मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण २५ आइतबार ०५:५९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

गर्भवतीलाई कोरोना देखिएपछि  भेरी अस्पतालको प्रसूति वार्ड सिल

Read Time : < 1 मिनेट
२०७७ श्रावण २५ आइतबार ०५:५९:००

भेरी अस्पताल नेपालगन्जमा भर्ना भएकी गर्भवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रसूति वार्ड सिल गरिएको छ । पश्चिम रुकुम चौरझारीकी गर्भवती बुधबार अस्पतालको प्रसुति वार्डमा भर्ना भएकी थिइन् । 

शिशु जन्मिने समय पुगिसकेकाले बिहीबार शल्यक्रिया गर्ने तयारी थियो । शल्यक्रियाको तयारी भइरहेका वेला अचानक ज्वरो आएपछि कोरोना भाइरस परीक्षण गरिएको थियो । शनिबार आएको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । 

गर्भवतीलाई कोरोना पोजेटिभ देखिएपछि कोहलपुरस्थित शिक्षण अस्पताल लग्न लागिएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । कोहलपुर शिक्षण अस्पताल कोभिडको ३ लेभलको अस्पताल हो । जटिल खालका कोरोना संक्रमित बिरामीको उपचार त्यहीँ हुने गरेको छ । यसअघि कोहलपुर अस्पतालमा तीनजना कोरोना संक्रमितको सफलतापूर्वक शल्यक्रिया गरिएको थियो । 

प्रसूति वार्डलाई सिल गरी आउजाउ बन्द गरिएको डा. थापाले बताए । प्रसूति वार्डलाई स्यानिटाइज गरेपछि मात्रै सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ । कोरोना संक्रमण देखिएकी गर्भवती तीन दिन प्रसूति वार्डमा बसेकाले अन्य बिरामी र स्वास्थ्यकर्मीको पनि कोरोना परीक्षण गर्न लागिएको छ ।