मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २२ बिहीबार ०७:०८:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

स्वास्थ्यमा जलवायु परिवर्तनका प्रभाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २२ बिहीबार ०७:०८:००

जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढेसँगै यसको प्रभाव जीव तथा वनस्पतिको जीवनचक्रमा पनि पर्न थालेको छ । पहिले–पहिले मधेस, बेंसी या नदीकिनारका गर्मी ठाउँमा हुने बोटबिरुवा या वनस्पतिका प्रजातिहरू अब पहाडतिर र लेकतिर पनि भेटिन थालेका छन् । जीवजन्तु, कीटपतंग तथा विभिन्न किसिमका जीवाणुहरू पनि बसाइँ सर्न थालेका छन् । उच्च पहाडी भेगमा हुने वनस्पति अब हिमालको फेदीतिर सरेका छन् । गुराँस फुल्ने वनको रेखा पनि माथितिर सर्न थालेको छ । बेंसीमा हुने खेतीपाती पहाडतिर पनि हुन थालेको छ । काठमाडौं उपत्यकामा अब आँप र सुन्तला फल्न थालेका छन् । 

यता तराई या गर्मी ठाउँमा मात्र हुने प्रजातिका लामखुट्टे अब हिमालका फेदीतिर पनि भेटिन थालेका छन् । केही वर्षपहिलेसम्म मधेस तराईमा लाग्ने रोगहरू पहाडतिर, लेकाली बस्तीतिर पनि पुगेका छन्, यो गम्भीर विषय हो । डेंगु त्यस्तै प्रकारको रोग हो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगले अब नेपालका सबैजसो बस्ती समेट्न थालेको छ । जलवायु परिवर्तनका कारण उत्पन्न यो अवस्थाको सामना गर्ने दीर्घकालीन उपायहरू अवलम्बन गर्न ढिलो हुन थालेको छ । नेपाल, खासगरी हिमालय पर्वतशृंखला जलवायु परिवर्तनको सबैभन्दा बढी प्रभाव झेल्ने क्षेत्रमा पर्छ । हिमरेखा माथितिर सर्दै गएको छ । स्थानीय रूपमा भइरहेको मानवीय हस्तक्षेप र विश्वव्यापी तापमान वृद्धिका प्रभावले गर्दा पहिले जे–जस्तो सुर र लयमा यहाँको रैथाने जीवन चलेको थियो, अब त्यसरी नै चल्न गाह्रो हुन थालेको छ । 

गर्मी ठाउँमा मात्र हुने प्रजातिका लामखुट्टे अब हिमालका फेदीतिर भेटिन थालेका छन्, केही वर्षपहिलेसम्म मधेस तराईमा लाग्ने रोगहरू पहाडतिर, लेकाली बस्तीतिर पनि पुगेका छन्, यो गम्भीर विषय हो ।
 

खाद्य तथा फलफुल बाली, पशुपालन, जलस्रोतको उपलब्धताका क्षेत्रमा यसका नकारात्मक प्रभावहरूसँग सामना गर्ने तयारी गर्नु जरुरी छ । जलवायु परिवर्तनका तत्काल देखिएका प्रभावहरू भने कालाजार र डेंगुजस्ता रोग हुन् । यसको प्रतिरोध गर्ने या उपचार गर्ने स्थानीय पद्धति छैन । मानिस यस्ता रोगसँग अभ्यस्त छैनन् । स्वास्थ्य क्षेत्रका संस्थासमेत यस मामिलामा पूर्वसावधानी र तयारीको अवस्थामा नहुन सक्छन् । यसैले फैलिँदै र पहाड चढ्दै गरेका यी रोगबारे स्थानीय बासिन्दालाई अभियानकै रूपमा सचेत गराउने, त्यसबाट बच्ने उपाय बताउने र आवश्यक पर्दा उपचार पनि स्थानीय रूपमा कमसेकम इलाकास्तरका अस्पतालसम्म विस्तार गरिएको हुनु आवश्यक छ । 

जलवायु परिवर्तनसँगै जीवजन्तु र वनस्पतिले आफूलाई वातावरणअनुकूल स्थानान्तरण गर्छन् । कतिपय जीवजन्तु मासिन्छन्, कतिपय वनस्पति पनि बिलाउँछन् । पहिले नपाइने वनस्पति र जीवजन्तु पाइन थाल्छन् । यसलाई जीवनको अनिवार्य हिस्सा मानेर परिवर्तनलाई स्वीकार गर्नु र तयार हुनु एउटा विकल्प होला भने अर्को विकल्प ठूलो मात्रामा हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुकलाई जलवायु परिवर्तनप्रति गम्भीर हुन दबाब दिन नेपालजस्ता देशहरूको ठूलो भूमिका हुन सक्छ । साथै जीव–वनस्पति जीवनचक्रमा आउने परिवर्तनसँग अनुकूलित भएर जिउन सिक्नु नै जलवायु परिवर्तनका प्रभावसँग जुध्ने उचित विकल्प हुन सक्छ । उच्च पहाडी भेगमा प्रवेश गरेका नयाँ रोगको सामना गर्ने तयारी पनि त्यसैको अनिवार्य हिस्सा हो ।