मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण २२ बिहीबार १०:००:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्राफिक आइल्यान्डमा फूल फुलाउने त्रिपक्षीय सम्झौता महानगरद्वारा खारेज

Read Time : > 1 मिनेट
२०७७ श्रावण २२ बिहीबार १०:००:००

एरोपोनिक प्रणालीबाट ट्राफिक आइल्यान्डमा फूल फुलाउने त्रिपक्षीय सम्झौता खारेज भएको छ । काठमाडौं महानगरको वातावरण व्यवस्थापन विभागले एरोपोनिक प्रणालीबाट ट्राफिक आइल्यान्डको सुन्दरता बढाउने सम्झौता खारेज गरेको हो ।

विभागले ०७६ जेठ ३१ मा एरोपोनिक प्रणालीबाट बाह्रै महिना फूल फुलाउन महानगर, नबिल बैंक र एरोरुटबीच त्रिपक्षीय सम्झौता भएको थियो । सोचेअनुसारको परिणाम नआएपछि उक्त सम्झौता खारेज गरिएको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले  जानकारी दिए ।

प्रणाली जडान गर्न २० लाख ७९ हजार रुपैयाँ, पहिलो वर्षको वार्षिक सम्भार खर्च  आठ लाख ८४ हजार रुपैयाँ र दोस्राे वर्षको वार्षिक सम्भार खर्च १० लाख २८ हजार रुपैयाँ नबिल बैंकले एरोरुटलाई उपलब्ध गराउने गरी भएको त्रिपक्षीय सम्झौता साउन २१ बाट आपसी सहमतिमा खारेज गरेको जनाइएको छ । ‘प्रणालीबाट अपेक्षा गरिएको परिणाम प्राप्त हुन सकेन, त्यसैले सम्झौता भंग गरेका हौँ,’ श्रेष्ठले  भने ।

सम्झौताबमोजिम नयाँ सडक गेटअगाडि पूर्वतर्फ र राष्ट्रिय सभागृह गेटअगाडि पश्चिमतर्फ गरी पहिलो चरणमा दुईवटा आइल्यान्डमा यो प्रणाली जडान गरेर सधैँ फूल फुलिरहने आइल्यान्ड बनाउनुपर्ने थियो ।  प्रणाली जडान भएर फूल फुलेको प्रतिवेदन प्राप्त भएको मितिले दुई वर्षसम्म सञ्चालन, व्यवस्थापन, नियमित मलजल, संरक्षण तथा सम्भार गर्ने काम एरो रुटको थियो । सम्भार खर्चको गणना प्रतिवेदन प्राप्त भएको मितिदेखि हुने थियो । 

सम्झौताबमोजिम २०७६ भदौ अन्तिमसम्ममा ९० दिनभित्र प्रणाली जडान गरी फूल फुलाउनु  पर्ने भएपनि  कुनै  काम हुन सकेन ।

आइल्याण्डहरुमा फूल फुलाउन एरोपोनिक प्रणाली विकास तथा जडान गर्ने, नियमित रुपमा फूल फुलाउने, मलजल गर्ने, आवश्यक मर्मत संभार गर्ने आदि मुख्य काम एरोरुटले गर्नुपर्ने थियो । यसका लागि आवश्यक पर्ने लगानी तथा सञ्चालन खर्च नविल बैंकले व्यहार्ने र प्रणाली जडान गर्ने ठाउँ उपलब्ध गराउने, जडान भएको प्रणालीको संरक्षण गर्ने तथा अन्तरनिकाय समन्वय गराउने काम महानगरको जिम्मामा थियो । 

प्रविधिमा आधारित आइल्याण्डबाट परिणाम नआएपछि किन उपलब्धि हासिल गर्न सकिएन ? यदि यसो हो भने अब कस्तो प्रविधि जडान गर्ने र प्रविधिको सञ्चालन व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा पनि सोच्नु पर्ने भएको छ । 

के हाे एरोपोनिक प्रणाली ?

बिजुलीबाट चल्ने एरोपोनिक प्रणाली नेसनल एरोनटिक एण्ड स्पेस (नासा) ले आविष्कार गरेको हो । यस प्रणालीमा बिरुवाका लागि आवश्यक पर्ने पानी, पौष्टिक तत्व र अक्सिजन हुस्सुको फर्ममा जरासम्म पु¥याइन्छ । माटोमा हुर्कने बिरुवाले माटोमा भएको ठोस मल प्राप्त गर्छ । यस प्रणालीमा प्रविधिमार्फत बिरुवाका लागि आवश्यक खाद्यवस्तु जरासम्म पु¥याइन्छ । यस प्रविधिबाट फलफूल र तरकारी फलाउने गरिएको छ । 

काठमाडौंका आइल्याण्डमा जडान गरिएका प्रणालीमा फूल देखिन्थे तर यसले भित्री संरचना नढाकेका कारण सुन्दर भने थिएनन् । अर्कोतिर प्रणाली जडान गरिएको जमिनको स्याहार नगर्दा आइल्याण्डहरु अलपत्र जस्ता भएका थिए ।