मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २६ सोमबार ०४:०५:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आफ्नै विदेशमन्त्रीको अभिव्यक्ति सच्याउँदै भारतले भन्यो–  गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको विषयमा शंका छैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २६ सोमबार ०४:०५:००

आफ्ना विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्धलाई महान् भारतीय भन्दै दिएको अभिव्यक्ति भारतले सच्याएको छ । भारतीय विदेश मन्त्रालयले आइतबार साँझ जारी गरेको प्रेसनोटमा बुद्धको जन्म नेपालको लुम्बिनीमा भएकोमा कुनै शंका नरहेको स्पष्ट पारेको छ । 

भारतीय विदेशमन्त्री जयशंकरले शनिबार दिल्लीमा भारतीय उद्योग परिसंघ (सिआइआई)द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गौतम बुद्धलाई महात्मा गान्धीसँग जोडेर महान् भारतीय भनेका थिए । नेपालको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीको ६ वर्षअघि गौतम बुद्धको जन्म नेपालमा भएको अभिव्यक्ति स्मरण गराउँदै प्रेसनोट जारी गरेलगत्तै भारतले विदेशमन्त्रीको भनाइ बुद्ध दुई देशका साझा सम्पदा भएको अर्थमा आएको प्रस्टीकरण दिएको छ ।

भारतीय विदेश मन्त्रालयले प्रस्टीकरण दिँदै भनेको छ, ‘सिआइआईको कार्यक्रममा विदेशमन्त्रीको अभिव्यक्ति हाम्रा साझा बौद्ध सम्पदाको सन्दर्भमा आएको हो । गौतम बुद्ध नेपालमा रहेको लुम्बिनीमा जन्मेका हुन् भन्नेमा कुनै शंका छैन ।’ तर, जयशंकरले बौद्ध सम्पदा साझा भनेका थिएनन् । उनले ‘गौतम बुद्ध र महात्मा गान्धी भारतीयहरूले मात्र नभएर विश्वले नै मान्ने दुई महान् भारतीय हुन्’ भनेका थिए । 

जयशंकरको अभिव्यक्तिप्रति सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसका शीर्ष नेता तथा कूटनीतिक समुदायले चर्को विरोध गरेपछि परराष्ट्रले ध्यानाकर्षण गराएको थियो । ‘२०७१ सालमा नेपाल भ्रमणका क्रममा संसद्मा सम्बोधनका क्रममा भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदी आफैँले भन्नुभएको थियो कि नेपाल एक यस्तो देश हो जहाँ विश्वमा शान्तिका प्रतीक बुद्धको जन्म भएको थियो,’ परराष्ट्र मन्त्रालयद्वारा जारी प्रेसनोटमा छ । 

भारतका विदेशमन्त्रीद्वारा गौतम बुद्धका सम्बन्धमा दिइएको अभिव्यक्तिबारे सञ्चारमाध्यमहरूद्वारा सोधिएको प्रश्नमा’ भन्दै परराष्ट्रले आइतबार अपराह्न प्रेस नोट जारी गरेको थियो । प्रेसनोटमा छ, ‘गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेको विषय ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले प्रमाणित गरेको एक स्थापित र निर्विवाद तथ्य हो । बुद्धको जन्मस्थान र बौद्धधर्मको जग लुम्बिनी युनेस्कोको विश्व सम्पदासूचीमा रहेका स्थानहरूमध्येको एक हो ।’

नेपालले बौद्ध धर्म नेपालपछि विश्वका विभिन्न भागमा फैलिएको सत्यतर्फ पनि ध्यानाकर्षण गरेको छ, ‘यो विषय कुनै विवाद वा शंकाभन्दा बाहिर छ र यो बहसको विषय पनि हुन सक्दैन । सम्पूर्ण अन्तर्राष्ट्रि«य समुदाय यसबारे जानकार छ ।’ जयशंकरले दिएको अभिव्यक्तिप्रति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यलगायतले विरोध गरेका थिए ।