१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७७ श्रावण २३ शुक्रबार ०८:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारी रकम हिनामिना गरेको आरोपमा लेखापालसहित चारजना पक्राउ

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७७ श्रावण २३ शुक्रबार ०८:३८:००

करिब २५ लाख सरकारी रकम हिनामिना गरेको आरोपमा त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित चारजना पक्राउ परेका छन् । बिहीबार राति गाउँपालिकाकाे कार्यालयमा हिनामिना गरेको रकमको कागजात मिलाउने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

लेखापाल केसीले सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको खातामा जम्मा गरेको आरोपमा उनीसहित लेखा सहयोगी तथा लेखापालका सहोदर भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भिमसेनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए ।

रातकाे समयमा गाउँपालिकाकाे कार्यालयमा बाहिरबाट ताला लगाई कागजात मिलाउँदै गरेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनीहरुलाई कार्यालयबाटै पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याएको छ ।

लेखापाल केसीमाथि गत वर्ष २०७६/०७७ को बजेटबाट २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ आफ्नो, श्रीमती र भतिजा सुवासको खातामा जम्मा गरेको आरोप छ । घटनाको पर्दाफास भएपछि विभिन्न शीर्षकमा अनाधिकृत रुपमा आफ्नो र परिवारका सदस्यको खातामा जम्मा गरेको उक्त रकम केसीले गाउँपालिकाकै खातामा फिर्ता गरेका छन् ।

विनाकुनै प्रयोजन व्यक्तिका खातामा सरकारी रकम जम्मा भएको थाहा पाएपछि गाउँकार्यपालिकाले समेत चासो व्यक्त गरेको थियो । यो कुरा बाहिरिएपछि जिल्ला प्रशासन कार्यालयले छानविन थालेको छ ।

अहिले उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेकाे छ । आरोप प्रमाणित भएमा  कानुन बमोजिम कारबाही गरिने प्रजिअ पौडेलले बताए।