मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण २५ आइतबार १३:४४:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना कहर : जुम्लाको चन्दननाथ नगरपालिकामा निषेधाज्ञा

Read Time : > 1 मिनेट
२०७७ श्रावण २५ आइतबार १३:४४:००

समुदायमा कोरोना भाइरस फैलिएपछि जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका र तिला गाउँपालिका– ५ ढिमकोट गाउँमा निषेधाज्ञा जारी गरिएको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रतिवेदनअनुसार कोरोना संक्रमण देखिएकोले दुई स्थानीय तहमा दिउँसो ३ बजेदेखि निषेधाज्ञा गरिएको हो । 

चन्दननाथ नगरपालिका– १ का एकजना पुरुष, वडा नं. ३ की एकजना महिला र वडा नं. ६ का एकजना पुरुषमा कोरोना संक्रमण देखिएकोले थप संक्रमण फैलिन नदिनका लागि नगरपालिका सिल पनि गरिएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । 

त्यसैगरी तिला गाउँपालिका– ५ ढिमकोट गाउँमा एकजना महिलामा कोरोना संक्रमण भेटिएको छ । 

चन्दननाथ नगरपालिकाको हकमा पूर्वको दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदीको क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । 

त्यसैगरी तिला गाउँपालिका– ५ ढिमकोट गाउँको पूर्वमा चुलाकोट, पश्चिममा जुगामूल, उत्तरमा डुङ्ग्री गाउँ र दक्षिणमा खोलीगाउँको चारकिल्लाभित्र निषेधाज्ञा जारी गरिएको छ । 

औषधि र स्वास्थ्य सेवाबाहेक अन्य सम्पूर्ण क्रियाकलाप पूर्ण रूपमा बन्द गर्न जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधाज्ञा जारीको सूचना प्रकाशित गरेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।  

आइतबार दिउँसो ३ बजेदेखि गरिएको निषेधाज्ञा जारी अर्काे निर्णय नहुँदासम्मको लागि संक्रमण रोग ऐन, २०२० को दफा २(२) तथा स्थानीय प्रशासन ऐन, २०२८ दफा ६(३) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । 

यसअघि जुम्लामा ६९ जानलाई कोरोना भाइरस संक्रमण देखिए पनि सबैजना निको भएर घर फिर्ता भएका थिए । 

तर, कनकासुन्दरी गाउँपालिका– ३ लुम गाउँकी एकजना महिला र जुम्लाको सदरमुकाम खलंगाका निको भएर घर पठाएको तीनजना व्यक्तिमा पुनः संक्रमण देखिएको छ । 

गाउँघर मेलापर्वमा भिडभाड नगर्न आग्रह 
यतिवेला जुम्लामा धार्मिक रूपमा मेलापर्व लाग्ने गरेका छन् । 

देवीदेवता मठमन्दिरमा पूजाआजा गर्ने र मानिसको भेला हुने भएकोले जिल्ला प्रशासन कार्यालय जुम्लाले मेलापर्व पनि गर्नुपर्नेमा जोड दिएको छ । 

मेलापर्वमा जनमानसको भेला हुने र कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरा देखिएकोले मेलापर्व बन्द गर्न प्रशासनले आग्रह गरेको हो ।