१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २५ आइतबार ०७:२३:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

कोभिड–१९ उपचारको थप तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २५ आइतबार ०७:२३:००

नेपालमा स्थानीय रूपमा कोरोनाको संक्रमण बल्ल विस्तार हुन थालेको छ । साउनका तीन साताभित्र फैलिँदै गएको संक्रमण क्लस्टर–क्लस्टर हुँदै समुदायमा फैलिनतिर उन्मुख छ । पहिले लामो समयसम्म आयातित संक्रमणको व्यवस्था पनि गर्नुपरेको थियो । त्यतिवेला सहज के थियो भने त्यसरी विदेशबाट नेपाल फर्केका संक्रमितको उमेर समूह मूलतः १७ देखि ५० वर्षको बीचमा थियो । अधिकांशमा संक्रमणका लक्षण देखिएको थिएन । त्यतिवेला फाट्टफुट्ट मात्र गम्भीर प्रकृतिका बिरामी भए । २० हजारजति संक्रमण हुँदा मृत्यु हुनेको संख्या चार दर्जनभन्दा कम थियो । जे–जतिको मृत्यु भयो, त्यो पनि समयमा उपचार नपाएर भएको थियो । त्यही भएर प्रधानमन्त्रीले नेपालीले बेसारपानी र तातोपानी पिउँदै कोरानालाई हाच्छिउँ गरेर उडाइदिनुपर्ने जस्ता औपचारिक दाबी गर्दै आएका थिए । र, त्यति वेला नेपाल कोरोना नियन्त्रणमा सफल भएको दाबी पनि सत्ताधारीले गर्दै आइरहेका थिए । 

समय छँदै आइसोलेसन कक्षहरू थप गरिएन, धेरैभन्दा धेरै बेडको व्यवस्था गरेर संक्रमित भएका अथवा लक्षण देखिएका सबैलाई आइसोलेसनमा लगी उपचार गर्ने प्रबन्ध गर्न सकिएन भने यसले अकल्पनीय मानवीय संकटतिर धकेल्नेछ ।

हुँदाहुँदा सत्तासीनहरू एउटालाई अर्कोले सफलताका लागि बधाई दिने तहसम्म पुगेका थिए । तर, लकडाउन खोलेयताका १७ दिनमा जे–जस्तो ढंगले संक्रमण बढेको देखिएको छ, त्यसले नेपालले अब कोरोना संक्रमणको समस्यासँग वास्तविक रूपमै सामना गर्न लागेको अवस्थातर्फ संकेत गर्छ । पछिल्लो समय मोरङ, सप्तरी, पर्सा, बारा, कपिलवस्तु, बाँके तथा काठमाडौं उपत्यकामा जे–जस्तो संख्यामा संक्रमण विस्तार भएको छ, त्यसले आयातित संक्रमणको भन्दा भिन्न चरित्र देखाएको छ । अब ३० प्रतिशतजति संक्रमितमा लक्षण देखिन थालेको छ । त्यो विश्वको औसतभन्दा अलि बढी हो । मृत्युदर पनि ह्वात्तै बढेको छ । पछिल्ला २० दिनभित्र झन्डै २५ जनाको ज्यान गएको छ ।

लक्षणसहितका संक्रमितहरूको संख्या बढेसँगै तिनलाई अस्पतालमा राखेर चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गराउनुपर्ने बाध्यता छ । तर, हाम्रोमा जे–जति स्वास्थ्य सेवा–सुविधा उपलब्ध छ, त्यसको क्षमता सीमित छ । पछिल्लो समय विराटनगर, वीरगन्ज र काठमाडाैंमा समेत संक्रमितलाई व्यवस्थापन गर्न नसकी घरमै बसेर सुरक्षित हुन आग्रह गरिएको छ । यसरी घरमा बस्नु लक्षण नभएकाका लागि त स्वाभाविक होला, तर लक्षणसहितका बिरामीलाई जे–जस्तो चिकित्सकीय सहयोग चाहिने हो, त्यो घरमा बसेर पाउन सम्भव हुन्न । यस्तो अवस्थामा सबै नेपालीलाई घरमै सुरक्षित बसेर अलगाव व्यवस्थापन गर्न पनि त्यति सम्भव देखिँदैन । 

कोही बिरामी चिकित्सक या स्वास्थ्यकर्मीको निगरानीविना घर बस्यो भने उसले परिवार र परिवारमार्फत छर–छिमेकमा संक्रमण सार्न सक्ने जोखिम पनि त्यति नै छ । र, सामाजिक चरित्रका हिसाबले कोरोना संक्रमित परिवारले छिमेकीबाट सहयोगको पाउनुको साटो लाञ्छित हुनुपर्ने सम्भावना पनि उत्तिनै छ । त्यसैले समय छँदै आइसोलेसन कक्षहरू थप गरिएन, धेरैभन्दा धेरै बेडको व्यवस्था गरेर संक्रमित भएका अथवा लक्षण देखिएका सबैलाई आइसोलेसनमा लगी उपचार गर्ने प्रबन्ध गर्न सकिएन भने यसले अकल्पनीय मानवीय संकटतिर देशलाई धकेल्ने जोखिम छ । संक्रमित धेरै भए भने उपचार गर्न सकिन्न भनेर सरकारले नै वक्तव्यबाजी गरिरहेको देखिनु लाजमर्दो अवस्था हो । अझै संक्रमण र मृत्युको दर भयावह नहुँदै आवश्यक तयारीमा ध्यान दिनु नै यो संकटबाट पार पाउने विकल्प हो ।