मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २४ शनिबार १०:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेट दुरुपयोग रोक्न काठमाडौं महानगरद्धारा मार्गदर्शन जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २४ शनिबार १०:४१:००

विनियोजित बजेटको जथाभावी खर्च हुने प्रवृत्तिलाई रोक्न काठमाडौं महानगरपालिकाले मार्गदर्शन जारी गरेको छ । निकासा भएको रकम मितव्ययी एवं पारदर्शी रुपमा खर्च गर्न भन्दै महानगरले  शुक्रबार ‘काठमाडौं महानगरपालिकामा आर्थिक वर्ष २०७७/७८ मा निकासा गरिएको वडास्तरीय प्रशासनिक तथा विकास निर्माण बजेट खर्च गर्नेसम्बन्धी मार्गदर्शन, २०७७’ जारी गरेको हो । 

चालू आवमा विनियोजित बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन महानगरले मार्गदर्शनमार्फत् २६ बुँदे व्यवस्था गरेको छ ।  चालू आवमा विनियोजित बजेट तीन किस्तामा उपलब्ध गराउने, तर अघिल्लो किस्तामा लगेको बजेट खर्चको प्रगतिका आधारमामात्र दोस्रो किस्ता उपलब्ध गराउने व्यवस्था मार्गदर्शनमा गरिएको छ । 
प्राप्त प्रशासनीक खर्चको निकासा रकम महानगरको सार्वजनिक खरिद कानूनको अधिनमा रहेर गर्न पनि महानगरले भनेको छ ।

 वडाले आर्थिक दायित्व सृजना हुने निर्णय गर्दा महानगरपालिकाको स्वीकृति लिनुपर्ने तथा स्रोत सुनिश्चित गरेर मात्र थप आर्थिक दायित्व सृजना हुने निर्णय गर्न मार्गदर्शनमा भनिएको छ । 

ठूला विकासका पूर्वाधारदेखि अत्यावश्यक साना विकास निर्माणका कार्य गर्नसमेत खर्च मापदण्डको विधि अपनाई पारदर्शीपूर्ण ढंगले गर्न गराउन तथा पूँजीगत खर्च शीर्षकमा विनियोजित बजेटबाट चालू (प्रशासनिक) प्रकृतिको खर्च गर्न नपाइने मार्गदर्शनमा व्यवस्था गरिएको छ । 

आवश्यकता र औचित्यका आधारको आधार र पुष्ट्याईंसहित अत्यावश्यक काममात्र उपभोक्ता समितिबाट गठित वास्तविक समितिबाट गराई खर्चमा पारदर्शिता र मितव्ययीता कायम गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ । 

संघ, प्रदेश र महानगरबाट सहलगानी र साझेदारीमा संचालन हुने बाहेकका अन्य कार्यक्रम वा आयोजना दोहोरो नपर्ने गरी संचालन गर्न पनि भनिएको छ ।