कोरोना संक्रमणबाट मोरङमा हालसम्म पाँचजनाको मृत्यु
कोरोना संक्रमणबाट शुक्रवारसम्ममा मोरङमा पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय मोरङका अनुसार विराटनगर महानागरपालिका–५ का एकजना र ९ नम्बर वडाका दुई जनासहित रंगेली नगरपालिकाका एक र सुनबर्षी नगरपालिकाका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
कार्यालयका अनुसार चार जनाको विराटगरस्थित कोशी अस्पतालमा र एक जनाको सुनसरी धरानस्थित बीपी स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । १९ साउनमा कोशी अस्पतालको आइसोलेसन वार्डमा विराटनगर–५ का ७७ बर्षीय वृद्धको मृत्यु भएको थियो । २१ साउनमा विराटनगर–९ का एकजना र रंगेली नगरपालिका निवासी एक जना पुरुषको पनि कोशी अस्पतालमै मृत्यु भएको थियो । २३ साउन बिहान पनि उपचारका लागि अस्पताल पुगेका विराटनगर–९ का ५८ बर्षीय एक पुरुषको पनि मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या आएर उपचारका लागि अस्पताल पुग्नासाथ मृत्यु भएका उनमा कोरोना परीक्षण गर्दा पोजेभिट देखिएको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोभिड–१९ सूचना डेस्कका अनुसार मोरङमा हालसम्म संक्रमितको संख्या ४९४ पुगेको छ । शुक्रबार एकै दिन मोरङमा ६४ जना संक्रमित थपिएका छन् ।
थपिएका संक्रमितहरु विराटनगरमा महानगरमा २४ पुरुष र आठ महिला, रंगेली नगरपालिकाका २३ पुरुष र ६ महिला, बुढीगंगा गाउँपालिकाका दुई पुरुष, कटहरी गाउँपालिकामा एक महिला छन् ।