१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २६ सोमबार ०६:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भारतबाट औषधि खरिदको बजेट नै फ्रिज, सेनालाई अनुदानमा १० भेन्टिलेटर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २६ सोमबार ०६:३७:००

नेपाली सेनाले कोरोना नियन्त्रण तथा रोकथामका लागि भारतबाट औषधि खरिद गर्न नसकेर बजेट नै फ्रिज भएको छ ।

सरकारले १६ चैतमा सेनालाई छिमेकी मुलुकबाट औषधि खरिदको जिम्मा दिएको थियो । त्यसमध्ये चीनबाट करिब सवा दुई अर्बका स्वास्थ्य सामग्री ल्याइएको हो । भारतबाट भने दुई करोड ६५ लाख रुपैयाँबराबरका औषधि खरिद गर्ने भनिएकामा प्रक्रिया अगाडि बढेन ।

भारतबाट नियमित औषधि आयात भइरहेको र खरिद सम्झौता हुन नसकेपछि रकम फ्रिज भएको सेनाले जनाएको छ । नेपाली सेना र भारत सरकारमातहतको ब्युरो अफ फर्मा पिएसयुज अफ इन्डिया (बिपिपिआई)बीच ५३ प्रकारका औषधि खरिदसम्बन्धी सहमति भएको थियो । सेनाले भारतीय कम्पनीसँग पत्राचार गरेर खरिद गर्ने अन्तिम टुंगो लगाएको थियो ।

बिपिपिआईसँग औषधि निर्यातको अनुमति नभएका कारण परराष्ट्र मन्त्रालय वा दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतको विदेश मन्त्रालयसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने र विदेश मन्त्रालयमार्फत भुक्तानी गर्ने सेनाको प्रयास थियो । तर, परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासतिर पन्छाइदियो । दूतावास र भारतीय विदेश मन्त्रालयबीच सम्झौता हुन सकेन ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले कोभिड–१९ महामारीबीचमा पनि नियमित उपचारका औषधि आपूर्ति सुरु भएका कारण अतिरिक्त हिसाबले खरिद गर्नुपर्ने नदेखिएको बताए । ‘आपूर्ति बन्द होला र अप्ठेरो पर्ला भनेर हामीलाई औषधि खरिदको जिम्मा दिइएको थियो । तर, औषधि आपूर्ति निरन्तर भएपछि हामीले खरिद गरिरहनुपर्ने नै भएन,’ पौडेलले भने ।

भारत सरकारले नेपाली सेनालाई १० थान आइसियू भेन्टिलेटर उपहार दिएको छ । आइतबार जंगीअड्डामा आयोजित समारोहमा भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेन्टिलेटर हस्तान्तरण गरे । नेपाल सरकारको ‘कोभिड–१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७’लाई सघाउन भारतले भेन्टिलेटर दिएको हो ।