१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सागर चन्द काठमाडाैं
२०७७ श्रावण २५ आइतबार ०५:३५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सरकार र ‘इनफ इज इनफ’बीच  फेरि सम्झौताको तयारी

Read Time : > 1 मिनेट
सागर चन्द, काठमाडाैं
२०७७ श्रावण २५ आइतबार ०५:३५:००

आर्थिक पारदर्शिताबाहेक अन्य विषयमा सहमति, आज हस्ताक्षरको सम्भावना सरकार र ‘इनफ इज इनफ’ अभियानबीच सहमतिको मस्यौदा तयार भएको छ । आइतबार बिहान मन्त्रालयका प्रतिनिधि र ‘इनफ इज इनफ’ अभियानबीच समझदारीपत्रमा हस्ताक्षर हुने अभियन्ता आलोक सुवेदीले बताए । सरकार र अभियानबीच सहमतिमा हस्ताक्षर भए कोभिड–१९ को सबल व्यवस्थापनसहितका माग राखेर २३ दिनदेखि आमरण अनशनमा बसेका अभियन्ता ईःले पनि अनशन तोड्नेछन् । 

‘सहमतिको मस्यौदा तयार भएको छ । हाम्रा १५ बुँदे माग समावेश गरेर १२ बुँदे बनाइएको छ,’ अभियन्ता सुवेदीले भने, ‘हस्ताक्षर हुन वाँकी छ । नाटकीय घटनाक्रम केही भएन भने आइतबार मन्त्रालयका प्रतिनिधि र अभियानबीच हस्ताक्षर हुनेछ ।’ मन्त्रालयका प्रतिनिधि र अभियानबीच बुधबारदेखि लगातार छलफलपछि सहमति जुटेको हो । 

‘इनफ इज इनफ’ले राखेका आर्थिक पारदर्शिताबाहेकका अन्य मागप्रति मन्त्रालय सकारात्मक देखिएको सुवेदीले बताए । ‘आर्थिक पारदर्शिताको विषय स्वास्थ्य मन्त्रालयको मातहतमा नपरेको हुँदा अन्य मन्त्रालयलाई पत्राचार गरेर जानकारी दिने सहमति भएको छ,’ उनले भने । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्चको पारदर्शितामाथि प्रश्न उठेका छन् । 

अभियन्ता सुवेदीका अनुसार क्वारेन्टाइन व्यवस्थापन गर्ने, जोखिम समूहमा रहेकाको पिसिआर निःशुल्क गर्ने, दक्ष जनशक्ति र उपलब्ध स्रोत–साधनलाई कोभिड–१९ व्यवस्थापनमा परिचालन गर्ने, फ्रन्टलाइनमा खटिएकाको सुरक्षामा विशेष ध्यान दिने र सचेतना कार्यक्रम फैलाउनेलगायत विषयमा सरकारसँग सहमति भएको छ । यसबाहेक विज्ञहरूसँगको छलफल र अन्तर्राष्ट्रिय अभ्यास हेरेर आरडिटी परीक्षण गर्ने, स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) उपलब्ध गराउने, संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्र्याक ट्रेसिङ व्यापक बनाउने विषयमा मन्त्रालयसँग सहमति जुटेको अनशनरत ईःले बताए ।

शुक्रबार र शनिबार स्वास्थ्य मन्त्रालयका तर्फबाट स्वास्थ्यविज्ञ सल्लाहकार जनस्वास्थ्यविद् डा. खेम कार्की तथा अभियन्ता आलोक सुवेदी, सञ्जय अधिकारी र चिकित्सा मानवशास्त्री डा. सचिन घिमिरेबीच छलफल भएको थियो । त्यसअगाडि अभियानका प्रतिनिधि र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग १६ र उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग १८ साउनमा छलफल भएको थियो । छलफलमा मन्त्रीद्वयले माग पूरा हुने भन्दै अनशन तोड्न आग्रह गरेका थिए । 

वसन्तपुर दरबार स्क्वायरमा ३ साउनमा आमरण अनशन सुरु गरेका ईःको स्वास्थ्य बिग्रिएपछि अनशनको १७औँ दिन अस्पताल भर्ना भएका थिए । तर, उनले अस्पतालमा समेत अनशनलाई निरन्तरता दिएका थिए । पहिलोपटक उनीसहित पुकार बम, सुविना कक्षपति र सुदन गुरुङ पाटन दरबार स्क्वायरमा अनशन बसेका थिए । १८ असारमा अनशनकारी युवालाई भेट्न अस्पताल नै पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले माग पूरा गर्ने वाचा गरेका थिए । अनशनको १२औँ दिन सरकार र ‘इनफ इज इनफ’बीच १२ बुँदे सहमति भएको थियो । तर, सहमति कार्यान्वयन नभएको भन्दै ‘इनफ इज इनफ’ले अनशन र शान्तिपूर्ण आन्दोलन थालेको थियो । तर, आन्दोलनमा प्रहरीले धरपकड गर्दै आएको थियो ।