेलामा पनि सवारीसाधनको नियामक निकाय, यातायात व्यवस्था विभाग भने मूकदर्शक बनिरहेको छ ।  

विभागले सवारीसाधनबाट संक्रमणको जोखिम कम गर्न बनाएको न्यूनतम मापदण्डसमेत कडाइका साथ पूरा गर्न सकेको छैन । आफैँले बनाएको मापदण्ड पालना भएको छ कि छैन ?, सर्वसाधारण जोखिममा परेका छन् वा छैनन् भनी विभागले अनुगमन गर्न सकेको छैन । 

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सार्वजनिक सवारीसाधन सञ्चालक मात्र दोषी नभई यात्रु पनि त्यत्तिकै सचेत हुनुपर्ने बताउँछन् । 

‘अहिलेको अवस्थामा चालक, सहचालक, यात्रु सबै सचेत हुनुपर्छ, मापदण्ड पूरा नगर्ने सवारीसाधनलाई कारबाही पनि गरिएको छ र थप कडाइ गर्ने गरी छलफल पनि गरिरहेका छौँ,’ हमालले भने ।

सवारीसाधन सञ्चालनमा आएदेखि नै सवारी चेकजाँचमा थप कडाइ गरेको दाबी महानगरीय ट्राफिक प्रवक्ता एसपी वामदेव गौतमको छ । 

जोर–बिजोर उल्लंघन गर्ने, न्यूनतम मापदण्डसमेत पूरा नगर्ने सवारीसाधनलाई कारबाही गरी राति मात्र छोड्ने, यात्रुलाई पनि मास्क लगाउन अनुरोध गरिरहेको उनले  बताए । 

‘केही ठाउँमा  यात्रुको चाप भएको र बढी यात्रु चढाएको थाहा पाउनेबित्तिकै तत्काल कारबाही पनि गरेका छौँ,’ गौतमले भने ।