१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २२ बिहीबार २२:०४:००
Read Time : < 1 मिनेट
समाचार

पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध

Read Time : < 1 मिनेट
२०७७ श्रावण २२ बिहीबार २२:०४:००

हिमाली जिल्ला मनाङ जोड्ने बेंसीसहर–चामे सडक पहिरोले अवरुद्ध भएको छ । मर्स्याङ्दी गाउँपालिका–४ काप्रेभिरमा बिहीबार दिउँसो गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापाका अनुसार काप्रेभिरको पहिरो पन्छाउन दुई–तीन दिन लाग्छ । यद्यपि, पहिरो पन्छाउन सुरु भइसकेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । पन्छाउन सुरु भए पनि पूर्ण रूपमा सडक खुलाउन दुई–तीन दिन लाग्ने उनको भनाइ छ । 

सडक अवरुद्ध हुँदा मनाङ र उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिकाका नागरिक समस्यामा परेका छन् । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पहिरो नियन्त्रण र सडक स्तरवृद्धिको दीर्घकालीन उपाय खोज्न डिभिजन सडक कार्यालय र सम्बन्धित मन्त्रालयलाई बारम्बार घचघचाउँदै आएको बताए । बेसींसहर र मनाङ सदरमुकाम चामे जोड्ने सडक निर्माण भएको २४ वर्ष पुग्दा पनि सर्वसाधारणले सधैँको सास्ती व्यहोर्नुपरेको छ । हरेक वर्ष सडकको विभिन्न ठाउँमा पहिरो जाँदा यातायात अवरुद्ध हुने गरेको छ । 

सडक विभागमातहातको यस सडक डिभिजन सडक कार्यालय दमौलीले हेर्दै आएको छ । सडक डिभिजन कार्यालय दमौलीका सबइन्जिनियर सुमन अधिकारीले भने, ‘पहिरो पन्छाएर नसकिँदै फरि पहिरो जान्छ यसले आवतजावतमा थप समस्या भएको छ ।’ 

नेपाली सेनाले १९ वर्ष लगाएर पाँच वर्षअघि ट्रयाक सम्पन्न गरी सडक विभागलाई जिम्मा लगाएको थियो । लमजुङको सहरमुकाम बेंसीसहरबाट मनाङको चामेसम्म ६५ किलोमिटर दूरी रहेको सडक पार गर्न सवारीसाधनलाई ६ घन्टा लाग्छ । बर्खा सुरु भएसँगै ठाउँ ठाउँमा गएको पहिरोका कारण पूर्ण रूपमा यातायात सञ्चालन हुन सकेका छैनन् ।