अमेरिकाले हासिल गरेको प्रभुत्वशाली स्थान र वर्चस्व उसैको प्रगतिको बाधक बन्दैछ
टिकटकको भविष्य दाउमा राखेर अमेरिकाले आफूलाई डिजिटल बेइमान (डिजिटल रग) मुलुकका रूपमा देखाउँदै छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो चिनियाँ स्वामित्वमा रहेको निकै लोकप्रिय भिडियो सेयरिङ एपलाई अमेरिकामा प्रतिबन्धित गर्ने धम्की दिएका छन् । साथै, उनले सरकारले हिस्सेदारी पाउँछ भने यो एप किन्न अमेरिकी कम्पनीलाई अनुमति दिन तयार रहेको पनि बताएका छन् । टिकटक यसखाले अनिश्चितताको सामना गर्ने एक्लो चिनियाँ एप होइन । अमेरिकी रक्षामन्त्री माइक पोम्पेओले सोमबार चीनमा विकास भएको अर्को लोकप्रिय सामाजिक सञ्जाल विइच्याटलगायत अन्य एपसमेत अमेरिकामा प्रतिबन्धित हुन सक्ने संकेत गरेका छन् ।
बितेका केही दशकयता, अमेरिका आफूलाई नवप्रवर्तनको इन्जिन बनेको दाबी गर्छ । उसले आफूलाई नवप्रवर्तन आदर्शका रूपमा उभ्याएको पनि हो । अमेरिकी नवप्रवर्तन आधुनिक अमेरिकी अर्थतन्त्रका साथै विश्व अर्थतन्त्रको पनि जीवनधारा बनेको हो । एप्पल एवं फेसबुकजस्ता इन्टरनेट जायन्ट सधैँ नै नयाँ–नयाँ चिज विकास गर्ने भोकमा हुन्छन् । उनीहरूले गरेको नवप्रवर्तनले मानिसको जीवनशैलीलाई सफलतापूर्वक परिवर्तन पनि गरेको छ । त्यस अवधिमा समेत चीनको प्रविधि क्षेत्र विस्तारित भइरहेकै थियो । अहिले, टिकटक मौलिक सिर्जना संस्कृतिको विकास गर्ने एपका रूपमा उदय भएको छ, जसलाई दसौँ लाख अमेरिकी युवायुवतीले खुबै रुचाएका छन् । र, फेसबुकको एकाधिकार तोडिएको छ । टिकटक चीनमा इन्टरनेटमा भएको विकासको परिणामस्वरूप भएको चिनियाँ नवप्रवर्तनको एउटा उत्पादन हो ।
चीन नवप्रवर्तनमा व्यस्त रहँदा अमेरिकाचाहिँ चीनको नवप्रवर्तनलाई रोक्न त्यसविरुद्ध पहरेदारी गर्दै छ । यही विकृत व्यवहारले अमेरिकालाई नवप्रवर्तन र सुधारलाई निरन्तरता दिइरहन रोकेको छ ।
चीनले इन्टरनेटको जसरी नियमन गरिरहेको छ, त्यसलाई वासिंटनले ‘स्वतन्त्रताको दमन’का रूपमा चित्रित गर्ने प्रयास गर्दै चीनको इन्टरनेटलाई तहसनहस बनाउने प्रयास गरिरहेको छ । तर, अमेरिकाले दमनकारी भन्ने गरेको चिनियाँ इन्टरनेटको त्यस्तो वातावरणमा पनि टिकटक अत्यन्त लोकप्रिय बनेर उदाउँदा त्यो अमेरिकी राष्ट्रपति र अमेरिकी प्रविधिलाई पचाउन गाह्रो भइरहेको छ । फेसबुकले त टिकटकलाई पहिलेदेखि नै प्रतिद्वन्द्वीको रूपमा हेर्ने गरेको हो । तर, जब फेसबुक टिकटकको नक्कल गर्न असफल बन्यो, ऊ यसलाई दबाउन अमेरिकी सरकारसँग मिलेको छ ।
अमेरिकाको यति ठूलो इन्टरनेट जायन्टको यो हालत छ भने अरूले पनि त त्यसैको सिको गर्ने होलान् ? जब खुला बजार प्रतिस्पर्धाबाट अरूलाई दबाउन सकिन्न, तब यी कम्पनीहरू वासिंटनको सहारा लिन पुग्छन् । यस्तो अमेरिकाबाट अब कसले नवप्रवर्तनको अपेक्षा गर्ने ?
आखिर, अमेरिका आफूले चीनसँग सुरु गरेको उच्च प्रविधिको दौडमा हारिने हो कि भनी डराएकोे छ । यो हारिने डरले अमेरिकालाई उसको गिर्दाे साख र शक्ति बचाउन आफ्नो नवप्रवर्तन अभिवृद्धि गर्नेभन्दा पनि प्रतिस्पर्धीहरूमाथि जाइलाग्ने स्थानमा पुर्याइदिएको छ । यो मानसिकताले अमेरिकालाई अब नवप्रवर्तनको इन्जिन होइन, कि टिकटक र विइच्याटजस्ता लोकप्रिय एपहरू सिर्जना गर्न अक्षम बनाउनेछ ।
यदि टिकटकलाई प्रतिबन्धित गरियो वा बेच्न बाध्य बनाइयो भने त्यसको अर्थ अमेरिकाले कुनै पनि सफल चिनियाँ कम्पनीहरू, चाहे ती अमेरिका वा बाहिर कहीँका हुन्, धेरै लोकप्रिय भए भने तिनले टिकटक वा विइच्याटकै जस्तो परिणति भोग्नुपर्नेे नजिर बसालेको हुनेछ । तर, अमेरिकाले अरूलाई झुकाउने यस्तो रणनीतिलाई कहिल्यै जायज ठहर्याउन सक्दैन । अमेरिकाको डिजिटल बेइमानीको मानसिकताले अमेरिका विश्वव्यापी प्रविधि र अर्थतन्त्रमा कसरी आफ्नो प्रभुत्व कायम राख्दो रहेछ भन्ने झल्काउँछ । तर, यो अमेरिकाले आफ्नो प्रविधिगत नवप्रवर्तनको खुट्टामा आफैँले बन्चरो हानेको हुनेछ । किनकि अमेरिकाका लागि यो आफैंले आफूलाई लङ्गडो बनाउनुसरह हो ।
चीन नवप्रवर्तनमा व्यस्त रहँदा अमेरिकाचाहिँ चीनको नवप्रवर्तनलाई रोक्न त्यसविरुद्ध पहरेदारी गर्दै छ । यही विकृत व्यवहारले अमेरिकालाई नवप्रवर्तन र सुधारलाई निरन्तरता दिइरहन रोकेको छ । र, अमेरिकाले हासिल गरेको प्रभुत्वशाली स्थान र उसको वर्चस्व उसैको प्रगतिको बाधक बन्दै गइरहेको छ ।
(वेनवेन ग्लोबल टाइम्सकी स्तम्भकार हुन्)
ग्लोबल टाइम्सबाट