मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २२ बिहीबार ०७:३०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जसपामा एक व्यक्ति-एक पद 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २२ बिहीबार ०७:३०:००

राजपा र समाजवादी पार्टी एकीकरणपछि बनेको जनता समाजवादी पार्टी नेपालले एक पद–एक व्यक्तिको नीति अंगीकार गर्ने भएको छ । बुधबारदेखि सुरु जसपा पहिलो कार्यकारणी समितिको बैठकमा पेस हुन थालेको समायोजनसम्बन्धी निर्देशिकामा यस्तो प्रस्ताव अगाडि सारिएको छ । जसपाको विधानले ‘एक व्यक्ति–एक पद’को व्यवस्था गरेको छ ।

प्रस्ताव बैठकबाट पारित गरेर लागू गर्ने नेताहरूले बताएका छन् । निर्देशिकामा ‘एक व्यक्ति–एक पद’ को प्रस्ताव छ । पार्टीको केन्द्रदेखि वडा तहसम्म पार्टी समायोजन गर्दा ‘एक व्यक्ति–एक पद’ लागू गर्ने भनिएको छ । वरीयता विवाद कायमै रहेको वेला पार्टीले केन्द्रदेखि वडासम्म ‘एक व्यक्ति–एक पद’ लागू गर्न लागेको हो । केन्द्रमा अहिले महन्थ ठाकुर र उपेन्द्र यादवको अध्यक्षतामा रहेको ५१ सदस्यीय कार्यकारणी समिति छ, जहाँ तीनजना वरिष्ठ नेता छन् । अन्य पदाधिकारी भने अब टुंग्याउने जसपाले जनाएको छ ।

एकीकृत पार्टीको पहिलो बैठकमा समसामयिक राजनीतिक प्रस्ताव, पार्टीको आर्थिक व्यवस्थापनसम्बन्धी प्रस्ताव र समायोजन, आन्तरिक आचारसंहितासम्बन्धी प्रस्तावका विषयमा बिहीबारदेखि छलफल गर्ने नेता केशव झाले जानकारी दिए । समायोजन निर्देशिकाले मंसिरभित्र केन्द्रदेखि वडा तहसम्मको पार्टी समायोजन काम सिध्याउने खाका बनाएको छ । सबै तहका समितिहरू समायोजन गर्दा सकभर सहमतिको आधारमा गर्नुपर्नेसमेत उल्लेख छ । सहमति नभएमा मात्रै निर्वाचन प्रक्रियामार्फत पार्टीको विधानले गरेको व्यवस्थाअनुसार समिति बनाउने भनिएको छ । पार्टी एकीकरण हुँदा एकीकृत पार्टीमा सबै ठाउँमा बराबरीको हिसाबले एकीकरण गर्ने सहमति थियो । 

पार्टीले लक्ष्मणलाल कर्ण, सवेन्द्रनाथ शुक्ला, राजेन्द्र श्रेष्ठ र नवराज सुवेदीको चार सदस्यीय कार्यदल बनाएर पार्टीको समायोजनसम्बन्धी निर्देशिका तयार पारेको छ । यही चार सदस्यीय कार्यदलले जसपाको विधानसमेत बनाएको थियो । 

समायोजन निर्देशिका कार्यदल समितिका सदस्य शुुक्लाले पार्टीको बैठकले समायोजनसम्बन्धी निर्देशिका पारितपछि अन्य काम अगाडि बढ्ने बताए । ‘पहिला पार्टीले औपचारिक रूपमा यसलाई पारित गर्नुपर्‍यो,’ शुक्लाले भने, ‘त्यसपछि मात्रै पदाधिकारी छान्नेदेखि समायोजनको काम अगाडि बढछन् ।’

बुधबारको पहिलो दिनको बैठकमा परिचयात्मक कार्यक्रम मात्रै भएको जसपाका अर्का नेता वृषेशचन्द्र लालले बताए । कार्यकारिणीका ५१ मध्ये मंगलबार ४१ सदस्य सहभागी थिए । पहिलो दिन राजनीतिक पृष्ठभूमिसहित प्रत्येकले १० देखि १२ मिनेट खर्चिएर आफ्नो परिचय दिएका थिए । बैठकमा केन्द्रीय कार्यकारणी समितिका नेतालाई प्रशिक्षण दिने कार्यक्रम पनि छ । १० वैशाखमा पार्टी एकीकरण गरेको जसपाले २८ असारमा मात्रै निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको थियो ।