मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २४ शनिबार १३:३६:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल नागरिक उड्डयन प्राधिकरणको आर्थिक वर्षको बजेट ४१ अर्ब ११ करोड तीन लाख

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २४ शनिबार १३:३६:००

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आर्थिक वर्ष २०७७/०७८ का लागि ४१ अर्ब ११ करोड तीन लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । 

प्राधिकरणले निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताएको छ । क्यानले सार्वजनिक गरेको नीति तथा कार्यक्रम एवं बजेटमा विमानस्थलको विकास र स्तरोन्नति गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ ।

क्यानले चालु आर्थिक वर्षको बजेट गत आर्थिक वर्षको भन्दा ५ अर्ब ८५ करोड रुपैयाँले कम विनियोजन गरेको हाे । 

गत आर्थिक वर्ष २०७६/०७७ मा क्यानले ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । यस वर्ष कोभिड १९ का कारण विमानस्थलहरु बन्द रहदा आम्दानी घट्ने भएकाले बजेटको आकार कम गरिएको प्राधिकरणले बताएको छ । 

चार महिना यता प्राधिकरणका क्रियाकलाप बन्द भएकाले नीति तथा कार्यक्रममा कुनै नयाँ कार्यक्रम समावेस भएको छैन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति सँगसँगै प्राधिकरणको संस्थागत सुधार, सञ्चार उपकरण, सुरक्षा उपकरण र मौसमी उपकरण जडान गर्ने विषयले प्राथमिकता पाएको छ । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गरी चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य पनि क्यानको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न २ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पनि यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य क्यानले लिएको छ । यस विमानस्थलका लाग अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न ७८ करोड रुपैयाँ विनियोजन भएको छ ।

यसबाहेक निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना तयार गर्ने विषयलाई पनि नीति तथा कार्यक्रममा समावेस गरिएको छ । यो विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न २० करोड रुपैयाँ विनियोजन भएको छ ।