मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण २३ शुक्रबार १३:४९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काेराेना कहर : भरतपुर क्यान्सर अस्पतालमा रेड जोन क्षेत्रका बिरामी बढी

Read Time : > 1 मिनेट
२०७७ श्रावण २३ शुक्रबार १३:४९:००

भरतपुरस्थित बिपी काेइराला मेमोरियल क्यान्सर अस्पताल काेराेनाकाे रेड जोन क्षेत्रका बिरामीको उपचार केन्द्र बनेको छ । तर, पनि यहाँका स्वास्थ्यकर्मी विचलित नभइ आवश्यक सुरक्षा अपनाएर जोखिम क्षेत्रका नागरिकलाई सेवा दिइरहेका छन् ।

सरकारले निषेधाज्ञा जारी गरेको जिल्ला अर्थात् रेड जोन इलाकाबाट एम्बुलेन्स लिएर बिरामीहरु अस्पताल आउँदा अस्पताल क्षेत्र नै जोखिममा परेको हो । 

बिरामीको सेवा गर्नु पहिलो कर्तव्य भएकाले कोरोना संक्रमणबाट बच्ने उपाय अपनाइ आवश्यक सेवा दिने गरिएको अस्पताल प्रशासनको भनाइ छ ।सत्तरी प्रतिशत जति तराई तथा भारतसँग सीमा जोडिएका र कतिपय भारतीयसमेत उपचारका लागि यस अस्पतालमा आउने गरेका छन् । सेवा लिने सत्तरी प्रतिशत नागरिक जोखिम क्षेत्रका छन् ।

गृह मन्त्रालयका अनुसार प्रदेश दुईका जिल्लाहरु रौतहट, सप्तरी, धनुषा,पर्सा, बारा, महोत्तरी,सर्लाही, सिरहामा कोरोनाको जोखिम उच्च छ । ‘जोखिम भनि किटान गरिएका जिल्लाका बिरामीहरु आउँछन्, हामीले निरन्तर उपचार सेवा दिइरहेका छौं,' अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले भने, ‘शंकास्पद बिरामीको हकमा कोरोना परीक्षण हुने गरेको छ ।’

सबै बिरामीको कोरोना परीक्षण सम्भव नभएकाले शंकास्पदको मात्र गरिएको उनले बताए । कोरोना प्रभाव वा लकडाउनका कारण अस्पतालले दिने सेवामा कुनै कमी नगरिएको डा. गौतमको भनाई छ । 

कोरोना जोखिम क्षेत्रका बिरामीको उपचारमा संलग्न हुनुपर्ने भएकाले अस्पतालले त्यहाँ कार्यरत ६ सय ८६ जनाको तीन हप्ता अघि कोरोना बिमा गरेको छ । अस्पतालमा कोरोना बिमा लागु भएको र यसबाट कोही कर्मचारी जोखिममा परेमा एक लाख रुपैयाँ उपचार खर्च पाउने कार्यकारी निर्देशक डा. गौतमले जानकारी दिए । 

हाल दैनिक चार सय ५० को हाराहारीमा ओपिडी जाँच हुन्छ । लकडाउन अघि सात सय जनासम्म ओपिडी जाँच हुने गरेको थियो । हाल दैनिक २५ जनाको अप्रेशन हुने गरेको छ । त्यसो त लकडाउनअघि पनि अप्रेशन हुनेको संख्या २५ कै हाराहारीमा रहेको अस्पतालका उप निर्देशक डा. कृष्णसागर शर्माले बताए ।

‘जोखिम क्षेत्रका नागरिकको उपचार गर्दा संक्रमणको सम्भावना उच्च हुन्छ नै,' डा. शर्माले भने, ‘तर हामीले जोखिमको पर्वाह नगरी सुरक्षित र संयमित भएर बिरामीको उपचार गरिरहेका छौं ।’

अहिले पनि असी प्रतिशत बेड बिरामीले भरिएको जानकारी दिँदै उनले लकडाउन अघि हरेक किसिमका बिरामी आउने गरेकोमा हाल क्यान्सरको शंका लागेका र क्यान्सरकै उपचारका बिरामी मात्र आउने गरेकाले बिरामीको संख्या केही कम देखिएको बताए ।