१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २६ सोमबार ०८:५२:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

धर्मको राजनीति

प्रधानमन्त्रीले गरिब चेपाङहरूको घर बनाउनुभन्दा मन्दिरलाई किन प्राथमिकता दिइरहेका छन् ?

Read Time : > 5 मिनेट
२०७७ श्रावण २६ सोमबार ०८:५२:००

उर्दू र हिन्दीका प्रसिद्ध आख्यानकार कृष्ण चन्दरको एउटा उपन्यास छ– ‘एक गधे की आत्मकथा’ । अंग्रेजी उपनिवेशबाट स्वतन्त्रतापछिको पहिलो निर्वाचित भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुकालीन पृष्ठभूमिमा लेखिएको यस उपन्यासमा एउटा बोल्ने गधा छ । यस उपन्यासको एउटा प्रसंगमा जमुनानदीमा लुगा धोइरहेको वेला गोहीले तानेर लगेको मालिक कल्लु धोबीको अन्तिम संस्कारको खर्च जुटाउन अनेक तिकडम गरी यो गधा प्रधानमन्त्री नेहरुसँग भेट्न सफल हुन्छ । उसले कल्लु धोबीको अन्तिम संस्कारका निम्ति सरकारीस्तरमा खर्च जुटाइदिन नेहरुसँग आग्रह गर्छ । नेहरुले गोजीबाट केही रकम झिकेर दिन चाहन्छन् । तर, गधाले समाजवादी भनिने सरकारले नै यसको व्यवस्था गरिदिनुपर्ने जिद्दी गर्छ । नेहरुले अफसोस मान्दै असमर्थता प्रकट गर्छन् र गधा रित्तै फर्किन्छ । 

भर्खरै माडीका प्रतिनिधिसँग हाम्रा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेको समाचार पढिरहँदा मैले नेहरु र गधाको त्यो प्रसंग सम्झेँ । माडीलाई राम जन्मभूमि अयोध्याका रूपमा स्थापित गराउने अभियानमा लागेका प्रधानमन्त्री ओलीले माडीबाट प्रतिनिधि बोलाएर भेटे । त्यहाँ राम, सीता र लक्ष्मणको भव्य मन्दिर बनाउन आफूले हरतरहले सहयोग गर्ने वचन पनि उनीहरूलाई दिए । यो समाचारमै अर्को प्रसंग पनि जोडिएको छ । प्रतिनिधिमण्डलले चितवनमा नै केही दिनपहिले राष्ट्रिय निकुञ्जले जलाइदिएको चेपाङहरूको घर सरकारले बनाइदिन आग्रह गर्दा प्रमले वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय निकुञ्जलाई निर्देशन दिइने आश्वासन दिए । ‘आश्वासन’ !

एउटा कम्युनिस्ट पार्टीको अध्यक्ष र प्रधानमन्त्री फोन गरेर माडीबाट प्रतिनिधि बोलाई एक वर्षभित्रै भव्य मन्दिर तयार पार्न यस्तो तत्परता देखाउँछ, मानौँ उसलाई तुरुन्त मन्दिर चाहिन्छ । तर, सरकारी निकायले नै जलाएको गरिब र निरीह चेपाङका घर निर्माण गर्न उसले सम्बन्धित निकायलाई निर्देशनको आश्वासन मात्र बाँड्छ । यसले समाजवादोन्मुख सरकारका प्रधानमन्त्रीको संवेदना र प्राथमिकता त देखाउँछ नै, नेपाली राजनीतिभित्र विकसित भइरहेको गरिबविरोधी प्रवृत्ति कृष्ण चन्दरको उपन्यासभन्दा पनि असंवेदनशील हुँदै गइरहेको देखाउँछ । नेहरुले त कमसे कम अफसोस र निरीहता प्रकट गरे ! यहाँ त त्यो पनि छैन । मन्त्रीले घर होइन, गोठ जलेको भनेर असंवेदनशीलता प्रकट गरिरहँदा पनि प्रधानमन्त्री मौन रहन्छन् ।

प्रधानमन्त्रीले गरिब चेपाङहरूको घर बनाउनुभन्दा मन्दिरलाई किन प्राथमिकता दिइरहेका छन् ? वस्तुतः यो राजनीतिमा ‘फेसभ्यालु’को विषय हो । प्रधानमन्त्री जसरी पार्टीभित्र र बाहिर चौतर्फी घेरिँदै गएका छन्, यसमा विजय प्राप्त गर्न गरिब चेपाङभन्दा पनि माडीमा राम जन्मभूमि अयोध्यापुरीको निर्माणले बढी सहयोग गर्ने आकलन उनले गरेका हुन सक्छन् । उनको यो प्रयोग कति सफल होला भन्ने भविष्यमै देखिनेछ, तर अहिले उनी राम जन्मभूमिको नाममा एउटा धार्मिक तरंग पैदा गरेर पार्टीको भित्री र बाहिरी अन्तर्विरोधको दिशा अन्यत्र मोडी आफूअनुकूलको स्थिति सिर्जना गर्न चाहन्छन् । यसनिम्ति उनका सल्लाहकारले उनलाई दक्षिणी छिमेकी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी (बिजेपी) को रामकार्डको सफलता देखाएका हुन सक्छन् । 

अयोध्यापुरीको दाबी प्रत्यक्षमा मोदी र भारतीय कूटनीतिविरुद्ध चालिएको कदम देखिए पनि यसका पछाडि ओलीमा वर्तमानमा आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई तह लगाउने र कदाचित पार्टी विभाजनको कुनै पनि अप्रिय स्थितिमा पार्टीभित्र र चुनावी रणनीतिमा अग्रता हासिल गर्ने ध्येय लुकेको देखिन्छ ।

भारतको सर्वोच्च अदालतबाट विजयी फैसलाको आधारमा ५ अगस्ट २०२० का दिन राम जन्मभूमिको शिलान्यास गरी सन्त, महन्थ र कार्यक्रममा सहभागी बिजेपी नेतालाई गर्वोन्नत सम्बोधन गरिरहेका भारतीय प्रधानमन्त्री मोदीमा कट्टर धार्मिक समुदायले मौर्यवंश समाप्त गरेर ब्राह्मण धर्म स्थापना गरेको शुङ्गवंशी ब्राह्मण शासक पुष्यमित्रको दर्शन गरेको हुन सक्छ । भारतमा अन्तिम मौर्यवंशी शासकका सेनापति पुष्यमित्रले राजा वृहद्रथको हत्या गरेर शासनमा कब्जा गरे र बौद्ध धर्मलाई विस्थापित गरी वर्णाश्रममा आधारित ब्राह्मण धर्मको पुनरोत्थान गरे ।

मौर्य शासनकालमा राज्यधर्मको रूपमा स्थापित बौद्धधर्मबाट असन्तुष्ट तत्कालीन ब्राह्मणको लामो र सुनियोजित प्रतिविद्रोही गुप्त अभियानको परिणाम नै पुष्यमित्रको सफलता थियो । बिजेपी र नरेन्द्र मोदीको राम जन्मभूमि सफलता अभियानमा आर्य श्रेष्ठताको संकीर्ण राष्ट्रवादी गर्वलाई पुनस्र्थापित गर्ने लक्ष्य लिएर स्थापित राष्ट्रिय स्वयंसेवक संघलाई पुष्यमित्रकालीन ब्राह्मण समुदायसँग तुलना गर्न सकिन्छ, जसको हिन्दू धार्मिक राज्यको सपना पूरा गर्ने बाटोमा मोदी सबैभन्दा सफल पात्रका रूपमा देखिएका छन् । विगत सात वर्षदेखि भारतीय सत्तामा आसीन मोदी राम जन्मभूमिको शिलान्यासपछि भारतीय राजनीतिमा यस्तो निद्र्वन्द्व शासकका रूपमा देखिएका छन्, जसका सामु प्रतिपक्ष त प्रतिपक्ष, आफ्नै पार्टीका वरिष्ठ नेतासमेत आभाही विरुदावलीको मुद्रामा छन् । 

यतिसम्म कि बिजेपीको मूल वैचारिक संगठन राष्ट्रिय स्वयंसेवक संघका प्रमुख सरसंघचालक मोहन भागवतलगायत पनि नतमस्तक देखिन्छन् । सन् १९९६ मा अटल बिहारी बाजपेयीको नरम हिन्दुत्वको नीतिबाट २०१४ र २०२० सम्म नरेन्द्र मोदीको गरम र आक्रामक हिन्दुत्वको कार्डसम्मको सफल यात्रामा ‘साइनिङ इन्डिया’जस्ता विकासवादी नाराको तहत भारतका आधुनिक पुँजीपतिसँगको गठबन्धन, गान्धीवादी विचारसँग निकटताको प्रचार र जातीय, क्षेत्रीय सौहाद्र्रताका कार्डहरू वैकल्पिक रूपमा प्रयोग गरे पनि मोदीले संकीर्ण हिन्दुत्वबहुल प्राचीन र पौराणिक श्रेष्ठताको भावसहितको राष्ट्रवाद तथा प्रतीकात्मक रूपमा राम जन्मभूमिको उन्मादी एजेन्डालाई हमेसा केन्द्रमा आक्रामक रूपमै राखे । यसनिम्ति उनले भारतीय समाजको गंगा–जमुना संस्कृति अर्थात् धार्मिक सहिष्णुता तथा साम्प्रदायिक सद्भाव, अन्तर्राष्ट्रिय मानवतावाद र प्रगतिशीलताका आधुनिक राजनीतिक–सामाजिक मानकलाई गैरवैचारिक हिन्दुत्व उन्मादमा फेर्ने निरन्तर प्रयास गरे । 

उनका राजनीतिक स्कुलबाट प्रशिक्षित इतिहासकार, समाजशास्त्री र अर्थशास्त्रीले इतिहास र मिथको मिश्रणबाट निर्मित भ्रमपूर्ण ऐतिहासिक भाष्यको माध्यमबाट जनताका प्रगतिशील ऐतिहासिक नायकबारे समेत भ्रम सिर्जना गर्ने प्रयास गरे । उनीहरूले एकातिर भगतसिंहजस्तो अन्तर्राष्ट्रियतावादी माक्र्सवादी समाजवादी क्रान्तिकारीलाई अंग्रेजविरोधी स्वतन्त्रता संग्रामका राष्ट्रवादी सहिद र ‘अल्लाह ईश्वर तेरा नाम’को मान्यता राख्ने उदार आदर्शवादी गान्धीको ‘रामराज’को उदार लोकतन्त्रवाद मोडेलमा संकीर्ण हिन्दुत्वको अन्तर्वस्तु भर्ने प्रयास गरे । मोदी शासनकालमा भारतीय संसद्मा बिजेपी सांसदले गान्धीका हत्यारा नाथुराम गोड्से जिन्दावादको नारा लगाउन सफल हुनु यसैका परिणाम थिए । प्रत्यक्षतः मौन रहे पनि राष्ट्रिय स्वयंसेवक संघले गोड्सेलाई आन्तरिक रूपमा सहिद मान्ने गरेको छ ।

वस्तुतः यो पुरातन उन्मादको सफलताका निम्ति स्वतन्त्र भारतका धर्मनिरपेक्ष र समाजवादी भन्न रुचाउने मध्यपन्थी र उदारवादी लोकतन्त्रवादीको सत्तालोलुपता र वैचारिकता जिम्मेवार छ, जसले स्वतन्त्रता प्राप्तिपछि देशको शासन सम्हालेका थिए । वस्तुतः भारत स्वतन्त्र हुँदा भारतले सोभियत संघसँग मित्रता गरे पनि विचारधारात्मक र सामाजिकस्तरमा कम्युनिस्टको बढ्दो लोकप्रियता निरस्त गर्ने काम भारतीय कंग्रेसकालमै सुरुवात भएको थियो । भारत–चीन युद्ध, कम्युनिस्ट आन्दोलनमा संशोधनवादको वर्चस्व र उनीहरूको सत्तालोलुपताका कारण कुनै वेला संसद्मा प्रमुख प्रतिपक्षको रूपमा स्थापित कम्युनिस्ट अहिले राजनीतिक परिदृश्यमा आक्कलझुक्कल मात्रै देखिन्छन् ।

गैरसंसद्वादी क्रान्तिकारी कम्युनिस्टहरू छुट्टै विमर्शका विषय हुन् । कम्युनिस्टहरूको निरन्तर खस्किँदो स्थितिले भारतीय समाजमा एउटा खाडल निर्माण ग¥यो र यसको फाइदा उठाई संकीर्ण हिन्दूवादी उन्मादको घोडा चढेर बिजेपी पाइला–पाइला सर्दै सत्ताशीर्षमा पुग्न सफल भयो । संघको पारम्परिक रणनीतिमा मोदीको नयाँपन भनेको हिन्दुत्वलाई स्वीकार नगर्ने भारतीय हुन नसक्ने भाष्य चतु¥याइँपूर्वक स्थापित गर्नु र पाकिस्तानसँगको पारम्परिक कटुतापूर्ण कूटनीतिक सीमायुद्धलाई हिन्दू भर्सेज इस्लाममा परिणत गर्न सफल हुनु पनि हो । यसबाट सिर्जित सामाजिक विभाजनले बिजेपीको भोटबैंकमा व्यापक विस्तार गरायो ।

हाम्रा प्रधानमन्त्री ओली सायद बिजेपीले जस्तै उन्मादबाटै आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न चाहन्छन् । मोदीजस्तै उनी पनि ऐतिहासिक रूपमा संदिग्ध महाकाव्यका मिथपात्र रामको जन्मभूमिको रूपमा माडीलाई अयोध्यापुरीमा परिणत गर्न चाहन्छन् । अयोध्याको राम जन्मभूमि भर्सेज माडीको अयोध्यापुरीको राम जन्मभूमिको बहसले संघको बृहत्तर भारतवर्षको पौराणिक अश्वमेधी राष्ट्रवादी उन्मादविरुद्ध ग्रेटर नेपालको संकीर्ण राष्ट्रवादी मानसिकतालाई प्रोत्साहित गर्ने निश्चित छ ।

सामाजिक परिवर्तनका निम्ति जनताका त्याग, तपस्या र बलिदानका गाथा, प्रतीक र जनताको शौर्यबाट प्राप्त उपलब्धिको महानतालाई कम ठान्ने र आधुनिक कालमा औचित्य गुमाइसकेका र सामान्यतः लोकमानसमा अधिकतम आस्थाको रूपमा रहेका पुरातन र मध्यकालीन मान्यताको राजनीतिक प्रयोगले नेपाली समाजलाई खतरनाक विभाजनमा लैजानेप्रति समयमा नै सचेत हुनुपर्छ । अयोध्यापुरीको दाबी प्रत्यक्षमा मोदी र भारतीय कूटनीतिविरुद्ध चालिएको कदम देखिए पनि यसका पछाडि ओलीमा वर्तमानमा आफ्ना राजनीतिक प्रतिस्पर्धी र विरोधीलाई तह लगाउने र कदाचित पार्टी विभाजनको कुनै पनि अप्रिय स्थितिमा पार्टीभित्र र चुनावी रणनीतिमा अग्रता हासिल गर्ने ध्येय लुकेको देखिन्छ ।

नेकपाभित्रको वर्तमान अन्तर्विरोधमा प्रचण्ड–माधव–झलनाथको प्रतिरोधको उपेक्षा गर्दै उनी जुनसुकै स्थितिका निम्ति तयार र आक्रामक मुद्रामा देखिन्छन् । यस्तो लाग्छ, उनले प्रतिरोधी खेमाले समर्पण गरून् अथवा आफूलाई पार्टीबाट निकालून् भन्ने चाहेका छन् । यस्तोमा उनले पार्टी फुटाएको दोष प्रचण्डलगायतको टाउकोमा थोपरेर कार्यकर्ताको सहानुभूति प्राप्त गरी आफ्नो एकल वर्चस्वमा कुनै पार्टीका निम्ति संकीर्ण राष्ट्रवाद र धार्मिक भावनात्मक लाइनलाई चुनावी राजनीतिक हतियारका रूपमा प्रयोग गर्ने पृष्ठभूमि तयार गरिरहेका छन् ।

अहिले मोदी आधुनिक फासीवादका सबैभन्दा प्रभावशाली अनुहार हुन् । भर्खरै २४ जुलाईको दिन धर्मनिरपेक्ष टर्कीमा हगिया सोफिया नामक संग्रहालयलाई मस्जिदमा परिणत गरेर मोदीको हिन्दूउन्मादजस्तै इस्लामिक उन्मादको घोडचढी गरेका राष्ट्रपति एर्दोगान, रुसमा चर्चहरूमा माथा टेक्ने पुटिन वा अमेरिकामा बाइबलसहित तस्बिर खिचाउने डोनाल्ड ट्रम्प होऊन् अथवा स्पेनलगायत युरोपका कैयौँ मस्जिदलाई गिरिजाघरमा र पाकिस्तानलगायत इस्लामिक देशमा मन्दिरलाई मस्जिदमा परिणत गर्ने कार्य होस्, सत्तामा वर्चस्वका निम्ति फासीवादको विशिष्ट रूप प्रायः सबै देशमा देखिएको छ ।

विश्व राजनीतिमा देखिएको अहं परिवर्तनमा मोदी आधुनिक फासीवादका गुरुजस्ता देखिएका छन्, जसले चेतनशील समाजलाई गैरवैचारिक उन्मादित भिडमा परिणत गर्ने निपुणता हासिल गरेका छन् । प्रधानमन्त्री ओली पनि सायद यस्तै कला सिक्न आतुर छन् । कूटनीतिक रूपमा ओली र मोदी दुई विपरीत कित्तामा देखिन्छन्, तर धार्मिक राष्ट्रवादको प्रयोगको स्तरमा ओली पनि मोदीको सिको गर्न लागेका देखिन्छन् । 

यसको हल के छ त ? नेपालमा भएका अधुरा परिवर्तनलाई पूर्णता दिनु नै हो । कार्ल मार्क्सले फायरबाखको आलोचनाका क्रममा लेखेका छन्, ‘संसारभरिका दुःख र तकलिफले धर्मको कल्पनालाई जन्म दियो, त्यसैले धर्मको उच्छेद तिनै परिस्थितिको समापनमा निर्भर गर्छ, जसले धर्म र ईश्वरको कल्पनालाई जन्म दियो ।’ धर्म र पुँजीको विपरीत सामाजिक परिवर्तनमा मनुष्यको भूमिका स्थापित नभएसम्म धर्म र पुँजी दुवैको उच्छेद सम्भव छैन । तर, वैचारिक स्खलनको बोलवाला रहेको समयमा मनुष्यको भूमिका स्थापित गर्ने ध्याउन्न कसलाई छ ?