मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २४ शनिबार ०५:१७:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

भारतको केरलमा हवाईजहाज दुर्घटना हुँदा कम्तीमा १६ को मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २४ शनिबार ०५:१७:००

भारतको केरलमा एयर इन्डिया एक्सप्रेसको बोइङ ७३७ को हवाईजहाज दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । दुबईबाट भारतीय यात्री बोकेर केरलको कोझिकोड अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेका वेला धावनमार्गबाट चिप्लिएर जहाज दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

केरलमा भीषण वर्षा भएका कारण जहाज चिप्लिएर दुई टुक्रा भएको त्यहाँको नागरिक उड्डयन महानिर्देशनालयलाई उद्धृत गर्दै दैनिक जागरणले जनाएको छ । केरलका स्वास्थ्यमन्त्री केके शैलजालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले शुक्रबार मध्यरातसम्म कम्तीमा १६ जना यात्रीको मृत्यु भएको जानकारी दिएका छन् । दुर्घटनामा विमानका क्याप्टेन दीपक वसन्त साठे, को–पाइलट अखिलेससहित चालक दलका सदस्यको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । 

कारीपुर पनि भनिने विमानस्थलमा दुर्घटनाग्रस्त भएको जहाजमा जम्मा एक सय ९१ जना सवारमध्ये १० जना नवजात शिशुसहित एक सय ८४ यात्री, दुईजना पाइलट, पाँचजना चालक दलका सदस्य थिए । भारतीय समयअनुसार साँझ ७:४० मा विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट ३५ फिट तल चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो । 

बन्दे भारत मिसनअन्तर्गत विदेशमा रहेका भारतीय नागरिक फर्काउने क्रममा जहाज दुबईबाट केरल पुगेको थियो । सवार यात्रुमध्ये एक सय २३ जनाभन्दा बढी घाइते छन् भने १५ जनाको अवस्था गम्भीर रहेको टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले जनाएको छ । । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । एयर इन्डियाले पनि दुर्घटनाको पुष्टि गर्दै दुःख व्यक्त गरेको छ । 

दुर्घटनापछि सकुशल रहेका यात्री भी इब्राहिमले हिन्दुस्तान टाइम्ससँग भनेका छन्, ‘अत्यन्त धेरै वर्षा भइरहेको थियो । पाइलटले मौसम ठीक छैन भनेर सूचना दिनुभएको थियो । उहाँले दुईपटक सुरक्षित अवतरणका लागि प्रयास गर्नुभयो । तर, जहाज धावनमार्गभन्दा बाहिर गएर दुई टुक्रा भयो । बाँचेका धेरैका लागि यो चामत्कारिकजस्तो भयो ।’

केरलका मुख्यमन्त्री पिनरई विजयनले प्रहरी तथा दमकलसहित उद्धारकर्मीलाई परिचालन गरिएको ट्विटरमा जनाएका छन् । भारतका राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित साह, नागरिक उड्डयनमन्त्री हरदीपसिंह पुरी, कंग्रेस नेता राहुल गान्धीलगायतले घटनामा दुःख व्यक्त गरेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जहाजमा सवार परिवारजनका लागि सम्पर्क गर्न हटलाइनको व्यवस्था भएको जानकारी दिएका छन् ।

भारी वर्षाका कारण केरलमा भिजिबिलिटी पनि कम थियो । महानिर्देशनालयका अनुसार बाढी र पहिरोका कारण केरलमा पछिल्ला दिनमा १५ जनाको मृत्यु भएको छ भने केही अझै बेपत्ता छन् ।