
हुम्लामा दुई महिनामा साढे ६ लाखबराबरको चिनियाँ मदिरा भित्रिएको छ ।
जिल्लाको खार्पुनाथ गाउँपालिकाभित्र पर्ने कुरिल्लाको जंगलबाट ५१ कार्टुन र सिमकोट गाउँपालिकाको वडा नम्बर ६ को लाग्नबाट ३८ कार्टुन चिनियाँ मदिरा सदरमुकाम भित्रिने क्रममा प्रहरीले बरामद गरेको हो ।
असार २० गते ठेहे प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक शुक्रराज डाँगीको नेतृत्वमा खटिएको प्रहरीले ५१ कार्टुन चिनियाँ मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको थियो ।
यो चिनियाँको मूल्यप्रति बोतल ६ सयको दरले ५१ कार्टुनको ६ लाख ४० हजार दुई सय हुन आउँछ ।
यस्तैगरी सिमकोट गाउँपालिका– ६ को लाग्नाबाट बरामद गरिएको ३८ कार्टुन चिनियाँ मदिराको मूल्य दुई लाख ७३ हजार रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सीताराम विष्टले जानकारी दिए ।
शिव मन्दिर क्षेत्रबाट एक सय ४० लिटर स्थानीय मदिरा पनि बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक विष्टले बताए । सोको मूल्य ४० हजार रहेको उनले बताए ।