Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ६ मंगलबार
  • Tuesday, 22 September, 2020
फाइल फाेटाे
केदार दाहाल काठमाडौं
२०७७ श्रावण २२ बिहीबार ०७:३९:००
अर्थ प्रिन्ट संस्करण

निगमको उद्धार उडानमा पाइलटलाई भेदभाव 

अप्रेसन विभागका प्रमुखका भान्जा, बुबालाई ९८ घन्टासम्म उडानको अवसर दिँदा पुराना पाइलट भने उडानविहीन

केदार दाहाल, काठमाडौं
२०७७ श्रावण २२ बिहीबार ०७:३९:००

नेपाल वायुसेवा निगम व्यवस्थापनले कोरोना उद्धार उडानमा पाइलटलाई काखा र पाखा गरेको भेटिएको छ । गत जेठ ३२ देखि निगमले केही पाइलटलाई झन्डै १ सय घन्टा उद्धार उडानमा सहभागी गराउँदा वर्षौँदेखि काम गरेका वरिष्ठ क्याप्टेनहरूलाई भने एउटा पनि उडान नदिइएको पाइएको छ ।

 निगम व्यवस्थापनको मुख्य निकाय अप्रेसन विभाग प्रमुख दीपुराज जुहार्चनले आफ्ना नजिकालाई मात्रै उडान गर्न दिइरहेको पाइएको छ । नयाँ पत्रिकालाई प्राप्त ३२ जेठदेखि ६ साउनसम्मको उडानतालिकामा निश्चित क्याप्टेन र को–पाइलटलाई मात्रै उडानको अवसर दिइएको छ । निगमले तेस्रो चरणसम्म ७३ उडान गरेर १३ हजार ७ सय ९६ यात्रुलाई सेवा दिएको छ । चौथो चरणको उद्धार उडान १८ वटा गर्दै छ । 

संकटको समयमा सबै पाइलटलाई समानुपातिक उडान गर्न दिनुपर्नेमा आफन्त र नजिकका आसेपासेलाई मात्रै अवसर दिएको पाइएको छ । खासगरी एयरबस ३२० सिरिजका दुई थान न्यारोबडीको उडानमा क्याप्टेन र को–पाइलटलाई बढी भेदभाव गरिएको देखिन्छ । दुई थान जहाजका लागि ३३ जना क्याप्टेन र को–पाइलट छन् । उडान गर्दा पाइने भत्ता तथा अन्य सुविधाका कारण अप्रेसन विभागको मिलेमतोमा भेदभाव भएको हो । 

सबैले समानुपातिक दरले उडान अवसर नपाउनुमा हजारौँ कारण रहेको अप्रेसन विभाग प्रमुख जुहार्चनको जिकिर छ । ‘कोही पहिले उड्न मानेनन्, कोही अहिले खोजिरहेका छन्, तर सकेसम्म मिलाइएको छ,’ जुहार्चनले भने । कति पाइलटहरू उडान नहुँदा रोकिएकाले तालिम नगरी उडाउन नमिल्ने भएकाले पनि समस्या भएको जुहार्चनको भनाइ छ ।

गत ३२ जेठदेखि सुरु भएको उद्धार उडानमा सबैभन्दा बढी क्याप्टेन योगेश हिराचनले ९८ घन्टा उडान अवसर पाएका छन् । उनी अप्रेसन विभाग प्रमुख जुहार्चनका भान्जा नाता पर्छन् । त्यस्तै, क्याप्टेन यामप्रसाद जुहार्चनले ८७ घन्टा ३० मिनेट उडान गरेका छन्, जो अप्रेसन विभाग प्रमुखका नाताले बुबा हुन् । तेस्रोमा सबैभन्दा बढी उडान अवसर उनका सबैभन्दा नजिकका साथी को–पाइलट उद्धव घिमिरेले ७५ घन्टा ३० मिनेट पाएका छन् । यता वर्षौँदेखि काम गरेका निगमका वरिष्ठ क्याप्टेन डिएन रानाको ४० दिनमा उडान शून्य छ । 

त्यस्तै, क्याप्टेन एच थापाको पनि शून्य छ । को-पाइलटहरू पी खड्का, आरके काफ्ले, एमबी शाहको पनि उडान शून्य रहेको छ । क्याप्टेन पी राजभण्डारी र क्याप्टेन एसके धावाजुले ४० दिनमा पाँच घन्टा मात्रै उडान गरेका छन् । अन्यले पनि १६ देखि २० घन्टा पाएका छन् । अप्रेसन विभागका प्रमुखले प्रतिशोधका आधारमा उडानको अवसर दिने गरेको निगमका एक अधिकारीले बताए । 

मासिक ४५ घन्टा उडान नपुगेका पाइलटहरूलाई ४५ घन्टाबराबरको भत्ता दिनुपर्ने व्यवस्था छ । अप्रेसन विभागले व्यवस्थापन गर्न नजान्दा २६ जना को–पाइलट र क्याप्टेनलाई उडान नै नगर्दा पनि ४५ घन्टाको भत्ता दिनुपर्ने भएको छ । व्यवस्थापनका कारण झन्डै ५० लाख भत्ता उद्धार उडानमा सहभागी नभएकाहरूलाई दिनुपरेको छ । ‘सबैलाई समानुपातिक उडान गर्न दिइएको भए धेरै हुनेको घट्ने थियो र सबैको उडान अवधि ४५ घन्टा पुग्ने थियो,’ स्रोतले भन्यो ।

पाइलट तथा को–पाइलटले ९० दिनमा ३ वटा उडान नगरे सेमिलुटर तालिम गर्न इन्डोनोसिया जानुपर्ने हुन्छ । 

उडान गर्न पाउनेले कति पाउँछन् भत्ता ?

निगमका पाइलटहरूले उडान गर्न पाउँदा मात्रै भत्ता पाउँछन् । उड्न नपाउँदा भने वरिष्ठ पाइलटहरूले मासिक ७१ हजार र को–पाइलटहरूले ६० हजार रुपैयाँ पाउने गरेका छन् । तर, उड्ने अवसर पाउनेहरूले भने मासिक ५ देखि ७ लाखसम्म कमाउने गरेका छन् । 

उड्न अवसर पाउनेहरूले सेक्टर हेरेर दैनिक १ सय ५० डलरदेखि १ सय ७० डलरसम्म पाउँछन् । खान र बस्न होटेलको व्यवस्था हुन्छ । अर्कोतर्फ क्याप्टेनहरूले उडान गरेको प्रतिघन्टा ४ हजार रुपैयाँ छुट्टै भत्तासमेत पाउँछन् । यसरी हेर्दा सबैभन्दा बढी उडान गर्ने क्याप्टेन योगेश हिराचनले ९८ घन्टा उडान गर्दा भत्ता मात्रै ३ लाख ९२ हजार बुझेका छन् । 

त्यस्तै, उडान गरेको दिन छुट्टै दैनिक १२ हजार ७ सय रुपैयाँ भत्ता पाउँछन् । अन्य तलब र भत्ता गरेर उनले ७ लाखभन्दा बढी बुझेका छन् । तर, उडान गर्न नपाएकाहरूले भने सुक्खा तलब मात्रै लिएर बस्नुपरेको छ ।