मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण २५ आइतबार २१:१४:००
Read Time : > 3 मिनेट
विश्व

कोरोना नियन्त्रण प्रयासमा यसरी लागेका छन् युरोपियन राष्ट्र

Read Time : > 3 मिनेट
२०७७ श्रावण २५ आइतबार २१:१४:००

युरोपियन राष्ट्रहरूले सुरुवातमा कोरोना भाइरसलाई हल्का रूपमा लिएका थिए । इटाली, बेलायत, जर्मनी र फ्रान्सजस्ता राष्ट्रले सतर्कता नअपनाउँदै ठूलै क्षति व्यहोरे । सुरुका दिनमा कोभिड–१९ (कोरोना) को सामान्य नियम पनि पालना नगर्दा यी राष्ट्रमा दैनिक संक्रमित संख्या बढ्दै गएका थिए । धेरै पछि मात्र युरोपियन राष्ट्रले कोभिड–१९ नियन्त्रणमा लिन लकडाउन लगाए । अहिले पनि लकडाउन यथावत् नै छ । युरोपिन राष्ट्रले कोभिड–१९ नियन्त्रणमा लिन चालेका कदम यस्ता छन् । 

स्पेनः बाहिरका व्यक्ति प्रतिबन्ध
स्पेनले ४ मेमा लकडाउन घोषणा गऱ्याे । सा–साना बालबालिकामा समेत कोरोना भाइरस देखिएपछि स्पेनिस सरकारले सुरुमा ६ साताका लागि लकडाउनको निर्णय गऱ्याे । यो ६ सातामा केही सहरमा कोरोना भाइरस नियन्त्रणमा आयो । बार्सिलोना, रियल म्याड्रिड, भ्यालेन्सिया सहर नियन्त्रित भए । तर जुलाईको मध्यतिर उत्तरी–पूर्वमा समुदायमा पुनः कोरोना भाइरसको लक्षण देखा पऱ्याे । त्यसपछि सरकारले घरमै बस्ने र कहीँ पनि हिँडडुल गर्न नपाउने आदेश जारी गऱ्याे । चार करोड बसोवास गर्ने क्याटलान राज्यमा यो नियम कडा बनाइएको छ । अहिले एटलेटिको म्याड्रिड र रियल म्याड्रिड सहरमा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने र भौतिक दूरी कायम राख्नुपर्ने नियम छ । यो समयमा स्पेनमा पर्यटक घुम्ने आउने समय हो । सरकारले बाहिरी मुलुकका व्यक्तिलाई रोक लगाएको छ । १४ दिनको क्वारेन्टाइन नियम यथावत् छ । 

जर्मनी : सतर्कता अपनाएर यात्रा गर्नुपर्ने

 


अप्रिल महिनामै जर्मनीमा लकडाउन भयो । मेतिर सरकारले सा–साना पसल खोल्ने अनुमति दियो । पसल मात्र होइन, त्यहाँ स्कुलहरू पनि खुल्न थाले । कोरोना भाइरसको महामारी यथावत् रहँदा पनि मेमा नै चर्चित बुन्डेस लिगा फुटबल प्रतियोगिता दर्शकरहित सुचारु गरिएको थियो । पछिल्लो समय कोभिड–१९ को संक्रमित संख्या बढ्न थालेपछि २३ जुलाईमा पुनः केही सहरमा लकडाउन लागू भएको छ । सरकारले २७ जुलाईमा कोभिड–१९ नियन्त्रण गर्न अनिवार्य रूपमा बढी भिडभाड हुने घरेलु तथा अन्तर्राष्ट्रिय विमानस्थलमा सब यात्रुहरूको परीक्षण हुने बताएको छ । सरकारले जोखिमपूर्ण अवस्थामा रहेकाले उच्च सतर्कता अपनाएर यात्रा गर्न आग्रह गरेको छ । कोभिड–१९ को महामारीको उच्च जोखिम भएका सहरमा तत्कालै लकडाउन हुने सम्भावना छ । 

फ्रान्स : समूहमा भेट्न नपाइने
१७ मार्चमा लकडाउन सुरु भएको फ्रान्समा ११ मेमा खुकुलो भयो । जुलाई महिनामा पूर्ण रूपले लकडाउन हटेको अवस्था छ । फ्रान्स सरकारले सर्वसाधारणलाई अनिवार्य रूपमा मास्क लगाउन निर्देशन दिएको छ । धेरै संक्रमित भएको सहर वा स्थानमा घुमघाम नगर्न आग्रह गरिएको छ । पछिल्लो समय दक्षिण–पश्चिममा पर्ने मायेन क्षेत्रमा समुदायभित्र कोभिड–१९ फैलिएको बताइएको छ । यहाँ सरकारले मास्क तथा स्यानिटाइजर अनिवार्य बोक्न भनेको छ । साथै दशजनाभन्दा बढी समूह नबनाउन भनिएको छ । यो नियम होटेल, रेस्टुरेन्ट तथा सामुद्रिक किनारमा लागू गरिएको छ ।

इटाली : पयर्टक र धार्मिक क्षेत्र बन्द
युरोपमा कोरोना भाइरस द्रुतगतिमा फैलिएको इटाली नै हो । असावधानीका कारण सुरुमा इटालीमा कोभिड–१९ महामारी एकैपटक फैलियो । इटालीमा ७ मार्च मात्र लकडाउन घोषणा भयो । यसको दुई महिनापछि लकडाउन खुला भएको छ । कोभिड–१९ बाट सुरक्षित रहन विभिन्न नियम अपनाउनुपर्ने बताउँदै सरकारले रेस्टुरेन्ट, कपाल काट्ने सप, पयर्टकीय क्षेत्र तथा संग्रहालय खुला गरेको हो । ३ जुनमा इटाली अन्तर्राष्ट्रिय सिमाना पनि खुला गरेको छ । तर, सरकारले क्षेत्रीय पयर्टकीय घुमघाममाथि प्रतिबन्ध नै लगाएको छ । जुलाईमा रोम सहरमा पुनः कोभिड–१९ का संक्रमण देखा पऱ्याे । यहाँमात्र होइन लाजियोमा समेत संक्रमित व्यक्ति भेटिए । त्यसछि प्रहरीले रोमको चर्चित पयर्टकीय इलाका तथा क्लब बन्द गरेकोछ । जहाँ–जहाँ भौतिक दूरी कायम नराखी क्लब खोलेका छन्, प्रशासनले ती सबै बन्द गरेका छन् । 

बेल्जियम : नाइट क्लब बन्द 
युरोपमा कोरोना भाइरस महामारीका रूपमा फैलिँदा बेल्जियमका नागरिकले नियमित दिनचर्या बिताइरहेका थिए । सरकारले मेको सुरुवातमै पसल, स्कुल, मार्केट, संग्रहालय, जु, कपाल काट्ने पसल तथा ब्युटी सलोन पूर्णतया खुला गऱ्याे । यसैगरी रेस्टुरेन्टमा एक टेबलमा चारजनाभन्दा बढी बस्न नपाइने नियम छ । यदि परिवार रेस्टुरेन्टमा खाना गएको छ भने उनीहरू एकै टेबलमा बस्न सक्छन् । १ जुलाईदेखि खेलकुद तथा धार्मिक स्थल खुला गरिएको छ । सरकारले दुई सयभन्दा बढी दर्शक नहुने गरी खेल क्षेत्र सुचारु गर्न अनुमित दिएको छ । इन्डोरमा चार सयजना दर्शक जान सक्छन् । पछिल्लो साता बेल्जियममा कोभिड–१९ नयाँ संक्रमित देखिएको छ । अन्टवेप सहरमा जुलाई महिनाको अन्त्यसँगै संक्रमित बढेपछि यहाँ सतर्कता अपनाइएको छ । धेरै संक्रमित भएका स्थानमा कर्फ्युसमेत लगाउने सरकारको तयारी छ । कोभिड–१९ नियन्त्रणमा लिन सरकारले सेप्टेम्बरको पहिलो सातासम्म नाइट क्लब, सभा तथा संस्कृति कार्यक्रममाथि रोक लगाएको छ । 

नेदरल्यान्ड्स : अनिवार्य १.५ मिटर भौतिक दूरी
नेदरल्यान्डको छिमेकी बेल्जियममा सबै क्षेत्र खुला हुने क्रममा छ । नेदरल्यान्ड्सले पनि छिमेकीकै बाटो पछ्याउँदै पसल, बार, क्याफे, रेस्टुरेन्ट, कपाल काट्ने पसल तथा संग्रहालय खुला पारेकोछ । १ जुलाईदेखि लकडाउन खुकुलो भएसँगै सबै क्षेत्र खुला हुने प्रयासमा छ । तर, अहिले पनि सरकारले केही निश्चित क्षेत्रमा कडा बनाएकै छ । व्यक्ति जहाँ रहे पनि कम्तीमा भौतिक दूरी १.५ मिटर हुनु नै पर्छ । यदि सुरक्षाकर्मीले भौतिक दूरी कायम नगरेको भेटाए ती व्यक्तिहरू कारबाहीमा पर्न सक्छन् । 

पोर्चुगल : नाइट क्लब बन्द


दक्षिण युरोपमा कोरोना भाइरसले खासै प्रभाव नपारेको राष्ट्र हो पोर्चुगल । सरकारले प्रत्येक १५ दिनमा सबै क्षेत्र अनुगमन गरेको हुन्छ । युरोपका अन्य राष्ट्रमा कोभिड–१९ फैलिरहँदा पोर्चुगलमा रेस्टुरेन्ट, क्याफे, संग्रहालय तथा सामुद्रिक किनारा सर्वसाधारणका लागि खुला नै थियो । सरकारले १ जुलाईदेखि सबै क्षेत्र खुला गरेको थियो । तर, सरकारले समुदायमा भाइरस फैलिन सक्ने सम्भावना भएका ती क्षेत्र बन्द राखेको छ । अहिले नाइट क्लब खुल्ने प्रतीक्षामा ग्राहक छन् । बेलायतले आफ्ना नागरिकलाई पोर्चुगलको यात्रा नगर्न भनेको छ । यो समयमा धेरैजसो ब्रिटिस नागरिक पोर्चुगल घुम्न जान्छन् । 

ग्रिस : विमानस्थलमै परीक्षण
२६ फेब्रुअरीमै ग्रिसमा कोरोना भाइरसको पहिलो केस फेलापरेको थियो । तत्काल सरकाले लकडाउन घोषणा गऱ्याे । अप्रिलको मध्यतिर बिस्तारै लकडाउन खुकुलो भयो । २९ जुलाईसम्म पनि कोरोना नियन्त्रणमा रहेको सरकारले जनाएको छ । सुपर मार्केट, क्याफे, बैंक तथा सरकारी कार्यालय पुरानै अवस्थामा फर्किएका छन् । सरकारले विमानस्थलमा आउने सबै यात्रुहरूको कोरोना परीक्षण गर्ने निर्णय गरेको छ । कोरोना परीक्षण गर्न हरेक यात्रुले ७० पाउन्ड खर्चनुपर्छ । (एजेन्सीहरूको सहयोगमा)