Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण २५ आइतबार १६:२३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिसिएमसीका संयोजक पोखरेललाई उपत्यका नगरपालिका फोरमको सुझाब– नाकामा कडाइ गरौँ

Read Time : > 1 मिनेट
२०७७ श्रावण २५ आइतबार १६:२३:००

उपत्यका नगरपालिका फोरमले कोभिङ– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आइतबार रक्षा मन्त्रालयमा छलफल गरेको छ ।

फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले छलफल गरेका हुन् ।

संयोजक पोखरेलसँग पछिल्लो समय उपत्यकामा बढ्दै गएको कोरोना संक्रमणको नियन्त्रण र यसका लागि चाल्नुपर्ने सकारात्मक कदमलगायतका विषयमा छलफल भएको फोरमका अध्यक्ष शाक्यले जानकारी दिए ।

‘काठमाडौं उपत्यका मुलुकको राजधानीसमेत हो । यहाँको घनाबस्तीयुक्त क्षेत्रमा कोरोना संक्रमण समुदायस्तरमा पुग्ने खतरा रहेको अवस्थामा यहाँ प्रवेश गर्ने नाकामा कडाइ गर्न हामीले सिसिएमसीका संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलज्यूलाई आग्रह गरेका छौँ,’ शाक्यले भने, ‘हामीले उपत्यकावासीको मागबारे जानकारी गराएका छौँ । उहाँले हाम्रो सुझाबलाई सकारात्मक रूपमा लिनुभएको छ । आजै सिसिएमसीको बैठक बोलाएर यी सवालहरूमा गम्भीरताका साथ छलफल गर्छौँ भनेर उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।’

छलफलका क्रममा फोरमको तर्फबाट तेस्रो मुलुकबाट आउन सक्ने ठूलो संख्याका यात्रुलाई ध्यानमा राखी क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावलीअनुसार रहने गरी एकीकृत क्वारेन्टाइन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गर्दा उपयुक्त हुने सुझाब दिएको शाक्यले जानकारी दिए । 

‘उपत्यकामा समुदायस्तरमा संक्रमण जान सक्ने खतरालाई ध्यानमा राखी सरकारको विरोध र समर्थनमा ऱ्याली, भेला, अनशन, जुलुसलगायतका गतिविधिमा कडाइ गर्न पनि हामीले सुझाब दिएका छौँ,’ मेयर शाक्यले भने, ‘जात्रा–पर्व विधिपूर्वक सामान्य रूपमा मनाउन र भिडभाडका साथ नमनाउन स्थानीयलाई आग्रह गरेका छौँ । सरकारको समर्थन र विरोधका नाममा हुने जुलुस, अनशनलगायतले संक्रमणको खतरा बढी हुने भएकाले त्यस्ता कुरामा पूर्ण रोक लगाउन हामीले सुझाब दिएका छौँ ।’

मेयर शाक्यले अहिले सरकारको नियमको पालना नगरी जथाभावी रूपमा लुकिलुकी उपत्यका भित्रिने गरेको र उनीहरूका कारण समुदायस्तरसम्म कोरोना संक्रमण फैलिने खतरा रहेको भन्दै त्यस्ताहरूलाई कारबाहीको दायरामा ल्याउने व्यवस्था गर्नसमेत आग्रह गरे । 

त्यसैगरी, छलफलमा फोरमका सचिव श्रेष्ठले संक्रमण सर्न सक्ने सम्भावनलाई न्यूनीकरण गर्न मास्क उपयुक्त र अनिवार्य भएको तथ्यलाई ध्यानमा राखेर मास्क नलगाई आवत–जावत गर्ने तथा मास्कलाई उपयुक्त रूपमा प्रयोग नगर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन सुझाब दिएको जानकारी दिए ।

‘सार्वजनिक यातायात पूर्ण रूपमा सञ्चालन भएपछि संक्रमण दर तीव्र भइरहेको स्थितिलाई ध्यानमा राखी पुनः जोर–बिजोर प्रणली लागू गरिएकोमा संक्रमणलाई नियन्त्रणमा राख्न सार्वजनिक यातायात सञ्चालनमा तीन हप्ता पुनः रोक लगाउनुपर्ने तथा अरू सवारीसाधनमा जोर–बिजोर लागू गर्नुपर्ने सुझाब दिएका छौँ,’ श्रेष्ठले भने, ‘उपत्यकामा संक्रमणको जोखिमयुक्तबाट स्थानबाट प्रवेश गरेका निर्माण क्षेत्रका मजदुर, कवाडी संकलक, डेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापारीलाई व्यवस्थित गर्नुपर्ने सुझाब दिएका छौँ । जसका लागि तरकारी व्यापारलाई साँझ–बिहान मात्र खोल्न दिने, निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साइकलमार्फत गरिने व्यापारलाई तीन हप्ताका लागि निषेध गर्न सुझाब दिएका छौँ ।’

आर्थिक गतिविधिलाई चलायमान बनाउन लकडाउन खुकुलो बनाइएको अवस्थामा व्यापारिक क्षेत्र तथा सपिङ महलहरू संक्रमणको उच्च जोखिम रहने भएकाले सो क्षेत्रमा मापदण्डको पूर्ण पालना गर्न र गरे–नगरेको बुझ्न नियमित अनुगमन गर्नुपर्ने सुझाब पनि फोरमले दिएको छ ।

फोरमले कोरोना संक्रमण फैलिरहेको अवस्थामा सामाजिक सुरक्षा भत्ताको नवीकरणका लागि वृद्ध–वृद्धा बाहिर निस्किने र संक्रमणको खतरा बढी हुने भन्दै त्यसको नवीकरणका लागि म्याद थप गर्न पनि सुझाब दिएको छ ।

फोरमका अध्यक्ष शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र सचिव श्रेष्ठसहितको शनिबार बसेको छलफलले आज मन्त्री पोखरेललाई भेटी सुझाब दिने निर्णय गरेको थियो ।

फोरमको बैठक सोमबार बस्ने तय भएको छ ।