मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण २५ आइतबार १८:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

भारतीय विदेशमन्त्रीले बुद्धलाई भारतीय भनेपछि विरोध, नेपालले सम्झायो ६ वर्षअघिको मोदीको सम्बोधन

परराष्ट्रले भन्यो : गौतम बुद्ध र बौद्धधर्म नेपालको 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २५ आइतबार १८:११:००

परराष्ट्र मन्त्रालयले भारतीय विदेशमन्त्री एस. जयशंकरलाई प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा ६ वर्षअघि  गौतम बुद्धको जन्म नेपालमा भएको अभिव्यक्ति दिइएको स्मरण गराएको छ । विदेशमन्त्री जयशंकरले शनिबार दिल्लीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गौतम बुद्धलाई महात्मा गान्धीसँग जोडेर महान् भारतीय भनेका थिए । जयशंकरको अभिव्यक्तिप्रति सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसका शीर्ष नेता तथा कूटनीतिक समुदायले चर्को विरोध गरेपछि परराष्ट्रले ध्यानाकर्षण गराएको हो ।

‘०७१ सालमा नेपाल भ्रमणका क्रममा संसदमा सम्बोधनका क्रममा भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदी आफैँले भन्नुभएको थियो कि नेपाल एक यस्तो देश हो जहाँ विश्वमा शान्तिका प्रतीक बुद्धको जन्म भएको थियो,’ परराष्ट्र मन्त्रालयद्वारा जारी प्रेसनोटमा भनिएको छ । 

‘भारतका विदेशमन्त्रीद्वारा गौतम बुद्धका सम्बन्धमा दिइएको अभिव्यक्तिबारे सञ्चारमाध्यमहरूद्वारा सोधिएको प्रश्नमा’ भन्दै परराष्ट्रले आइतबार अपराह्न प्रेसनोट जारी गरेको छ । प्रेसनोटमा भनिएको छ, ‘गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेको विषय ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले प्रमाणित गरेको  एक स्थापित र निर्विवाद तथ्य हो । बुद्धको जन्मस्थान र बौद्धधर्मको जग लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका स्थानहरूमध्येको एक हो ।’

नेपालले बौद्ध धर्म नेपालपछि विश्वका विभिन्न भागमा फैलिएको सत्यतर्फ पनि ध्यानाकर्षण गरेको छ । ‘यो विषय कुनै विवाद वा शंकाभन्दा बाहिर छ र यो बहसको विषय पनि हुन सक्दैन । सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय यसबारे जानकार छ ।’