Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १२ सोमबार
  • Monday, 28 September, 2020
२०७७ श्रावण २२ बिहीबार १७:५४:००
समाचार डिजिटल संस्करण

बाढीले जलमग्न खेतबारी, कुहिन थाल्याे धानबाली

२०७७ श्रावण २२ बिहीबार १७:५४:००

तीन बिघा खेतमा लगाएको धानबाली बाढीले नष्ट भएपछि भजनी नगरपालिका– ८ गोड्चौराका आशाराम चौधरी अब परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । उनको खेतमा आठ दिनसम्म बाढी जम्यो । लामो समय पानी जमेपछि धानका बेर्ना कुहिएर एउटै पनि बचेनन् ।

धान पूरै सखाप भएकाले परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउने गरेको चौधरीले बताए । ‘आठजनाको परिवार यही खेतमा निर्भर छौँ, तर यसपालि रोपेको धान बाढीले पूरै नष्ट गरेको छ,’ उनले दुखेसो पोखे, ‘किनेर खानलाई आयआर्जनको अरू स्रोत छैन । परिवार कसरी पाल्ने भन्ने समस्या आएको छ ।’ उनले एक बिघामा चैतेधान लगाएका थिए । चैतेधान भने भित्र्याउन पाएको बताए । भजनी–८ काँढाढिकका खेमराज काफ्लेले दुई बिघा खेतमा लगाएको धानको एउटै बोट सद्दे छैन । उनको खेतमा त अहिले पनि बाढी छ । खेतमा बाढी जम्दा धानको बोट कुहिएको उनले बताए । अन्नबाली सबै नष्ट हुँदा के खाएर बाँच्ने भन्ने चिन्ता भएको उनले बताए ।

१४ साउनमा आएको बाढीले कैलालीमा धानबालीमा ठूलो क्षति पुऱ्याएको छ । क्षतिको यकिन विवरण हालसम्म संकलन नभए पनि प्रारम्भिक विवरणअनुसार सयौँ बिघामा लगाएको धानबाली बाढीले नष्ट भएको स्थानीय तहहरूको तथ्यांक छ । डुबान, कटान र पटानले धानबालीमा क्षति पुगेको हो ।

भजनी नगरपालिकामा मात्रै करिब चार बिघामा लगाएको धानबालीमा क्षति पुगेको प्रारम्भिक विवरण आएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिराम चौधरीले जानकारी दिए । बाढीले कृषिमा भएको क्षतिको यकिन विवरण संकलनको काम सुरु गरिएको उनले बताए । बाढीबाट भजनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएको थियो । वडा नम्बर ३ र ८ मा बाढीले धानबालीमा अत्यधिक क्षति गरेको चौधरीले बताए । ‘डुबान, कटान र पटानले धेरै ठाउँमा धानबाली सखाप भयो,’ उनले भने, ‘डुबानले बोट कुहिँदा बढी क्षति भएको छ । हिजो–अस्तिसम्म पनि खेत र बस्तीमा बाढी थियो ।’ बाढीले घर डुबानमा परेपछि भजनीमा एक हजार ६ सय ७१ परिवार विस्थापित भएका थिए । बस्तीमा एक सातासम्म बाढी थियो । 

यस्तै जोशीपुर गाउँपालिका र टीकापुर नगरपालिकामा पनि बाढीले धानबालीमा ठूलो क्षति गरेको छ । टीकापुरको वडा नम्बर ७ मा बढी क्षति पुगेको छ । यो वडामा अधिकांश धानबाली बाढीले नष्ट भएको स्थानीय भोजराज ढुंगानाले बताए । 

जोशीपुर मात्रै दुई हजार बिघामा लगाएको धानबालीमा क्षति
जोशीपुर गाउँपालिकाले करिब साढे दुई हजार बिघामा लगाइएको धानबालीमा बाढीले क्षति पुगेको अनुमान गरेको छ । ‘अहिलेसम्मको अवस्था हेर्दा साढे दुई हजार बिघामा क्षति भएको देखिन्छ ।’ गाउँपालिकाका कृषि शाखा प्रमुख हर्कबहादुर बमले भने, ‘हामी क्षतिको विवरण संकलनमा जुटेका छौँ ।’ 

केराखेतीमा पनि बाढीले क्षति पुऱ्याएको छ । लामो समयसम्म बाढी रहेकाले केराका बोटहरू पहेँलो हुन थालेका केराखेतीमा संलग्न कृषकले बताएका छन् । बाढीबाट कैलालीमा साढे दुई हजार परिवार विस्थापित भएका थिए । बाढी नघट्दा विस्थापितमध्ये करिब आधाले सातासम्म घर फर्कन पाएका थिएनन् ।