मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण २५ आइतबार २१:२२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

विद्युत् मिटर ‘रिडिङ’ गर्न अब ग्राहकको घर जानु नपर्ने, महसुल नबुझाउनेको केन्द्रबाटै लाइन काटिने 

Read Time : > 1 मिनेट
२०७७ श्रावण २५ आइतबार २१:२२:००

नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आइतबार बुढानीलकण्ठ नगरपालिका–९ को वडा कार्यालय मन्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको सुरु गरेका छन् ।

देशभर ५० लाख सिंगल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका ग्राहकहरूको करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइसचिव दिनेशकुमार घिमिरेले मन्त्रालयले दुई वर्षअघि श्वेतपत्रमार्फत घोषणा गरिएको ५ वर्षभित्र स्मार्ट ग्रिड र मिटर लागू गर्ने कार्यक्रम कार्यान्वयन उत्साहजनक भएको बताए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा आगामी दिनमा २५ सयदेखि तीन हजारसम्म कर्मचारीको खर्च कम हुने जानकारी दिए । 

प्राधिकरणले पहिलो चरणमा देशभरका आठ हजार दुई सय २२ टाइम अफ डे (टिओडी) मिटरहरूलाई स्मार्ट बनाइसकेको छ । दोस्रो चरणमा देशभरका करिब एक लाख २५ हजार थ्री फेज होल करेन्ट मिटरहरूलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने काम भइरहेको छ । यस्ता करिब १८ हजार मिटर जडान भइसकेका छन् भने ६० हजार मिटर जडान भइरहेका छन् । नयाँ थ्री फेज मिटर सबै नै स्मार्ट जडान हुँदै आएको छ । 

स्मार्ट मिटरको प्रभावकारी प्रयोगका लागि आवश्यक ‘कम्युनिकेसन ब्याकबोन’ काठमाडौं उपत्यकाभरिलाई हुने गरी जडान गरिनेछ । यसको र सिंगल फेज स्मार्ट मिटर जडानको लागत करिब एक अर्ब रुपैयाँ रहेको छ । यसमा एसियाली विकास बैंकले सहुलियतपूर्ण ऋण दिएको छ । काठमाडौं उपत्यकामा हाल रहेका करिब चार लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्न बोलपत्र प्रक्रिया अगाडि बढाइएको छ ।  

स्मार्ट मिटरका यस्ता छन् फाइदा 
स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घर–घर धाएर मिटर रिडिङ गर्नुपर्दैन । विद्युत् खपतको डाटा दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा केन्द्रबाट मिटर रिडिङ गर्न सकिने र बिल नतिर्ने ग्राहकको लाइन पनि केन्द्रबाटै काट्न सकिनेछ । कसैले मिटर बाइपास गरी विद्युत् चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रणमा प्रभावकारी हुनेछ, नियन्त्रण हुन्छ । 

स्मार्ट मिटरमा हरेक घन्टाको महसुल फरक–फरक कायम गर्न सकिने हुँदा पिक, अफ पिक र नर्मल समयमा फरक–फरक महसुल तोक्न सकिनेछ । अब चाँडै वर्षायाममा बढी विद्युत् उत्पादन हुँदै छ, त्यसको खपत बढाउन सस्तो महसुल कायम गर्न सकिन्छ भने हिउँदयामको महसुल पनि फरक तोक्न सकिनेछ । स्मार्ट मिटरमा पोस्टपेड र प्रिपेड दुवै फङ्सन हुने हुँदा ग्राहकको इच्छाअनुसार पोस्टपेड र प्रिपेड गर्न सकिनेछ । ग्राहकले जुनसुकै ठाउँबाट अनलाइन बिल भुक्तानी गर्न सक्नेछन् ।