मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
घम्बर नेपाली
२०७७ श्रावण २२ बिहीबार ०८:५४:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नेपाली परिवारभित्र जातको विमर्श

Read Time : > 5 मिनेट
घम्बर नेपाली
२०७७ श्रावण २२ बिहीबार ०८:५४:००

भ्रम र मिथकको खात लागेर दुर्गन्धित भएको हाम्रो पारिवारिक संरचनामा आँधी सिर्जना नगरी रूपान्तरण सम्भव छैन

हरेक मानिसको पहिलो पाठशाला परिवार हो । जहाँ व्यक्ति जन्मिन्छ, न्यानो मायामा लुट्पुटिँदै हुर्किंदै जान्छ । बोल्ने, वामे सर्ने, ताते–ताते गर्दै हिँड्ने, माया गर्ने, आदर–सम्मान गर्ने आदि कैयौँ जीवनोपयोगी ज्ञान र सीप व्यक्तिले परिवारमै सिकेको हुन्छ । बिस्तारै बढ्दै जाँदा राम्रा–नराम्रा, असल–खराब, प्रेम–घृणाजस्ता धारणा, मान्यता तथा विचारसम्बन्धी विषय पनि बालबालिकाले परिवारबाट सिक्दै जान्छन् । त्यसैले, एकथरी विद्वान्हरू परिवारलाई जीवनपर्यन्त सिकाइको मूल जगको रूपमा व्याख्या गर्छन् । द्वन्द्वात्मक भौतिकवादी व्याख्याता एंगेल्सले निजी सम्पत्तिको उत्पत्तिसँगै एउटा शोषणमूलक संस्थाको रूपमा परिवार अस्थित्वमा आएको तर्क गरेका छन् । केही क्रान्तिकारी महिलावादीहरू परिवार शोषणमूलक मात्र होइन, गैरसामाजिक संस्था भएको पनि दाबी गर्छन् । 

सिंगो समाजमा राज्य एउटा बृहत् संस्था हो भने परिवार त्यसको सूक्ष्म एकाइ । बृहत् राजनीतिक प्रणालीमा आउने फेरबदलले परिवारलाई केही न केही प्रभाव पारेकै हुन्छ । त्यसको ठीकविपरीत पारिवारिक संरचनाको असर पनि बृहत् सामाजिक संरचनामा परिरहेको हुन्छ । विश्व सन्दर्भमा परिवारका विभिन्न आयामबारे प्रशस्तै अध्ययन, अनुसन्धान र छलफल भए पनि हामीकहाँ यसबारे खासै चिन्तन र विमर्श भएको पाइँदैन । खासगरी, नेपालमा ठुल्ठूला राजनीतिक परिवर्तन भइरहँदा किन हाम्रो परिवारमा वर्षौंदेखि जमेर बसेको पितृसत्ता, जात–व्यवस्था, छाउपडी, बोक्सा–बोक्सी, धामीझाँक्रीजस्ता पुरातन, अमानवीय प्रथा, परम्परा र प्रणालीमाथि छलफल हुन सकिरहेको छैन ? राज्यभन्दा निकै बलियो अवस्थामा रहेको पारिवारिक संरचनामा यस्ता कुप्रथा र प्रणालीबारे बहस नभईकन के बृहत् सामाजिक रूपान्तरण सम्भव होला ? भन्ने मूलभूत प्रश्नको समाजशास्त्रीय हिसाबले यस आलेखमा संक्षिप्त छलफल गर्न खोजिएको छ । 

आजभन्दा पौने दुई सय वर्षपहिले कार्ल मार्क्सले धर्मलाई अफिमको संज्ञा दिएका थिए । विश्वभरि जनसंख्याको भीमकाय हिस्सा आज पनि धार्मिक नशामा लठ्ठिएको छ । हिन्दू धार्मिक नशा अरूभन्दा अझ बढी खतरनाक र पाशविक किन छ भने यसले सिंगै जात–व्यवस्था, पितृसत्तालगायत अन्धविश्वासका पहाडलाई टाउकोमा बोकेर हिँडिरहेको छ । अन्धविश्वास र पितृसत्ताको अभ्यास मुस्लिम, इसाई, बौद्धधर्ममा समेत प्रचलित भए पनि जात–व्यवस्थाको अभ्यास ती धर्ममा पाइँदैन । तर, हिन्दूधर्मको अर्थ–राजनीति पूर्णतया उँच–नीचपूर्ण वर्ण व्यवस्थाबाट निर्देशित र संरचित हुँदै आएको छ । यो हिन्दू धार्मिक सत्तालाई टिकाउने मात्र होइन, यसलाई मलजल गर्ने, फुलाउने र फलाउने काममा हिन्दू पारिवारिक संरचनाको अहं भूमिका छ ।

बाग्लुङ जिल्लामा गरेको एउटा अनुसन्धान (सन् २०१४) अनुसार जातपात र छुवाछुत मान्नुको मुख्य कारणअन्तर्गत कुलका देवी–देवता रिसाउने र परिवारमा अनिष्ट हुन सक्ने अभिमत उत्तरदाताको थियो । त्यसैकारण उनीहरू ‘तल्लो जात’का व्यक्तिलाई घरमा प्रवेश गराउन, उनीहरूसँग विवाह गर्न तथा जन्मदेखि मृत्यु हुँदासम्मका संस्कारगत कार्यमा अलग गर्नुपर्ने बताएका थिए । साथै केही दलित समुदायका व्यक्तिलाई किन गैरदलितको घर प्रवेशमा रोक लगाइएको होला भनेर सोधिएको थियो । उनीहरूको जवाफ थियो– ‘हामी माथिल्लो जातको घरमा प्रवेश गरे त रगत छादेर मरिन्छ, आफ्नै परिवारतिर अनिष्ट आइलाग्न सक्छ भनेर कहिल्यै त्यसतर्फ सोच्दै सोचिएन ।’ यस्ता अनगिन्ती त्रासदीपूर्ण मिथकले घर गरेर बसेका छन्, जात–व्यवस्थालाई टिकाउन । 

विद्यालय तहमा पढ्दै गर्दा गैरदलित साथीहरूले भन्थे– ‘जनैको मन्त्र अछुत जातलाई सुनायो भने बहुलाइन्छ रे !’ उनीहरूको मनको अन्तरकुन्तरमा डरले राज गरिरहेको आभास हुन्थ्यो । कहिलेकाहीँ जनै फेरिदिने बाहुनलाई बाटोमा भेटिहाले झन्डै एक मिनेटसम्म उनीहरूले ढोगेको देख्दा अचम्म लाग्थ्यो । कतै लामो यात्रा गर्दा कामीलाई देखेर साइत बिग्रिएको भनेर सरापेको धेरैपटक सुनिएकै छ । ग्रहण लाग्दा सार्कीले छेकेको भनेर गाली गर्ने बाहुन–क्षेत्रीलाई पनि भोगिएकै छ। 

चरम धार्मिक अन्धविश्वासमा अडिएको हाम्रो पारिवारिक संस्था नै जात–व्यवस्था, पितृसत्ता, छाउपडीलगायत क्रूर प्रथालाई टिकाउने जड हो भनेर बुझ्न अब ढिलो भएन र ?

‘अछुतलाई दूध–घिउ दिए गाईभैंसी रूख चढ्छन्’ भन्ने मान्यता पनि हिन्दू परिवारमा भेटिन्छन् । दलित समुदायलाई होच्याउने, घृणा गर्ने उखान–टुक्का, गीत, अलंकारहरू निकै बनाइएका हुन्छन् । परिवारभित्र कसैले आफूभन्दा तल्लो जातसँग विवाह नगरोस् भनेर ‘पानी खानु मूलको बिहे गर्नु कुलको’ जस्ता भाष्य परिवारभित्र अनवरत घोकाइराखिएकै हुन्छ । 

एउटै आर्यमूलबाट पैदा भएका मानिस आजपर्यन्त अछुतको श्रेणीमा अपमानित जीवन बाँच्न बाध्य छन् । यो अछुतपन हिन्दू पारिवारिक संरचनाको निकै गहिराइसम्म रहेको छ । जसको कुनै वैज्ञानिक र तार्किक कारण छैन । फगत अन्धविश्वास, भ्रम, मिथकबाट सिर्जित त्रासदीमा झाँगिरहेको छ । यसलाई टिकाउन धार्मिक सत्ताले सबै हत्कण्डा पारिवारिक संस्थामार्फत लागू गराइरहेको छ । जसबाट कथित छुत जातभित्रका विशेषाधिकारी वर्गले निरन्तर फाइदा लिइरहेका छन् । उनीहरूको सजातीय सत्तालाई अकण्टक राखिराख्न धार्मिक अन्धतामा रुमल्लिएको परिवार निकै मलिलो बारी बन्न पुगेको छ ।

सारा पृथ्वी आज एउटा गाउँमा रूपान्तरण भएको छ । नेपालमा उत्पादन भएको आँप अमेरिकी उपभोक्ताले सजिलै खान सक्छन् । जापानमा उत्पादन भएको गाडी हामी नेपालीले प्रयोग गर्न सक्छौँ । सूचना प्रविधिको उच्चतम विकासले संसारका ज्ञान, विज्ञानलगायत अधिकतम चिजमाथि हाम्रो सहज पहुँच हुन सम्भव भएको छ । भूमण्डलीकरणकै कारण लाखौँ नेपाली विश्व श्रमबजारमा जान सकेका छन् । अन्तर्राष्ट्रियस्तरको शिक्षा हासिल गर्न थुप्रै नेपाली विश्वका विभिन्न विद्यालय तथा विश्वविद्यालयमा पुगेका छन् । भूमण्डलीकरणको चौतर्फी प्रहारबाट कैयौँ पुरातन संस्कृति, मूल्य–मान्यता भत्किएका छन् । तर, हिन्दू जात–व्यवस्था बीसको उन्नाइस हुन सकेको छैन ।

डा. मित्र परियारले बसाइँ–सराइ गरेर बेलायतमा बसोवास गर्ने गोर्खा सैनिकको परिवारमा गरेको अध्ययनले उक्त स्थानमा दलित समुदायका गोर्खा सैनिकले जातीय विभेद भोग्नुपरेको नतिजा निकालेका छन् । विश्वको अब्बल प्रजातन्त्र मानिने अमेरिका, अस्ट्रेलिया, बेलायत, नर्वेमा पनि नेपाली परिवारसँगै जात–व्यवस्था पुगेको विभिन्न अध्ययन, समाचार तथा सामाजिक सञ्जालमा पढ्न पाइन्छ । जापानमा धेरै नेपाली श्रम तथा व्यवसाय गर्न जाने भएकाले त्यहाँ जातीय विभेद निकै चरम अवस्थामै रहेको भुक्तभोगीसँग गरिएको अन्तर्वार्ताबाट प्रस्ट हुन्छ । मोटो रकम लिएर काम गर्न जापान बोलाउने र जातको कारण देखाएर कामबाट बेदखल गर्ने धेरै घटना जापानमा भइरहेका छन् । भारत आफैं जात–व्यवस्थाको जन्मभूमि भएकाले त्यहाँको कथा वर्णन गरिसाध्य नै छैन । यसरी तीव्र गतिमा आइरहेको भूमण्डलीकरणको आँधीसँग पनि जात–व्यवस्था आफूलाई अनुकूलित गर्न सफल भएको छ । 

नेपाल प्रजा परिषद्बाट सुरु भएको नेपाली क्रान्तिकारी आन्दोलन विभिन्न घुम्ती पार गर्दै आजसम्म आइपुगेको हो । बिपी कोइरालालगायत परिवारले प्रजातान्त्रिक आन्दोलनमा खेलेको भूमिकालाई कम आँक्न सकिँदैन । त्यस्तै पुष्पलाल श्रेष्ठसहितका क्रान्तिकारी पंक्तिले नेपालमा कम्युनिस्ट पार्टी गठन गरी प्रगतिशील आन्दोलनको अगुवाइ गरेको यथार्थ पनि घामझैँ छर्लंग छ । यसबीच हजारौँ दलहरू गठन र विघटन हुँदै सत्तामा पुगे । तर, कुनै पनि दलले जात–व्यवस्थालाई उन्मूलन गर्ने सवाललाई केन्द्रीय मुद्दा बनाउन सकेका छैनन् । अन्धविश्वास र जातपात नमान्ने भनेर नेपालका कम्युनिस्टले दलितका निम्ति विभिन्न ललिपप त बाँडे, तर उनीहरूको प्राथमिक एजन्डामा दलित मुद्दा कहिल्यै दर्ज भएन । दलितमुक्तिको प्रश्नलाई जहिले पनि वर्गीयमुक्तिको मातहतमा राखिदिए । 

दशवर्षे जनयुद्धमा दलितहरू मुक्ति या मृत्युको कसम खाएर अग्रमोर्चामा लामबद्ध भए । जसले गर्दा दलितमुक्तिको मुद्दा जबर्जस्त स्थापित भयो । यो सशस्त्र अभियानले जात–व्यवस्थाको जरा हल्लाउन सफल भएको थियो । सदियौँदेखि पुरातन हिन्दू अन्धविश्वासमा अडेको नेपाली परिवारमा एउटा गतिलो धक्का दिएकै थियो जनयुद्धले । जसको परिणाम घर–मन्दिर प्रवेश, सहभोज, अन्तर्जातीय विवाह तथा सत्तामा विशेषाधिकारको बहसले स्थान पाएको थियो । जब माओवादी शान्तिप्रक्रिया हुँदै सत्तामा आइपुग्यो, यी सबै उपलब्धि मात्र विघटन भएनन्। बरु माओवादी नै पुरातन धार्मिक मूल्य–मान्यतालाई अँगाल्ने स्थितिसम्म पुगेको छ । हिजो क्रान्तिकारी आदर्श मानिएका परिवार आज सांस्कृतिक विचलनबाट ग्रसित भएर नराम्रोसँग गनाउने भइरहेका छन् । तत्कालीन मुख्य नेतृत्व अहिले ग्रहदशा कटाउनेदेखि तीर्थाटन गर्ने धर्माती नेतामा स्खलित भइसकेका छन् । फलतः उनीहरू अब प्रगतिशीलता, रूपान्तरण, वर्गसंघर्ष, जात–व्यवस्थाबाट मुक्तिजस्ता सवाललाई अनदेखा गर्ने अवस्थामा पुगेका छन् । 

राज्यको तहबाट हेर्दा दलितमुक्तिको दिशामा केही महत्वपूर्ण काम अवश्य भएका छन् । देश छुवाछुतमुक्त राष्ट्र घोषणा भइसकेको छ । छुवाछुत तथा भेदभावजन्य कार्यलाई गम्भीर सामाजिक अपराधको रूपमा दण्डनीय हुने संवैधानिक व्यवस्था गरिएको छ । कमजोर नै भए पनि दलितमैत्री कानुन बनेका छन् । भलै यी कानुनी तथा नीतिगत व्यवस्था लागू गर्ने संयन्त्र बनाउन सरकारले आलटाल गर्दै आएको छ । यद्यपि परिवारको तहमा गएर हेर्दा जातीय हिंसा, दमन र भेदभाव न्यूनीकरण हुन नसकेको तथ्य पछिल्ला विभेदका घटनालाई सरसर्ती नियाल्दा प्रस्ट हुन्छ । नवराज विश्वकर्मा भएकै कारण छोरीसँग विवाह वर्जित गर्न ६ जना युवाहरूको ठकुरी परिवारले कत्लेआम गरिदियो । अंगिरा पासी दलित परिवारकी बालिका भएकै कारण बलात्कार गरेर वडाध्यक्षकै संलग्नतामा जबर्जस्ती बलात्कारीलाई बिहे गराई हत्या गरियो । दलित समुदायमाथि यस्ता हत्या, हिंसा, बलात्कार, भेदभावका शृंखला अझै बढ्दो क्रममा छन् । 

दलितमाथि भइरहेका यी तमाम बर्बरताको जरामा पुगेर समाधानका लागि बहस भने हुन सकिरहेको छैन । चरम धार्मिक अन्धविश्वासमा अडिएको हाम्रो पारिवारिक संस्था नै जात–व्यवस्था, पितृसत्ता, छाउपडीलगायत क्रूर प्रथालाई टिकाउने जड हो भनेर बुझ्न अब ढिलो भएन र ? नेपाली परिवारलाई विवेक, तर्क र विज्ञानमा आधारित भएर सोच्न र व्यवहार गर्न उत्प्रेरित गराउने सरकारी र गैरसरकारी क्षेत्रबाट भएका प्रयास के–के हुन् ? के हाम्रो शिक्षा प्रणालीले ०११ सालबाटै दलितले हिन्दूका आराध्यदेव पशुपति मन्दिर प्रवेश गर्दा केही अनिष्ट नहुने कुरा परिवारलाई सिकाउन सक्यो ? माओवादी द्वन्द्वकालमा दलित नेता–कार्यकर्ता कैयौँ गैरदलितको घरमा बस्दा, खानपिन गर्दा कसैको पनि कुलदेवता नरिसाएको तथ्य हामीले परिवारलाई किन बुझाउन सकेनौँ ? अन्तर्जातीय विवाह गरेका थुप्रै सफल जोडीबारे हाम्रो परिवारमा कति छलफल गर्‍यौँ ?

हजारौँ वर्षदेखि अनेकौँ अन्धता, भ्रम र मिथकहरूको खात लागेर निकै दुर्गन्धित भएको हाम्रो पारिवारिक संरचनामा गतिलो आँधी सिर्जना नगरी रूपान्तरण असम्भव नै देखिन्छ । दिनानुदिन थला पारिरहेको जात–व्यवस्थाको क्यान्सरलाई जुनकुनै बाटोबाट निदान गर्नुको विकल्प छैन । अन्यथा यो रोगलाई संक्रमित हुन दिने हो भने यसले हाम्रो अस्तित्वमाथि नै प्रहार गर्ने निश्चित छ ।