मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जीवन बस्नेत काठमाडौं
केदार दाहाल काठमाडौं
२०७७ श्रावण २४ शनिबार ०७:०३:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

हवाई उडान तथा लामो दूरीको यातायात सञ्चालनमा अन्योल

सिसिएमसीले निर्णय नगर्दा उडानको सेड्युल तयारीमा ढिलाइ, अनअराइभल भिसा तत्काल नखुल्ने

Read Time : > 3 मिनेट
जीवन बस्नेत, काठमाडौं
केदार दाहाल, काठमाडौं
२०७७ श्रावण २४ शनिबार ०७:०३:००

सरकारले १ भदौ देखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान तथा लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेर तयारी थालेपनि कोरोना संक्रमण फैलिँदै गएपछि अन्योल थपिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले उडान खोल्ने–नखोल्ने विषयको अधिकार पर्यटन मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वयमा उच्चस्तरीय समिति सिसिएमसीलाई दिएको छ । तर, समितिले हालसम्म कुनै निर्णय गरेको छैन । ‘हामी थोरै भए पनि उडान खोल्नुपर्छ भन्ने पक्षमा हौँ, सेड्युल तयार पारेर समितिमा पठाएका छौँ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिव केदारबहादुर अधिकारीले भने । १ भदौबाट खोल्ने वा केही दिन पर धकेल्ने अधिकार समितिलाई रहेकाले शनिबारको बैठकले निर्णय गर्ने उनले जानकारी दिए ।  

सरकारले गत ९ चैतदेखि अन्तर्राष्ट्रिय उडान र ११ चैतदेखि आन्तरिक उडान बन्द गरेको छ । पटक–पटक गरी उडान बन्दलाई थप गर्दै १ भदौसम्म पु¥याएको छ । अन्तर्राष्ट्रियसँगै आन्तरिक उडानको तयारीसमेत विमानस्थल र एयरलाइन्स कम्पनीहरूले तीव्र पारेका छन् । अन्तर्राष्ट्रियतर्फ १ सय ८६ उडानका लागि एयरलाइन्स कम्पनीहरूले माग गरेका छन् । तर, अहिलेसम्म कुन एयरलाइन्सलाई कति उडान गर्न दिने टुंगो लागेको छैन । 
 
अन्तर्राष्ट्रिय १३ एयरलाइन्सले सातामा १ सय ८६ उडानको माग 
नेपाल नागरिक उड्डयन प्राधिकरणसँग १ भदौबाट उडान गर्नका लागि भन्दै १३ एयरलाइन्सले सोमबारसम्म १ सय ८६ उडानको अनुमति माग गरेका छन् । एयरलाइन्सहरूले सातामा १ सय ८६ उडानका लागि आवेदन दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उडानका लागि सबैभन्दा धेरै नेपाल वायुसेवा निगमले सातामा ५७ उडानका लागि आवेदन दिएको छ । जसमा निगमले दिल्लीमा दैनिक २ सहित सातामा १४, बैंग्लोर ३, मुम्बई ७, ग्वान्जाओ ३, कुवेत ७, दोहा ७, क्वालालाम्पुर ७, नारित ३, बैंकक ३ र हङकङ ३ गरी ५७ उडानको अनुमति माग गरेको छ । त्यसैगरी, हिमालयले सातामा २१ र कतार एयरवेजले सातामा २८ उडानका लागि माग गरेको छ । त्यस्तै, टर्किसले सातामा १ मात्रै उडानका लागि आवेदन माग गरेको छ । सलाम एयरले ७, इन्डिगोले ७, चाइना साउदनले १, एयर चाइनाले १, जजिरा एयरले २, फ्लाई दुबईले ७, मलेसियन एयरलाइन्सले ५, मालिन्दो एयरले १४ र एयर अरेबियाले ३५ वटा माग गरेको छ । 

आन्तरिकतर्फ ४८ उडान स्वीकृत गरेको जनाएको छ । विगतमा २ सयभन्दा बढी आन्तरिक उडान हुने गरेमा अहिले ४८ वटा मात्रै दिन लागिएको हो । बन्द भएको झन्डै पाँच महिनापछि प्राधिकरणले १ भदौदेखि उडान खुलाउने निर्णय गरेको थियो । सोहीअनुसार आन्तरिकतर्फका एयरलाइन्सहरू उडानको तयारीमा जुटेका छन् । नियमन निकाय प्राधिकरणले सुगम क्षेत्र अर्थात् ट्रंक रुटमा ३९ उडान स्वीकृत गरेको छ भने दुर्गम क्षेत्र स्टल क्षेत्रमा ९ वटा उडान पहिलो चरणमा हुने भएको छ । प्राधिकरणले एक सातापछि पुनः उडानहरू थप्दै जाने योजना बनाएको छ । निजी वायुसेवा कम्पनीहरू ट्रंक रुटमा बुद्ध एयरले १८ वटा, यती एयरले ११ वटा, श्री एयरले ८ वटा र सिम्रिक एयरले २ वटा उडान गर्ने तय गरेका छन् । यस्तै, दुर्गम क्षेत्रमा तारा, सीता र समिट एयरले ३–३ वटा उडानको अनुमति पाएका छन् । 

उडान खुले पनि अनअराइभल भिसामा रोक 
विदेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदा सहजीकरण गर्ने गरी दिइएको ‘अनअराइभल भिसा’ नदिइने भएको छ । पर्यटन मन्त्रालयमा भएको सरोकारवाला निकायसँगको छलफलपछि हाललाई ‘अनअराइभल भिसा’ नदिने निर्णय गरेको छ । अध्यागमन विभागले हाल नाइजेरिया, घाना, जिम्बाबे, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्थान र सिरियालाई ‘अनअराइभल भिसा’ दिँदैन । यसबाहेक जुनसुकै देशबाट आउने ट्राभल डकुमेन्टविनाका शरणार्थीलाई दिने ‘अनअराइभल भिसा’ पनि सरकारले रोकेको छ ।

भदौबाट यातायात सञ्चालनको निर्णय यथावत् : यातायात विभाग
सवारीसाधन सञ्चालन कठिन : यातायात महासंघ

सरकारले लामो दूरीका सार्वजनिक सवारीसाधन १ भदौदेखि सञ्चालन गर्ने निर्णय गरिसकेको छ । तर, उपत्यकालगायत देशका विभिन्न ठाउँमा बढ्दै गएको कोरोना संक्रमणका कारण तोकिएकै समयदेखि सवारीसाधन सञ्चालन गर्ने सम्भावना घट्दै गएको छ । 

  • फाइल तस्बिर

कोभिड–१९ को पछिल्लो विकसित परिस्थितिले यात्रुबाहक साधन सञ्चालन कठिन हुँदै गएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए । ‘हामीले सवारी सञ्चालनका लागि भनेर त्यस्तो विशेष तयारी केही गरेका पनि छैनाैँ, सरकारले के भन्छ भनेर पर्खिरहेका छौँ,’ उनले भने ।  

संक्रमण झन्–झन् फैलिँदै गएका कारण अब यात्रुबाहक सार्वजनिक सवारी सञ्चालन गर्न कठिन हुँदै गएको व्यवसायीहरूको भनाइ छ । यातायात व्यवस्था विभागले भने मन्त्रिपरिषद्को निर्णयअनुसार भदौदेखि लामो दूरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने जानकारी दिएको छ । ‘अहिलेसम्म सरकारले लामो दूरीका सवारी सञ्चालनबारे अर्को निर्णय नगरेकाले १ भदौदेखि गाडी चलाउने निर्णय यथावत् छ,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने । परिस्थितिको मूल्यांकन गरेर पछिल्लो विकसित घटनाक्रमलाई विश्लेषण गरेर मन्त्रिपरिषद्ले अर्को निर्णय गर्न सक्ने उनको भनाइ छ । 

यातायात व्यवस्था विभागले यातायात महासंघमा संलग्न र अन्य यातायात व्यवसायीलाई पनि भदौदेखि सञ्चालनका लागि सवारीसाधनलाई तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको छ । ‘बिग्रेको भए बनाउने, चेकजाँच गर्ने र कन्डिसनमा राख्न भनेका छौँ,’ महानिर्देशक हमालले भने । त्यहीअनुसार तयारी भइरहेको छ । तर, महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने आवश्यक तयारी गरिरहेको भए पनि सवारी सञ्चालन हुनेमा अझै विश्वस्त नरहेको र सरकारबाट केही निर्णय होला भनेर पर्खिरहेको बताए । 

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले पनि बिहीबार पत्रकार सम्मेलनमा यात्रुबाहक सवारी सञ्चालनबारे उपयुक्त निर्णय गर्ने बताएका थिए । छनोटपूर्ण हिसाबले जहाँ जोखिम बढी छ, लकडाउन गर्ने र जहाँ छैन, त्यहीँ सञ्चालन गर्न सक्ने बताए । ‘सरोकारवालाले दिएको सुझाब र परिस्थितिको मूल्यांकन गरेर केही दिनमै मन्त्रिपरिषद्ले उपयुक्त निर्णय लिनेछ,’ उनले भने । 

यसअघि ५ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्ने गरी १ भदौदेखि छोटो, मध्यम र लामो दूरीमा जिल्लाभित्र तथा अन्तरजिल्ला सञ्चालन हुने निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोेकेको मापदण्डमा रहनुपर्नेछ । 

२५ जेठमा सरकारले गरेको निर्णयअनुसार अहिले काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) भर सार्वजनिक सवारीसाधन सञ्चालन भइरहेको छ । त्यस्तै, काठमाडौं उपत्यकाबाहिर भने जिल्ला (सीमा) भित्र मात्रै सञ्चालन भइरहेका छन् । बीचमा जोर–बिजोर दुवैलाई खुला गरिएको भए पनि २१ साउनदेखि पुनः जोर–बिजोर प्रणाली लगाइएको छ ।

यस्तो छ यात्रुबाहक यातायात सञ्चालनको स्वास्थ्य मापदण्ड ? 
यात्रु चढ्ने वेलामा सवारीसाधनको ढोकामा र सवारीसाधनभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ । चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्नेछ । त्यस्तै, सवारीसाधनलाई दैनिक निसंक्रमति गर्नुपर्नेछ । सार्वजनिक सवारीसाधनले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाउनेछन् । ढोकामा स्यानिटाइजर राख्नुपर्ने र सवारीसाधनभित्र सामाजिक दूरी हुने गरी यात्रु राख्नुपर्ने नियम लागू गरिएको छ ।

जोर–बिजोर प्रणाली सार्वजनिक यातायातका लागिसमेत लागू हुनेछ । सार्वजनिक सवारीसाधनलाई सफा राख्नुपर्नेछ । सम्भव भएसम्म भाडालाई डिजिटल माध्यमबाट गर्ने व्यवस्था गरिनेछ । सार्वजनिक यातायातका साधनमा सिट क्षमताको आधा मात्र यात्रु चढाउन पाइनेछ । यसको नियमन ट्राफिक प्रहरीले नियमित अनुगमन गर्ने योजनासमेत मापदण्डमा छ । यात्रु चढ्दा र ओर्लंदा तोकिएको दूरी कायम गर्नुपर्नेछ ।