मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण २६ सोमबार ०४:००:००
Read Time : > 6 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ओली–प्रचण्ड संवादहीनताले नेकपा संकट गहिरिँदै

Read Time : > 6 मिनेट
२०७७ श्रावण २६ सोमबार ०४:००:००

उत्कर्षमा पुगेको विवाद समाधानका लागि आन्तरिक कोसिस चलिरहेकै वेला नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पाँच दिनदेखि संवाद रोकिएको छ । लगानी बोर्डको सिइओमा सुशील भट्टलाई नियुक्त गरिएको विषयमा २१ साउनमा ओलीसँग प्रचण्ड र झलनाथ खनालको भनाभन भएपछि अर्को संवाद भएको छैन ।

दुई अध्यक्षबीचको संवादहीनतासँगै नेकपाको आन्तरिक संकट अझ गहिरिँदै गएको छ । शीर्ष नेताकै सचिवालय वा सुरक्षाकर्मी कोरोनाबाट संक्रमित भएपछि संवाद प्राविधिक हिसाबले पनि कठिन बनाएको छ । सहमति खोज्न उनीहरूबीच विगतमा दैनिकजसो संवाद हुँदै आएका थिए । 

२१ साउनयता ओली र प्रचण्ड दुवैले निकास नआउने छलफलका लागि रुचि नदेखाएपछि संवाद सुचारु गराउन दोस्रो तहका नेताले कोसिस गरिरहेका छन् । त्यसक्रममै महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डलाई भेटेर संवादलाई निरन्तरता दिन आग्रह गरेका छन् । प्रचण्डले भने निष्कर्ष नआउने छलफल गर्नुको औचित्य नहुने भन्दै रोकिएको स्थायी कमिटी बैठक सुचारु गर्ने गरी सहमतिको प्रस्ताव आए मात्र छलफलमा बस्न सकिने जवाफ दिएका छन् । ओलीको सन्देश लिएर नेम्वाङले २२ साउन तथा पौडेल र पोखरेलले २४ साउनमा प्रचण्डसँग छलफल गरेका थिए ।

‘जति छलफल गर्दा पनि निकास नआउने भएकाले पहिले रोकिएको स्थायी कमिटी सुचारु गर्ने गरी सहमतिको प्रस्ताव ल्याउनुस्, त्यसपछि छलफल गर्न सकिन्छ,’ प्रचण्डले महासचिव पौडेलसहित ओलीनिकट नेताहरूलाई दिएको जवाफ उद्धृत गर्दै उनको सचिवालय स्रोतले भन्यो, ‘विधि, पद्धति र प्रक्रिया मान्नका लागि उहाँ (प्रधानमन्त्री) पहिला रोकिएको स्थायी कमिटी बैठक सुचारु गर्न तयार हुनुपर्छ, त्यस्तो अवस्थामा बसेर छलफल गर्न पनि सकिन्छ नत्र जति बसे पनि निरर्थक छलफल गर्नुको औचित्य छैन ।’ 

त्यसो त यसबीचमै प्रधानमन्त्री ओलीले पनि छलफल चलिरहेकै वेला खुमलटार र बाहिर गुट भेला गर्ने, आन्तरिक छलफलको विषयलाई मिडिया बोलाएर छरपस्ट पार्ने हो भने छलफलको औचित्य सकिने निकट नेतामार्फत प्रचण्डलाई सन्देश पठाएका छन् ।

छिल्लोपटक ओलीका तर्फबाट नेम्वाङले खुमलटार पुगेर प्रचण्डलाई त्यस्तो सन्देश दिएका छन् । प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले २१ साउनमा पत्रकारहरूसँग अनौपचारिक अन्तत्र्रिmया गरेपछि प्रधानमन्त्री ओली रुष्ट छन् । दिउँसो भेला सकिएलगत्तै छलफलका लागि बालुवाटार प्रस्थान गरेका प्रचण्ड स्थगनको सूचना पाएपछि बीचबाटै खुमलटार फर्किएका थिए । भोलिपल्टै दुई अध्यक्षबीच संवाद हुने भनिए पनि ओली–प्रचण्ड आ–आफ्नै अडानमा टस न मस भएपछि संवाद ठप्प हुँदै आएको छ । 

‘आन्तरिक विवादबारे बाहिर माइक लगाएर बोल्नेहरूले बोलिरहेकै छन्, अहिले सबै प्रयासहरू सार्थक भइरहेका छैनन् त्यसैले ठोस प्रगति नभएको विषयमा औपचारिक टिप्पणी गर्नु या छलफल सकारात्मक छ भनेर बोल्नुको कुनै अर्थ छैन,’ सचिवालयका एक नेताले नयाँ पत्रिकासँग भने । 

उनको भनाइले अनौपचारिक तहको कुराकानीबाटै तत्काल मिलनबिन्दु फेला नपरे ओली र प्रचण्डबीच औपचारिक छलफलको सम्भावना तत्कालका लागि टरेको छ । गत १३ साउनमा प्रचण्ड र नेपाल समूहले बालुवाटारमा बहुमत स्थायी कमिटी सदस्यहरूको बैठक गरे पनि ओलीले औपचारिक मान्यता दिएका छैनन् । ओली र उनीनिकट नेताहरूले बैठकलाई गुट भेलाको संज्ञा दिँदै आएका छन् । प्रचण्ड–नेपाल समूहले दाबी गरेको बहुमतको बैठकले प्रचण्डलाई अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसँग छलफल गरेर स्थायी कमिटी बैठक सुचारु गर्ने जिम्मेवारी दिएको थियो । 

त्यसपछिका छलफलमा ओलीका तर्फबाट उपनेता नेम्वाङ र प्रचण्डका तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल छलफलमा बस्दै आएका थिए । ओलीले सहमतिको प्रस्ताव तयारीका लागि सचिवालय बैठक तथा प्रचण्डले पछिल्लोपटक स्थगित स्थायी कमिटी बैठक सुचारु गरेर सहमति खोज्नुपर्ने अडान राख्दै आएका थिए । तर, २१ साउनपछि भने उनीहरूले छलफलका लागि रुचि देखाएका छैनन् ।

ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्नुपर्ने प्रचण्ड–नेपाल समूहको अडानका कारण उत्कर्षमा पुगेको नेकपाको विवाद जहीँको तहीँ छ । छलफलबाट तत्काल ठोस निष्कर्ष आउने संकेत नदेखिएपछि प्रचण्ड–नेपाल समूहले त्यसलाई विधि र प्रक्रियासँग जोडेर पार्टीभित्रको सैद्धान्तिक–वैचारिक दुई लाइन संघर्षका रूपमा रूपान्तरण गर्ने कोसिस अघि बढाएका छन् ।

नेकपा ६१ सांसदले भने– पार्टी फुट्न दिन्नौँ

शीर्ष तहमा अन्तर्विरोध चर्किंदै जाँदा पार्टीका ६१ सांसदले कुनै पनि समूहमा विभक्त भएर साथ नदिने घोषणा गरेका छन् । पार्टी एकता बचाउन दबाब अभियान चलाउँदै सांसदहरूले हस्ताक्षरसहित आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर त्यस्तो घोषणा गरेका हुन् । 

दबाब अभियानमा अध्यक्षद्वय केपी ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालसहित तीनवटै समूहका सांसद छन् । संघीय संसद्मा सभामुखबाहेक नेकपाका एक सय ७३ सांसद छन् । अभियानमा केन्द्रीय सचिवालय, स्थायी कमिटी र मन्त्रीहरूबाहेकका सांसद सहभागी छन् । 

पार्टीमा देखापरेको अन्तर्विरोधले नेपाली जनता र पार्टीपंक्ति मर्माहत भएको र विभाजनको खतरा देखिएको भन्दै उनीहरूले तत्काल संवादबाट सहमति नखोजे समाधानको विकल्पसहित दोस्रो चरणमा हस्तक्षेपकारी भूमिकामा देखापर्ने चेतावनीसमेत दिएका छन् ।

‘सिंगो नेपाली समाजको प्रगतिशील रूपान्तरण, मजबुत राष्ट्रिय एकता, सबल अर्थतन्त्र निर्माण, वैज्ञानिक समाजवादी दिशाको यात्रामा अविचलित पाइलाहरू अगाडि बढाउने यति ठूलो जनताको समर्थन, हजारौँ सहिदहरूको शाहदत र लाखौँ कार्यकर्ताको त्याग र समर्पणलाई हेक्का नराखी पार्टीका आगामी नीति, कार्यक्रम, सिद्धान्त, लक्ष्य, उद्देश्य, संगठनात्मक संरचनासम्बन्धी बहसभन्दा अन्य विषयमा केन्द्रित भई शीर्ष नेतृत्वमा देखापरेको अन्तर्विरोध कुनै पनि अर्थमा ग्राह्य र उपयुक्त नभएकाले हामी कार्यकर्ताको तहबाट साथ र सहयोग हुन सक्दैन,’ जारी विज्ञप्तिमा भनिएको छ । 

साथै, उनीहरूले पार्टी एकता जोगाउन तीनवटा सामूहिक प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् । ‘यसभन्दा अगाडि हाम्रो पार्टीभित्र रहेको विभिन्न विचार समूहमा उपल्लो नेतृत्व तहहरूसँगै विभक्त भए पनि तत्काललाई एकताको महाधिवेशनसम्म पार्टीको विधान र एकताको भावना समेटिने गरी हामी सिंगो देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक स्थायित्वलाई अझ सुदृढ पार्न पार्टीलाई एकताबद्ध बनाउने सामूहिक पहलकदमीमा प्रतिबद्ध छौँ,’ पहिलो प्रतिबद्धतामा छ ।

त्यस्तै, पार्टीमा हुने तथा देखिने सबै प्रकार र रूपका अन्तर्विरोधलाई पार्टीको विचार, सिद्धान्तले निर्देशित गरेको पद्धति र प्रणालीमा विधि, प्रक्रियाद्वारा वस्तुवादी समाधान खोज्न प्रतिबद्ध रहेको प्रतिबद्धताको दोस्रो बुँदामा छ । 

त्यस्तै, उनीहरूले पार्टीको उपल्लो नेतृत्व तहमा देखिएको ध्वंसात्मक प्रकृतिको अन्तर्विरोधलाई मूर्त वा अमूर्त ढंगले टेलिभिजन, अनलाइन, पत्रपत्रिका, सामाजिक सञ्जाल, सडक–चोकहरू आदि माध्यमबाट सार्वजनिक ढंगले पक्ष–विपक्षमा अभिव्यक्ति दिनेमा सहभागी नहुन तथा त्यस प्रकारका पार्टी एकताविरोधी क्रियाकलापलाई रोक्न र निस्तेज पार्न प्रतिबद्ध रहेको पनि जनाएका छन् ।

सांसद गणेश पहाडीले नेतृत्वले एक ठाउँमा बसेर विधि, प्रक्रिया र प्रणालीभित्र बसेर समस्या समाधान नगरे दोस्रो चरणमा समाधानको विकल्पसहित हस्तक्षेपकारी भूमिका खेल्ने बताए । उनले अहिले पार्टीभित्रको अन्तर्विरोधलाई लिएर सडकमा भइरहेको पक्ष–विपक्षको नारा–जुलुस बन्द गर्नुपर्नेमा पनि जोड दिए ।

अर्का सांसद विशाल भट्टराईले भने, ‘अहिले हस्ताक्षर अभियान सञ्चालन ग¥यौँ, आवश्यक परे पार्टी कार्यालय र नेताहरूको घरमा धर्नासमेत दिनेछौँ । यो झगडा गरेर जुन गाईजात्राजस्तो भइरहेको छ, यो उचित छैन ।’

त्यस्तै, सांसद रामकुमारी झाँक्रीले अहिले पार्टी विभाजन गरेर फेरि यस्तै ठूलो पार्टी निर्माण गर्न कठिनाइ हुने बताइन् । उनले भनिन्, ‘अहिले पार्टी विभाजन गरेर सानो बोर्ड झुन्ड्याएको अर्काे पार्टी त बन्ला, तर मुलुक हाँक्ने पार्टी बन्दैन ।’

कुन् सांसदले के भने ? 

जीवनराम श्रेष्ठ – यतिवेला प्राथमिकता अरू नै छन्, तर पार्टीभित्र विवाद चलिरहेको छ । प्राथमिकता छुट्याएर त्यसअनुसार महत्व दिनुपथ्र्याे । तर, काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भनेझैँ भएको छ । कोभिडले भयावह रूप लिँदै छ, यस्तो अवस्थामा जनतालाई बचाउने सबैभन्दा महत्वपूर्ण लक्ष्य हुनुपर्ने थियो । जिम्मेवारीबाट पन्छिन कसैले पनि मिल्दैन । यहाँ दास छैनन् । नेताले भनेपछि जे पनि मान्ने भन्ने हुँदैन । पार्टीमा विवेक भएका व्यक्ति छन् । नेतृत्वलाई सम्झाउन चाहन्छौँ । विवाद समाधान बैठक बसेर गर्नुपर्छ ।

नारदमुनि राना – हिजो पार्टी एकता गर्दा सहमतिका आधारमा अघि बढ्ने भनिएको थियो । आज कहाँ पुग्यो ? मेरो क्षेत्रका जनता, मतदाता, कार्यकर्ता विगतमा गरिएको सहमति के भयो भनेर प्रश्न गरिरहेका छन् । शीर्ष नेताहरूलाई सोध्न चाहन्छु– सहमति के भयो ? पार्टी विभाजन गर्नु थियो भने एकता नै किन गरेको ? विगतमा सपना देखाएर यतिवेला कुठाराघात गर्ने अधिकार कसैलाई पनि छैन । जनताले दिएको म्यान्डेटलाई अन्तिम लक्ष्यसम्म पु¥याउन प्रयास गर्नुपर्छ । कदापि चोइटिएर जाने प्रयास गर्नुभयो भने हामी कतैतिर पनि लाग्दैनौँ । पार्टीमा विवाद ल्याएर के सिकाउँदै हुनुहुन्छ ? कस्तो स्कुलिङमा डोहो¥याउँदै हुनुहुन्छ ?

कृष्णप्रसाद दाहाल – विगतमा हामी विभिन्न कित्तामा छरिएर रहेकाले नेताहरूले हाम्रो टाउको मात्रै गने । अब त्यस्तो हुँदैन, हामी पार्टी एकताका पक्षमा मात्रै लाग्छौँ, पार्टी फुट्न दिँदैनौँ । त्यो तागत हामीसँग छ । विभाजनका लागि टाउको पु¥याउने होइन । हाम्रो टाउको गनेर पार्टी विभाजनको सपना देखेको हो भने पूरा हुन दिँदैनौँ । इगोका आधारमा पार्टी फुटाउन खोजेर हुँदैन । पार्टी हाम्रै कारण फुट्दैन, फुट्न दिँदैनौँ । पार्टी फुटाउने हस्ताक्षर गर्न हामी जाँदैनौँ । जनता र राष्ट्रको एकताका लागि पार्टी एकता गरिएको थियो ।

सुरेशकुमार राई – पार्टी फुट्न दिनुहुँदैन भन्दै हामीले नेतृत्वलाई दबाबका लागि हस्ताक्षर अभियान सञ्चालन गरेका छौँ । नेकपाका संघीय सांसद यो अभियानमा लागेका हौँ । पार्टीको सुदृढ एकता जरुरी छ । त्यसका लागि केन्द्रदेखि तल्लो निकायसम्मलाई हामी अपिल गर्न चाहन्छौँ । यतिवेला पार्टीभित्र गम्भीर अन्तर्विरोध आएको छ । अन्तर्विरोधले पार्टीलाई थिलथिलो बनाइरहेको छ । यस्तो अवस्थामा हामी सबै मिलेर पार्टीलाई एक बनाइराख्नुपर्छ ।

रामकुमारी झाँक्री – एउटा ऐतिहासिक कालखण्डमा एकता भएको पार्टीलाई विभाजन गरेर पुनः यही रूपमा, यस्तैगरी उठेर आउन धेरै कठिन छ । कोही पनि सदस्यहरूले पार्टी विभाजन गरेर सानो पार्टी बनाउँछौँ भन्ने सोच्नुभएको छ भने सानो पार्टी त बन्ला, तर मुलुकको नेतृत्व गर्ने शक्तिशाली पार्टी निर्माण हुन सक्दैन । अहिले तपाईंहरूको केको अलमल हो ? धेरै मान्छेले भन्ने गर्छन् कि यो पद प्राप्तिको कुरा हो । पद प्राप्तिका लागि व्यक्तिवादी प्रवृत्ति हाबी हुने कुरा विचारधाराको प्रश्न हो । हामी विचारधाराको हिसाबले असाध्यै धेरै स्खलित भएका छौँ । दक्षिणपन्थको बाटो हिँड्दै हो कि भन्नेजस्तो अवस्था देखिँदै छ । पछिल्लो पुस्तालाई तपाईंहरूले कस्तो पार्टी हस्तान्तरण गर्न खोज्दै हुनुहुन्छ, हामी यो प्रश्न नेताहरूलाई उठाउँदै छौँ । वैचारिक हिसाबले सही बाटोमा हिँडेको र संगठनका हिसाबले पनि सुदृढ कम्युनिस्ट पार्टी हाम्रो पुस्तालाई हस्तान्तरण गर्दै हुनुहुन्छ कि ध्वंस भइसकेको, खरानी मात्रै बाँकी बसेको पार्टी हस्तान्तरण गर्दै हुनुहुन्छ ? नेतृत्व गर्दैगर्दा हामीलाई कस्तो पार्टी हस्तान्तरण गर्न खोज्दै हुनुहुन्छ ?

क–कसले गरे हस्ताक्षर ?

१, अमनलाल मोदी, २. अञ्जना बिसंखे, ३. आशाकुमारी विक, ४. इन्दुकुमारी शर्मा, ५. कालिला खान, ६. कल्याणीकुमारी खड्का, ७. कृष्णप्रसाद दाहाल, ८. कृष्णभक्त पोखरेल, ९. कृष्णलाल महर्जन, १०. केदार सिग्देल, ११. गंगाबहादुर तामाङ, १२. गणेशकुमार पहाडी, १३. गणेशसिंह ठगुन्ना, १४. गोपीबहादुर अछामी, १५. गोमा देवकोटा, १६. गौरीशंकर चौधरी, १६. घनश्याम खतिवडा, १८. चाँदतारा कुमारी, १९. जयकुमार राई, २०. जीवनराम श्रेष्ठ, २१. झपटबहादुर रावल, २२. तीर्था गौतम, २३. थममाया थापा, २४. दामोदर भण्डारी, २५. दीपकप्रकाश भट्ट, २६. धर्मशीला चापागाईं, २७. ध्रुवकुमार शाही, २८. पार्वतीकुमारी बिसुंखे, २९. प्रेम आले, ३०. डा. विजय सुब्बा, ३१. भवानी खापुङ, ३२. भूपेन्द्र थापा, ३३. भैरवबहादुर सिंह, ३४. मनकुमारी जिसी, ३५. मेटमणि चौधरी, ३६. यज्ञबहादुर बोगटी, ३७. यज्ञराज सुनुवार, ३८. राजबहादुर बुढा, ३९. राजेन्द्रकुमार राई, ४०. राजेन्द्रप्रसाद गौतम, ४१. रामकुमारी झाँक्री, ४२. रामचन्द्र राई, ४३. लक्ष्मीकुमारी चौधरी, ४४. लालप्रसाद साँवा लिम्बू, ४५. विना पोखरेल, ४६. विशाल भट्टराई, ४७. शान्तिमाया तामाङ पाख्रिन, ४८. श्यामकुमार श्रेष्ठ, ४९. समिना हुसेन, ५०. सरिता न्यौपाने, ५१. सुदन किराँती, ४२. सुरेशकुमार राई, ५३. हेमकुमार राई, ५४. श्यामकुमार श्रेष्ठ, ५५. नन्दलाल रोका क्षेत्री, ६५. नरबहादुर धामी, ५७. नवराज सिलवाल, ५८. नारदमुनि राना, ५९. नारायणप्रसाद खतिवडा, ६०. पदम गिरी, ६१. रवीन्द्रराज शर्मा