१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
पहिरो गएपछि सडकमै बगिरहेको पानी
२०७७ श्रावण २२ बिहीबार १८:१६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मैलुङ–स्याफ्रुबेंसी सडक वर्षाभर सञ्चालन नहुने 

Read Time : > 1 मिनेट
२०७७ श्रावण २२ बिहीबार १८:१६:००

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेंसी सडक वर्षायामभर सञ्चालन नहुने भएको छ । मैलुङदेखि स्याफ्रुबेंसीसम्मको विभिन्न स्थानमा पहिरो गएको हुँदा सडक मर्मत गर्न वर्षायामभर लाग्ने हुँदा सञ्चालनमा नआउने भएको हो । 

दैनिक रूपमा पहिरो तथा ढुंगा खस्ने भएका कारण मैलुङ–स्याफ्रुबेंसी सडक तत्काल सञ्चालन नआउने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए । ‘ठाउँठाउँमा पहिरो झरेको छ, दैनिकजसो पहिरो जान्छ, सुरुसुरुमा त सडक सञ्चालन गरेकै हो,’ उनले भने, सडकै बगाएर लगेको छ, ‘ह्युमपाइपहरू राख्नुपर्नेछ, जोखिम पनि उत्तिकै रहेको छ, असहज पनि छ अहिले, त्यसैले वर्षायामभर यो सडक सहज रूपमा सञ्चालनमा आउन सक्दैन ।’

वैकल्पिक सडकको प्रयोग
सडकमा यात्रा गर्न जोखिम भएको र वैकल्पिक सडक पनि भएका कारण उक्त सडक तत्काल सञ्चालन नल्याइने भण्डारीले बताए । नाका जोड्ने छोटो दूरीको सडक अवरुद्ध भएपछि बेत्रावती, कालिकास्थान धुन्चे स्याफ्रुबेंसी सडकबाट सवारीको आवतजावत भइरहेको छ । पहिरोका कारण अवरुद्ध उक्त सडक वर्षायाम सकिएपछि मात्र सुचारु हुने बताइएको छ । 

राष्ट्रिय प्राथमिकतामा रहेको मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड नेपाली सेनाले निर्माण गरेको दुई लेनको सडक हो । सो सडक खण्डको लम्बाइ १७ किलोमिटर छ । यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ । 

पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती छैन । काठमाडौंदेखि गल्छी ४४ किलोमिटर, गल्छीदेखि बट्टार २२ किलोमिटर, बट्टारदेखि बेत्रावती ११ किलोमिटर, बेत्रावतीदेखि मैलुङ १२ किलोमिटर र मैलुङदेखि स्याफ्र १७ किलोमिटर दूरी रहेको छ । काठमाडौंबाट बेत्रावती धुन्चे रसुवागढीको दूरी १४५ किलोमिटर रहेको छ भने काठमाडौंबाट बेत्रावती मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दूरी १२२ किलोमिटर मात्र हुनेछ । बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट हिँड्नका लागि कुनै पनि घुम्ती पार गर्नपर्दैन । यस्तै, स्याफ्रुबाट धुन्चे, कालिकास्थान हुँदै बेत्रावती पुग्ने सडकभन्दा स्याफ्रुबाट मैलुङ हुँदै बेत्रावती निस्कन पेट्रोलियम पदार्थको खपत कम हुने हुँदा कन्टेनर चालकहरू यो सडकतर्फ आकर्षित हुँदै गएका थिए ।