मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ श्रावण २६ सोमबार ०८:३०:००
Read Time : > 4 मिनेट
सप्तरंग डिजिटल संस्करण

दर्शकको मन छुने सिनेमा बनेनन् : दयाहाङ राई

Read Time : > 4 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ श्रावण २६ सोमबार ०८:३०:००

चार महिना लामो बन्दाबन्दी खुलेसँगै अहिले कला साहित्यका क्षेत्र केही मात्रामा भए पनि चलायमान हुन थालेका छन् । सिनेमा पनि फाट्टफुट्ट सुटिङ भइरहेको अवस्था छ । तर, थिएटरहरू चुपचाप छन् । कसरी अगाडि बढ्ने भनेर अन्योलमा छन् । शिल्पी, सर्वनाम, मण्डला, कौसीजस्ता थिएटरहरू कसरी चलाउने भनेर रंगकर्मी छलफलमा जुटेका छन् । तर, ठ्याक्कै यही गर्ने भनेर निर्णय लिन भने सकेका छैनन् । 

थिएटरमा नाटक भन्नासाथ दर्शकको खोजी हुन्छ । दर्शकविना नाटक मञ्चन गर्न सकिने अवस्था पनि छैन । यस्तो विषम परिस्थितिमा दर्शक आउलान् भन्नेमा स्वयं कलाकार नै विश्वस्त छैनन् । तर, यस्तो अवस्थामा पनि अभिनेता दयाहाङ राई रंगमञ्चमा फर्किने सुरसारमा छन् । नेपाली सिनेमा क्षेत्र सुस्ताएको अवस्थामा उनी थिएटरमा पुनः फर्किन थालेका हुन् । अहिले उनी नाटक ‘मीतज्यू’माथि काम गरिरहेका छन् । सोमनाथ खनालले लेखेको नाटकको अन्तिम चरणको काम भइरहेको छ । ‘हामीले व्यक्तिगत ऊर्जाका लागि पनि काम गर्न खोजेका हौँ । सबै कलाकार साथीहरू बसेर छलफल मात्र नगर्दा पनि ऊर्जा मर्दोरहेछ,’ उनले भने । तर, नाटक कहिले प्रदर्शन गर्ने, कसरी प्रदर्शन गर्नेबारे उनीहरू अन्योलमा छन् । 
...
पछिल्लो समय दुर्लभ बन्दै गएको शब्द हो ‘मीत’ । नयाँ पुस्तासँग यो शब्दसँग कुनै पनि अपनत्व छैन । तर, अघिल्लो पुस्ताका लागि यो शब्दले मीठो आत्मीयता र सम्बन्धको फराकिलो आयामलाई बोकेर आउँथ्यो । दयाहाङले निर्देशन गर्न लागेको नाटक मीतबीचको सम्बन्धको कथा हो । लिम्बू र माझी, दुईजना बुढो मीतको सम्बन्धको कथा छ । साथमा रूखसँगको सम्बन्ध पनि छ । माझीले लिम्बूसँग पनि मीत लगाएको छ, रूखसँग पनि लगाएको छ । लिम्बू, माझी, रूख तीनै बुढो भएका छन् । माझीको घर नदीछेउमा छँदै छ । उसकै बारी हुँदै सडक आउँदै छ । सडकले रूखलाई ढाल्दै छ । रूख ढलिसकेपछि माझी डुंगा र लिम्बू च्याब्रुङ बनाउनेबारे गफ गर्छन् । गफकै क्रममा उनीहरू आफ्नो स्मृतिहरूमा जान्छन् । युवावयका दिनहरूमा जान्छन् । 

अहिलेको समयमा यो नाटकको सान्दर्भिकताबारे अभिनेता राई भन्छन्, ‘कोरोनापछि सबै कुरा एक हिसाबले हल्लिएको छ । पर्यावरणको कुरा उठिरहेको छ । विकासको नाममा हामी कति संवेदनशील बन्दै गइरहेका छौँ भन्ने सवाल छ । हामी मानवीयताको पाटोमा कति क्रूर बन्दै गइरहेका छौँ । यसैलाई केलाउने कोसिस हो ।’ मानवीयता पछिल्लो समय देखाउने दाँत बनिरहेको छ । हामी बढी नै स्वार्थी बनिरहेकोबारे वेलावेला बहस पनि उठिरहेका छन् । साथै अहिलेको समयमा हाम्रो पुस्तान्तरण रोकिएको छ । मानिस–मानिसबीच, प्रकृति–मानिसबीचको अन्योन्याश्रित सम्बन्ध ध्वस्त छ । यिनै कुरा केलाउनकै लागि आफूले नाटक निर्देशन गर्ने प्रयत्न गरिरहेको अभिनेता राई बताउँछन् ।

नेपालमा जति सिनेमा बने पनि प्रकार र प्रकृति हेर्दा कतिवटा सिनेमा बनिरहेका छन् ? जस्तो अवस्था छ । मैले पात्र निर्माण गरेँ होला । पात्र निर्माणको कोसिसमा छौँ हामी । तर, हाम्रो सिनेमामा भेरिएसन नै छैन । यसमा मैले मात्र होइन, निर्देशकले कस्तो सिनेमा बनाइरहेको छ, निर्माताले कस्तो सिनेमामा लगानी गरिरहेको छ भन्ने बुझ्नुपर्छ ।

‘अहिले त्यही अनुभवलाई, ज्ञानलाई प्रयोग गर्न खोजिरहेको छु,’ राई भन्छन्, ‘त्यहाँ सीधै दर्शक हुन्छन् । दर्शक समाज हो । र, समाज र हामी कलाकारबीचको अन्तरसम्बन्धलाई केलाउन पनि यसरी काम गरिरहेको छु ।’ तर, त्यसका लागि त नाटकभन्दा सिनेमाकै क्यानभास ठूलो हो । सिनेमाको क्यानभास ठूलो भए पनि गतिलो नाटक बनाउन नसकिए गतिलो सिनेमा बनाउन नसकिने बुझाइ छ उनको । कला, साहित्यको जग जति बलियो बन्दै जान्छ, अन्य क्षेत्र उति नै समृद्ध बन्दै जान्छ । यसमा उनको आत्मालोचना छ, ‘मैले नाटकमा पनि खासै काम गर्न सकिरहेको छैन, सिनेमामा पनि सकेको छैन । दुवै कुरालाई आफ्नो ठाउँबाट जोडबल गर्ने कोसिस हो मेरो ।’ अहिलेसम्म नेपाली समाज र समयसँग संवाद गर्ने नाटक खासै नदेखिएको उनी बताउँछन् । यदि गजबको नाटक बन्यो भने त्यसमा आकर्षण हुन सक्छ, साथै गतिलो सिनेमा बनाउन पनि जोडबल हुने राईको ठम्याइ छ । 
...
दयाहाङको सिनेमा र नाटकका यात्रा सँगसँगैको हो । तर, नाटकमा भने उनको समूह छ । स्पेस पनि छ । केही जिम्मेवारी पनि छ । मण्डला थिएटर खोल्नुका पछाडि केही उद्देश्य पनि छन् । नेपालमा वर्षमा धेरै नाटक बनिरहे पनि पुरानै नाटकमाथि बढीजसो काम भइरहेका छन् । नाटक, सिनेमा सबैमा आयातीत परम्परा छ । कथ्य शैली, तौरतरिका आयातीत छन् । हाम्रो आफ्नो शैली खोज्नुपर्छ भन्ने बहस वेलावेला भए पनि खासै काम भएको देखिँदैन । यही कारण पनि आफू नाटकमा वेलावेला सक्रिय भइरहेको उनको स्विकारोक्ति छ । ‘जब नाटकमा आइपुग्छु, अलि बढी जिम्मेवारी महसुस गर्ने गर्छु,’ उनी भन्छन् । 

अभिनेता राईले गत वर्ष ‘महाभोज’ नाटक खेले । प्रायः हरेक वर्ष कुनै न कुनै हिसाबले नाटकमा जोडिइरहेकै छन् । नाटकमा सिनेमाको भन्दा सानो टिम हुन्छ । सबैको सहभागिता बराबर हुन्छ । कलाकारले आफ्नो प्रस्तुतिमा सुधार गर्दै लैजान सक्छ । कलाकारले थिएटरमा गजबको स्पेस तयार गर्न सक्छ । शून्य ठाउँबाट सबै अवस्था र परिवेश निर्माण गर्नुपर्छ । यहीकारण भोलिका दिनमा पनि आफू नाटकमा सक्रिय भइरहने उनको भनाइ छ । ‘सिनेमामा टेक फाइनल भएपछि दोेस्रोपटक गर्नुपर्दैन । तर, नाटकमा हरेक दिन सुधार गर्ने अवसर हुन्छ,’ उनी भन्छन् । 

अभिनेता राईलाई अभिनयमा परिवर्तनशीलता नभएको आरोप लाग्दै आएको छ । एकै किसिमको अभिनय, हाउभाउ, शैलीको निरन्तरता छ । यस्ता प्रतिक्रियाले आफूलाई सचेत बनाउने उनी बताउँछन् । ‘सिनेमा त नेपालमा त्यस्तै हो नि । जति सिनेमा बने पनि प्रकार र प्रकृति हेर्दा कतिवटा सिनेमा बनिरहेका छन् ?’ प्रश्न गर्दै भन्छन्, ‘मैले पात्र निर्माण गरेँ होला । पात्र निर्माणको कोसिसमा छौँ हामी । तर, हाम्रो सिनेमामा भेरिएसन छैन । यसमा मैले मात्र होइन, निर्देशक कस्तो सिनेमा बनाइरहेको छ, निर्माताले कस्तो सिनेमामा लगानी गरिरहेको छ भन्ने बुझ्नुपर्छ ।’ 

मूलतः सिनेमा निर्देशकको भए पनि दयाहाङले चाहेमा नेपाली सिनेमाको धार निर्माण गर्न सक्ने विश्लेषण पनि गरिन्छ । तर, आफूले त पात्रको ग्राफ मात्र हेर्ने बताउँछन् उनी । यो अवस्थामा पनि अहिले नै निराश भइहाल्नुपर्ने अवस्था उनी देख्दैनन् । यस्ता प्रतिक्रियाले सबैलाई छुनुपर्छ, कस्तो सिनेमा बनाइरहेका छौँ भनेर निर्देशक, निर्माताले पनि ख्याल गर्र्नुपर्ने राई बताउँछन् ।

भनेपछि उद्योगमा मिहिनेत कम हो ? ‘हो, मिहिनेत कम हो । सिनेमा बन्ने भनेको कथाले नै हो । तर, त्यो कथा किन भन्दै छु भनेर निर्देशकलाई थाहा हुनुपर्छ । किन बनाउँदै छु भनेर निर्मातालाई थाहा हुनुपर्छ । अहिले हामीले देखिरहेको अवस्थाचाहिँ बिकाउ चिजको पछि लाग्नु हो,’ दयाहाङ भन्छन्, ‘बजार चलेको कलाकार, निर्देशकको पछि लाग्छ, किनभने उसलाई बजारमा वस्तु चाहिएको छ । वस्तु पनि कस्तो भने हिजोको जस्तै बिकाउ । त्यसमा अलिकति बुट्टा भर्ने मात्र हो।’

त्यसो भए गम्भीर सिनेमाका लागि अर्को पुस्तालाई पर्खनुपर्ने अवस्था हो त ? भन्ने जिज्ञासामा उनको तर्क यस्तो छ । ‘हिजो पनि सकिन्थ्यो होला । हामी तारिफबाट पुलकित हुन्छौँ । अलिकति कमेन्ट गर्दा दुस्मनी मोल्छौँ । स्वस्थ किसिमको छलफलै छैन । छलफलले निकाल्ने हो नि त बाटो । म क्लियर छु, निर्देशक, निर्माता पनि स्पष्ट छन् । तर, बजारको पछि लाग्दा कन्फ्युजन निस्कन्छ । यसका लागि सिनेमासँग सम्बद्ध सबैको भूमिका आवश्यक छ ।

सञ्चारमाध्यममा मूलधारको चलचित्रको चर्चा हुन्छ । हलिउड, बलिउडको कुरा आउँछ । भारतमा हेर्दा अन्तर्राष्ट्रिय स्तरमा पुग्ने बंगाली फिल्म होला । चाइनिज, कोरियन, इरानी सिनेमामाथि छलफल कहाँ भयो ? सलमान खान, शाहरुख खान, ब्राड पिटका कुरा मात्र पढिरहेका छौँ । उद्योगलाई अगाडि लैजान सबैको आआफ्नै भूमिका छ । त्यो भूमिकामा कहाँ छौँ, हामीले निक्र्योल गर्नुपर्छ । तर, सबै क्षेत्र वस्तुकरणतिर लागेको देखिन्छ । हामी चटपटे बजारबाट निर्देशित छौँ ।’

अभिनेता राईको पात्रको गेटअप, लुक्स, शैली, डाइलग डेलिभरीमा बढी नै रिपिटेसन भयो भनेर आलोचना भइरहेको हुन्छ । लगातार काम गर्दा एउटा कलाकारलाई अप्ठ्यारो पनि हुन सक्छ । पुरानो पात्रलाई इरेज गर्न समय लाग्न सक्छ । तर, आर्थिक कारण लगातार काम गर्नुपर्ने अवस्था आइलाग्ने बताउँछन् उनी । ‘चलेको एक कलाकारले वर्षमा एक सिनेमा मात्र खेल्ने सम्भावना छैन । तर, अबचाहिँ सम्भावना छ । अवस्था बन्दै छ । एउटा होइन, दुईवटा सिनेमा खेल्दा सम्भावना होला,’ उनी भन्छन्, ‘हामी जस्तो, जुन ठाउँमा आएर काम गरिरहेका छौँ, यसैलाई सबैथोक मानिरहँदा वर्षमा एउटा सिनेमा खेल्छु, त्यो सिनेमाले सम्पूर्ण जीवन चल्छ भन्नचाहिँ अलि मुस्किलै होला ।’