१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २४ शनिबार १०:३३:००
Read Time : > 4 मिनेट
खेलकुद प्रिन्ट संस्करण

खेलाडीलाई लय गुम्ने डर

Read Time : > 4 मिनेट
२०७७ श्रावण २४ शनिबार १०:३३:००

चारमहिने लकडाउनमा प्रशिक्षण गर्न नपाउँदा मोटाए खेलाडी, एक्कासि कडा प्रशिक्षणमा फर्किंदा चोटको उच्च जोखिम

लकडाउनको चार महिनापछि कोर्टमा फर्किंदा भलिबलकी रेश्मा भण्डारीले निकै अहसज महसुस गरिन् । आधा दशकभन्दा लामो समयदेखि राष्ट्रिय टोलीबाट खेल्दै आइरहेकी उनलाई भलिबल नै पहिलोपटक छोएजस्तो भयो । ‘बल हान्नै बिर्सिएछु,’ लकडाउनपछि पहिलोपटक कोर्टमा फर्किंदाको अनुभव सुनाउँदै उनले भनिन्, ‘पहिलोपटक भलिबल खेल्न सिक्दाको जस्तै अनुभव भयो ।’ रेश्माका लागि पहिले यस्तो कहिल्यै भएको थिएन । भलिबल खेल्न थालेदेखि उनले आफ्नो प्रशिक्षण बिरलै छुटाइन् । अभ्यास नै नभएको समय पनि उनी अरू शारीरिक व्यायाममा हुन्थिन् । 

कोभिड–१९ महामारीका पछिल्लो चार महिना खेलकुदको प्रशिक्षणमा सरकारले नै प्रतिबन्ध लगाएको थियो । खेलाडी आफ्नो घरबाट बाहिर निस्कने अवस्थासमेत भएन । यसले उनीहरूले आफ्नो खेलको अभ्यास त गर्न पाएनन् नै, अरू नियमित व्यायाममा समेत असर पुग्यो । बरु व्यायाम रोकिँदा शरीरको तौल बढेर अरू समस्या थपियो । ‘आफूलाई फिट राख्न किचेनको कामले जति मद्दत गर्‍यो त्यति मात्रै भयो । त्यसबाहेक अरू व्यायाम गर्न मिलेन,’ रेश्मा भन्छिन्, ‘त्यसैले अहिले एक्कासि अभ्यासमा फर्किंदा शरीरले नथाम्दो रहेछ । हात, थाई दुखेर मुस्किल भयो ।’ रेश्मा विभागीय टोली एपिएफसँग आबद्ध छिन् । सरकारले लकडाउन सकिएको घोषणा गरेपछि एपिएफले आफ्ना खेलाडीलाई सुरक्षाका उपायसहित प्रशिक्षणमा फर्काएको छ । रेश्मा पनि क्लबकै प्रशिक्षणमा सहभागी भएकी छिन् ।                                                                       .....

लकडाउनपछि अभ्यासमा फर्किंदा रेश्माको जस्तो अनुभव १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा साइक्लिङतर्फ स्वर्ण जितेका खेलाडी राजेश मगरको पनि रह्यो । लकडाउनको पहिलो एक महिना उनी पनि घरबाट बाहिर निस्किएनन् । ललितपुरको भैँसेपाटी बस्ने उनी दोस्रो महिनाबाट भने भिडभाड नहुने ‘रुट’ खोज्दै साइक्लिङमा निस्किए । लकडाउनपछि पहिलोपटक साइक्लिङमा निस्किँदाको अनुभव पहिलो दिन साइकल चलाउन सिक्दाको जस्तै भएको उनी बताउँछन् । १३औँ सागमा डाउनहिल माउन्टेन बाइकतर्फ स्वर्ण जितेका उनी भन्छन्, ‘अहिले फर्ममा फर्कने प्रयास गर्दै छु ।’

यी कठिनाइ र मुस्किलबीच पनि प्रशिक्षणमा फर्कन पाउँदा खेलाडी खुसी छन् । त्यो खुसी ब्याडमिन्टनकी शोभा गौचनको अनुहारमा देख्न सकिन्छ । उनी भन्छिन्, ‘रातदिन घरभित्रै बसिरहेको अवस्थाबाट फेरि खेलमा फर्कन पाउँदा अर्काे जीवन पाएजस्तै भएको छ ।’ 

लकडाउनमा उनी पनि आफ्नै घरभित्र सीमित भइन् । सरकारले लकडाउन केही खुकुलो गरेपछि ब्याडमिन्टन संघले नै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आफ्ना शीर्ष वरीयताका खेलाडीलाई सहभागी गराएर प्रशिक्षण सुरु गर्‍यो । कोरियन प्रशिक्षक चोइसे युङ लुकले प्रशिक्षण सञ्चालन गरिरहेका छन् । शोभा पहिलो दिनबाटै प्रशिक्षणमा सहभागी छिन् ।

आफूलाई फिट राख्न किचेनको कामले जति मद्दत गर्‍यो त्यति मात्रै भयो । त्यसबाहेक अरू व्यायाम गर्न मिलेन । त्यसैले अहिले एक्कासि अभ्यासमा फर्किंदा शरीरले नथाम्दो रहेछ । हात, थाई दुखेर मुस्किल भयो । - रेश्मा भण्डारी, भलिबल खेलाडी

संघ र सम्बन्धित निकायले प्रशिक्षण सुरु गर्दा सुरक्षाका आवश्यक उपाय अपनाएको जनाएका छन् । ब्याडमिन्टनकै खेलाडीहरू बिहानै प्रशिक्षणस्थल पुगेर ‘भेन्यु’ सफा गर्छन् । भेन्युलाई ‘स्यानिटाइज’ गरेपछि उनीहरूको प्रशिक्षण सुरु हुन्छ । १५ खेलाडी सहभागी रहेको यो प्रशिक्षणको प्रत्येक ब्रेकमा प्रशिक्षक चाइसे युङ खेलाडीहरूलाई ह्यान्ड स्यानिटाइजर प्रयोग गर्न अह्राउँछन् । विशेष गरी उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको अवस्थामा एपिएफले आफ्ना खेलाडीको सुरक्षाका लागि सम्भव भएसम्मका उपाय अपनाएको छ । भलिबल समूहको खेल भएपछि भिडभाड कम होस् भन्ने उद्देश्यले ‘सिफ्टवाइज’ प्रशिक्षण गरिएको छ । क्लबले खेलाडीलाई पहिलेजस्तो एकअर्काको ‘टाबेल’ प्रयोग गर्नसमेत दिएको छैन ।

चोटको उच्च जोखिम
कोभिड महामारी फैलिएपछि त्यसको नियन्त्रणसँगै सबैभन्दा छिटो खेलकुद गतिविधि फर्काउन सफल भएको युरोपका प्रमुख देशहरूमा खेलाडीको चोट ठूलो समस्याको रूपमा देखियो । यो समस्या जर्मनी, इंग्ल्यान्डदेखि अन्य देशमा देखापर्‍यो । जर्मन बुन्डेस लिगामा गरिएको एक अध्ययनले अरू सामान्य अवस्थाको तुलनामा कोभिड महामारीपछि फेरि खेलमा फर्किंदा खेलाडीहरू चोटग्रस्त बन्ने औसत दर नै बढ्दो अवस्थामा देखायो । अध्ययनअनुसार प्रतिखेल औसतमा ०.८८ को दरले खेलाडी चोटग्रस्त बनेका छन् । 

जर्मन खेलकुद वैज्ञानिक डा.जोइल मासनले गरेको अनुसन्धानले अरू समय ०.२७ को औसतमा देखिएको यो दर बढेर ०.८८ मा पुगेको हो । अनुसन्धानकर्ताले खेलाडीहरू यसरी चोटग्रस्त बन्नुको मुख्य कारणमध्ये लकडाउनको समय घरभित्रै सीमित भएर बस्नु र शारीरिक व्यायामसमेत गर्न नपाउनु मुख्य कारण भएको दाबी गरेका छन् । 

सरकारले चारमहिने लकडाउन अन्त्य गरेसँगै तत्काललाई प्रशिक्षण मात्रै भए पनि सुरु गर्ने तयारीमा रहेको नेपाली खेलकुदमा पनि यो जोखिम उच्च देखिन्छ । सरकारले गत ६ साउनमा पछिल्लो एक सय २० दिनदेखि जारी लकडाउन सकिएको घोषणा गरेसँगै महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताको छनोटनजिक रहेका खेलहरूले त्यसका लागि प्रशिक्षण सुरु गर्ने तयारी थालेका छन् । 

टोकियो ओलम्पिकको छनोट तयारीका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को छात्रवृत्तिमा प्रशिक्षणरत विभिन्न सात खेलका १२ नेपाली खेलाडीले आफ्नो रोकिएको प्रशिक्षण सुरु गरेका छन् । विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट खेलको तयारीमा रहेको नेपाली फुटबल खेलाडीलाई पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षणमा फर्काउने तयारी थालेको छ । त्यसका लागि एन्फाले खेलाडीलाई काठमाडौंमा बोलाएर उनीहरूको पिसिआर परीक्षण गराएको छ । 

                                                                         ......

लकडाउनको पछिल्लो चार महिना सीमित शारीरिक व्यायाममा घरभित्रै बिताएका खेलाडीहरू प्रशिक्षणमा फर्किंदा चोटको उच्च जोखिम हुने नेपाली खेलकुदका पहिलो अफिसियल डा.अजय राणा बताउँछन् । ‘चार महिने लकडाउनको अवधिमा अन्य सर्वसाधारणजस्तै नेपाली खेलाडी पनि आफ्नो घरबाट बाहिर निस्कन पाएनन् । उनीहरूले घरभित्रै जति सम्भव हुन्थ्यो, त्यहीँ सीमित शारीरिक व्यायाम गरेर बिताए,’ राणा भन्छन्, ‘त्यसैले एक्कासि प्रशिक्षणमा फर्किंदा खेलाडीहरूमा चोटको धेरै सम्भावना रहन्छ ।’

राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत रहँदा ३० वर्ष खेलाडीहरूको उपचारमा संलग्न भएर अवकास लिएका राणा नेपालमा खेलकुद र खेल ‘इन्जुरी’बारे राम्रो दख्खल भएका सीमितमध्येका व्यक्तिमा पर्छन् । उनी यो अवधिमा प्रशिक्षणमा फर्कने खेलाडीका लागि चोटबाट जोगाउने गरी प्रशिक्षण शैली अपनाउनुपर्ने बताउँछन् । 

‘खेलाडीलाई अहिले सबैभन्दा पहिले सामान्य अवस्थामा फर्कने गरी प्रशिक्षणको शैली तय गर्नु आवश्यक छ । उनीहरूलाई सम्बन्धित खेलको नयाँ टेक्निक सिकाउनुभन्दा पनि शारीरिक र उनीहरूको मानसिकतालाई अन्य सामान्य अवस्थाकोजस्तो पूर्णरूपमा फर्काउने प्रयास गर्नुपर्दछ,’ राणाको सुझाब छ, ‘उनीहरूको शरीरलाई सहज अवस्थामा फर्काएपछि मात्रै प्रशिक्षणको गति बढाउँदै अघि बढ्न सक्छौँ । यसले खेलाडीको चोटको सम्भावना घटाउनेछ ।’

प्रशिक्षणअघि खेलाडीलाई शारीरिक र मानसिक रूपमा तयार पार्नुपर्छ
डा. अजय राणा
नेपाली खेलकुदका पहिलो आधिकारिक चिकित्सक 

कोभिड महामारी सुरु भएपछि घोषित लकडाउनको अवधिमा प्रायः नेपाली खेलाडीले घरभित्र सीमित शारीरिक अभ्यास मात्रै गर्न पाएका छन् । कतिपय खेलाडीले त त्यो अवसर पनि पाएनन् होला । यो अवस्थामा खेलाडी ‘डिकन्डिसन’ भएका छन् ।

अर्थात्, खेलाडीले आफ्नो लय गुमाएका छन् । कतिपय खेलाडी मोटाएका छन् । लामो समय प्रशिक्षण गर्न नपाउँदा उनीहरूको शरीर अन्य साधारण मान्छेकोजस्तै भएको छ । त्यसैले यो अवस्थामा खेलाडीलाई एक्कासि कडा प्रशिक्षणमा फर्काउँदा चोटको उच्च जोखिम रहन्छ ।

त्यसैले यो अवधिमा खेलाडी प्रशिक्षणको शैली परिवर्तन गर्नुपर्दछ । कतिपय खेलाडीलाई अवस्था हेरेर व्यक्तिगत रूपमा बढी जोड दिनुपर्ने आवश्यकता पनि हुन्छ।

किनभने सबै खेलाडी एउटै अवस्थामा हुन्छन् भन्ने हुँदैन । कोही खेलाडी शारीरिक रूपमा ५० प्रतिशत ‘फिट’ होलान्, कोही ६० प्रतिशत वा त्योभन्दा तल–माथि होलान् । उनीहरूको सबै अवस्था हेरेर प्रशिक्षणको शैली तय गर्नु आवश्यक हुन्छ ।

खेलाडीका शरीरलाई पहिले ‘कन्डिसन’मा ल्याएर मात्रै प्रशिक्षण अघि बढाउँदा राम्रो हुन्छ । यसबाट खेलाडीको चोटको सम्भावना कम हुन्छ । यसबाहेक खेलाडीहरूले कोभिडबाट बच्ने सरकार र सम्बन्धित निकायले जारी गरेको सुरक्षा उपाय त अपनाउनैपर्छ ।