सरकारले होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितका लागि मापदण्ड तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यक्ति घरमै आइसोलेसनमा बस्न चाहेमा उसले पालना गर्नुपर्ने मापदण्ड सार्वजनिक गरेको हो ।
होम आइसोलेसनमा संक्रमितले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, उपचार अवधिभर आवश्यक पर्ने सामानहरू परिवारका सदस्यहरूसँग मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खानुपर्ने, आफूले प्रयोग गरेका भाँडाहरू सुरक्षित रूपमा सफा गरेर राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयाग गर्नुपर्ने, स्नानघर वा शौचालयको छुट्टै व्यवस्था मिलाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
सामूहिक रूपमा शौचालयको प्रयोग गर्नुपर्ने अवस्थामा संक्रमितले प्रयोग गरेपछि राम्रोसँग डिसइन्फेक्सन गरेर मात्रै अरूले प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको छ । यस्तै ब्रसलगायतका सामान बेसिनबाहेक अन्य स्थानमा छुट्टै राखेर प्रयोग गर्ने, घरका ढोका, टेबललगायत धेरै व्यक्तिले चलाउने सम्भावना रहेका सामान समयसमयमा डिसइन्फेक्सन गर्ने, भाँडा र कपडा पञ्जा लगाएर धुने र राम्रोसँग सुकाएर मात्र प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको छ ।
संक्रमितको हेरचाहमा रहने व्यक्तिले अनिवार्य मेडिकल मास्क प्रयोग गर्नुपर्ने उल्लेख गर्दै उनले बढी जोखिममा रहने समूह (दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी महिला) लाई टाढा राख्नुपर्ने बताए ।
यस्तै दिनमा तीनपटक ज्वरो जाँच गरी रेकर्ड राख्ने र सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने उनले बताए । संक्रमितलाई स्वास प्रश्वासमा कठिनाइ भएमा, छाती दुखेमा, ओठ अनुहार निलो भएमा, होस हराएमा र अन्य जटिल अवस्था देखिएमा तत्काल स्वास्थ्यकर्मीलाई जानकारी गराउन पनि उनले आग्रह गरेका छन् ।
स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले दिनमा कम्तीमा दुईपटक संक्रमितको स्वास्थ्य अवस्थाबारेमा जानकारी दिनुपर्ने, हरेक स्थानी तहले ५० जना संक्रमितका लागि एकजना स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने उनले बताए । स्वास्थ्यकर्मी वा नर्सले एकजना बिरामी हेरेबापत दिनको दुई सय रुपैयाँका दरले पारिश्रमिक पाउने व्यवस्था गरिएको गौतमले जानकारी दिए ।