महामारीको वेला उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि गालीगलौज र हातपात गर्नेहरूलाई कानुनी कारबाही गर्न चिकित्सक संघ कोसीले माग गरेको छ ।
२१ साउन अपरान्ह्र विराटनगरको कोसी अस्पतालमा उपचारका क्रममा एक पुरुषको मृत्यु भएपछि आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीलाई गालीगलौज गर्दै हातपात गरेका थिए ।
कलेजोमा समस्या भएर कोसीमा उपचार गराउन पुगेका विराटनगर– ९ का ४५ वर्षीय एक पुरुषको बुधबार आइसोलेसन वार्डमा मृत्यु भएको थियो । उनमा कोरोना संक्रमण देखिएको थियो ।
यता आफन्तले भने चिकित्सकको लापरबाहीले मृत्यु भएको र शव पनि घरमा लैजान नदिएको भन्दै जबर्जस्ती आइसोलेसन वार्ड भित्र छिरेर उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीमाथि गालीगलौज गर्दै हातपात गरेका थिए ।
कोरोना भाइरसको महामारीका वेला अग्रभागमा रहेर निरन्तर स्वास्थ्य सेवा गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि दुर्व्यवहार गर्नेहरूलाई अबिलम्ब कानुनी दायरामा ल्याउनुपर्ने माग संघको छ ।