Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७७ श्रावण २२ बिहीबार ०५:४२:००
Read Time : > 5 मिनेट
फिचर प्रिन्ट संस्करण

काठमाडौंका घरबेटी बिलखबन्दमा 

Read Time : > 5 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७७ श्रावण २२ बिहीबार ०५:४२:००

कोभिड–१९ को प्रभावले व्यापार व्यवसाय चौपट हुन थालेपछि काठमाडौं उपत्यकाका पसलहरू धमाधम खाली हुन थालेका छन् । व्यापार व्यवसाय नहुँदा पनि महँगो भाडा तिरेर थेगिराख्न नसक्ने भएपछि सटर बन्द हुन लागेका हुन् । ठमेलमा घर खाली हुन थालेपछि घरधनी ५० प्रतिशत भाडा छुट दिन सहमत भएका छन्, तैपनि व्यवसाय बन्द गर्ने क्रम रोकिएको छैन । 

सरकारले लकडाउन अवधिमा श्रमिक तथा ज्यालादारी गरेर जीवन चलाउने वर्गलाई यस अवधिको सकेसम्म भाडा छुट दिनु तर जबर्जस्ती घरबाट ननिकाल्न घरधनीलाई आग्रह गरेको थियो । तर, बाध्यकारी भने होइन । लकडाउन अवधिको घरभाडा मिनाह गरिपाउँ भन्दै नेपाल नाई संघलगायतले सर्वोच्च अदालतमा हालेको रिटमा सुनुवाइ गर्दै १५ साउनमा न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले ‘अहिले बन्दाबन्दीको अवधिभर घरभाडा नलिनु भन्ने अन्तरिम आदेश जारी गरिरहनु परेन’ भन्ने आदेश सुनाएको थियो । लकडाउनका अवधिमा घरभाडा तिर्नुपर्ने कि नपर्ने भन्ने विषयमा सरकार अझै निर्णयमा पुगिसकेको छैन।

कोभिड–१९ टुरिजम बिजनेस डिजास्टर को–अर्डिनेसन कमिटीका संयोजक भावी शर्मा भन्छन्, ‘ठमेलका घरधनीहरू ३० देखि ७० प्रतिशतसम्म घरभाडा छुट दिन सहमत भएका छन् । घरभाडा घटेपछि धेरै व्यवसायी तत्काल ‘पर्ख र हेर’को अवस्थामा पुगेका छन्, कतिपयले व्यवसाय बन्द गरिरहेको पनि देखिन्छ ।’ ठमेलका व्यवसायीहरू पसल बन्द गरेर धमाधम निस्कन थालेपछि ठमेल डेभलपमेन्ट टुरिजम काउन्सिलले घरधनी र व्यवसायीबीच छलफल गराएर घरभाडा छुट गराउन पहल गर्न कमिटी गठन गरेको हो ।

विदेशी पर्यटक नआउँदासम्म पर्यटन व्यवसाय चल्नेवाला छैन । कोभिड मत्थर नहुँदासम्म पर्यटक आउने सम्भावना पनि देखिँदैन । १५ साउनदेखि होटेल, रेस्टुराँहरू खोल्न दिएको सरकारले १ भदौदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान पनि खोल्ने निर्णय गरिसकेको छ । आन्तरिक तथा विदेशी विमान कम्पनीहरूले पनि सोहीअनुरूप तयारी गरिरहेका छन् । तर, कोभिडको संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि तत्काल पर्यटक ल्याउन सम्भव देखिँदैन । अहिले ठमेल मात्र होइन कि पर्यटनसँग जोडिएका सबै ठाउँको व्यापार व्यवसाय चौपट भएको छ । घरधनीले घरभाडा छुट दिएर व्यवसायीलाई टिकाउन खोजे पनि पसल, अफिस, रेस्टुराँ बन्द हुने क्रम रोकिएको छैन ।

                                                                       ...

कोभिडका कारण व्यावसायिक मात्र होइन, आवासीय घरहरू पनि धमाधम खाली हुन थालिसकेका छन् । हिजो चर्को घरभाडा असुलिरहेका घरधनीहरू यतिवेला भाडा मिलाएर भए पनि घर खाली हुन नदिने मनस्थितिमा पुगिसकेको बताउँछन् घरजग्गा एजेन्ट संघ (रियान)का अध्यक्ष ईश्वर खरेल । अहिले आवासीय क्षेत्रका धेरै घरको गेटमा ‘टु लेट’ देख्न सकिन्छ । व्यावसायिक हबका सटरहरू बन्दकै अवस्थामा छन् । थुप्रै पसल तथा रेस्टुराँ बिक्रीमा राखिएको छ । तर, मूल्य मिलाएर दिन खोज्दा पनि किन्ने ग्राहक भेटिँदैनन् ।

कोभिडको असर लम्बिँदै गएपछि पर्यटनका हबहरू मात्र नभएर सबै क्षेत्रमा उत्तिकै असर पर्न थालेको छ । सपिङ मल, खुद्रा तथा थोक पसल, आवासीय घरहरू धमाधम खाली भइरहेका छन् । घरधनीहरू पनि घरभाडामा छुट गर्न बाध्य भइरहेका छन् । पुल्चोकस्थित लबिम मलमा वैशाख, जेठ र असार महिनाको ५० प्रतिशत भाडा छुट दिइएको थियो । ‘साउनदेखि भाडा छुट दिएका छैनौँ, व्यवसायीलाई अहिले सक्नेजति पैसा दिनुस्, बाँकी पैसा अवस्था सहज भएपछि दिनुहोला भनेका छौँ,’ लबिम मलका सञ्चालक नकिम उद्दिन भन्छन्, ‘लबिम मल सञ्चालनमा आएको धेरै भएको छैन, अझै घाटामा चलिरहेको छ, हामीले चाहेर पनि व्यवसायीलाई भाडा छुट दिन सकेनौँ ।’ महामारीमा खर्च धान्न नसकेपछि लबिम मलको म्याङ्गो चिल्ली रेस्टुराँ बन्द हुँदै छ ।

न्युरोडको विशाल बजारमा भाडा तिरेर चलाएका पसलहरू पनि धमाधम बन्द भइरहेका छन् । सिभिल मलका व्यापारी आन्दोलनमा उत्रिएपछि व्यवस्थापकले लकडाउन अवधिको भाडामा ५० प्रतिशत र साउन, भदौ र असोज महिनासम्म भाडामा ४० प्रतिशत छुट दिने सहमति गरेको छ । बानेश्वरको आइप्लेक्स मलले लकडाउन सुरु भएको ६ महिनासम्म घरभाडामा ६० प्रतिशतसम्म छुट दिएको छ । भदौ महिनासम्म मलका व्यापारीले घरभाडामा छुट पाउनेछन् । रञ्जना, ब्लुबर्ड, चितवनको सिजी ल्यान्डमार्कलगायतले लकडाउन अवधिको घरभाडामा छुट दिए पनि कोभिड मत्थर नहुँदासम्म घरभाडामा छुट दिइरहनुपर्ने व्यवसायीहरूले माग गरिरहेका छन् । चर्को भाडा तिरेर पसल थेगिराख्न नसक्ने उनीहरूको चेतावनी छ । 

दरबारमार्गका व्यवसायीले पसल खोलेर आकर्षक छुट अफर ल्याउँदा पनि ग्राहक भेटेका छैनन् । भर्खर सञ्चालनमा आएको छाया सेन्टरबाट पनि करिब डेढ दर्जन व्यवसायी विस्थापित भइकसकेका छन् । अहिले विस्थापित भएका व्यवसायी घरभाडा नघटाउँदासम्म फर्किनेवाला छैनन् । अझै धेरै व्यवसायी कोभिड मत्थर नहुँदासम्म व्यवसाय खोल्ने पक्षमा छैनन् । अब धेरै घरहरू खाली हुने हुँदा ‘ओभर सप्लाइ’ भएर घरभाडा घट्ने सम्भावना रहेको घरजग्गा खरिद बिक्रीको काम गर्ने व्यवसायी बताउँछन् । 

चेन रेस्टुराँको सुरुवातकर्ता नाङ्लो ग्रुपले लकडाउनको बीचमा महाराजगन्ज र भाटभटेनीमा रहेका ‘द बेकरी क्याफे’का दुईवटा आउटलेट बन्द गरिसकेको छ । रेस्टुरेन्ट व्यवसायी चन्दन कायस्थले ठमेलको घरमा ६० प्रतिशत भाडा छुट दिँदादिँदै पनि दुईजना व्यापारीले सटर बन्द गरेर हिँडेका छन् । सरकारले लकडाउन खोलेसँगै पसल व्यवसाय खुले पनि ग्राहक छैनन् । रेस्टुरेन्टमा खाली कुर्सी मात्र देखिन्छन् । दैनिक उपभोग्य वस्तुहरू बिक्री गर्ने किराना पसलबाहेक अरूको व्यापार नै छैन । व्यापार नभएपछि चर्को घरभाडा तिरिरहनुभन्दा धेरै व्यवसायी पसल बन्द गर्ने मुडमा पुगिसकेका छन् । 

                                                                              ...

नेपाल भूमि रियलस्टेट एजेन्सीका सञ्चालक विक्रम लामाका अनुसार अहिले घर भाडामा लगाउने घरधनीको चाप बढिसकेको छ । ‘लकडाउनअघि आवासीय घरहरू भाडामा लगाउने घरधनीको चाप बढी हुन्थ्यो, अहिले कमर्सियल प्रयोजनका घरहरू भाडामा लगाउन खोज्ने बढेका छन्,’ उनी भन्छन्, ‘लकडाउन खुकुलो भएसँगै ठमेल, कालिकास्थान, दरबारमार्ग, न्युरोड, पुतलीसडक, लाजिम्पाटलगायत प्राइम लोकेसनबाट पनि घरभाडामा लगाउन दबाब आउन थालेको छ ।’ कोभिडअघि प्राइम लोकेसनका घरधनी घरभाडामा लगाउन भनेर त्यति आउँदैनथे । उनी थप्छन्, ‘कोभिडले व्यापार व्यवसाय चौपट भएपछि धेरै घर खाली भइसकेका छन् ।’

घरभाडा र राहतका विषयमा सरकारी नीति अस्पष्ट, भाडा लगाइएका घरहरू धमाधम खाली हुँदै, पसल, अफिस, रेस्टुराँ बन्द हुने क्रम रोकिएन

अफिसका रूपमा प्रयोग भएका घरहरू खाली हुने क्रम बढेको छ । कतिपयले ‘स्पेस सेयरिङ’ गर्न खोजिरहेका छन् । ठूलो ठाउँ लिएर अफिस वा व्यवसाय गर्नेहरू अहिले ‘स्पेस सेयरिङ’ वा सानो ठाउँमा सर्न खोजिरहेको बताउँछन् रियानका अध्यक्ष खरेल । ट्राभल, ट्रेकिङ, कन्सलटेन्सीले ठूलो घर नै भाडामा लिएर बसेका थिए । कोभिडसँग व्यवसाय ठप्प भएपछि सानो ठाउँ लिएर काम गर्न थालेका छन् । ‘अहिले ठूलो ठाउँबाट सानोमा सर्ने र स्पेस सेयरिङ गर्न खोज्नेहरू बढेका छन्,’ प्रोपर्टी २४७ का सञ्चालक विनोद सुवेदी भन्छन्, ‘मैले आफैँ पनि कान्तिपथस्थित अफिसको स्पेस सेयरिङ गर्न खोजिरहेको छु, तर भनेजस्तो मान्छे भेटिरहेको छैन ।’

कोभिडपछि पसल, होटेल, रेस्टुरेन्ट, अफिस बिक्री गर्न खोज्नेहरू पनि ह्वात्तै बढेको छ । पसल खरिदबिक्री नामक फेसबुक पेजमा पसल तथा रेस्टुरेन्ट बिक्रीका लागि दैनिक विज्ञापन गरिरहेको देख्न पाइन्छ । कतिपय साना व्यवसायीले व्यवसाय नै छाडेर हिँडेका छन् । बन्द अवधिको घरभाडा तिर्नुभन्दा बरु नयाँ व्यवसाय सुरु गर्दा सस्तो पर्ने हुनाले पनि कतिपय व्यवसायीहरू पसल अफिसको समान घरबेटीलाई जिम्मा लगाएर हिँड्न थालेका छन् । 

‘अहिले सिर्जना भएको विषम परिस्थितिले घरभाडामा उथलपुथल ल्याउनेवाला छ,’ खरेल भन्छन्, ‘मान्छेको पेसा व्यवसाय गुमेको अवस्था छ, घरभाडा तिर्न सक्ने अवस्था छैन, घर बहालमा लगाउने घरबेटीलाई पनि उत्तिकै अप्ठ्यारो छ । धेरै घरबेटीले घरलाई धितो राखेर बैंकबाट ऋण निकालेका छन् ।’ नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह भएको कर्जामध्ये आधाभन्दा बढीमा कर्जामा घरजग्गा धितो राखिएको छ ।

                                                                      ...

सिंगो घर वा फ्ल्याट भाडामा लिएर बसिरहेका विदेशी नागरिक लकडाउनअगाडि नै घर फर्किसकेका छन् । उनीहरू बसेको घर वा फ्ल्याट खाली भइसकेको छ । कोभिड मत्थर नहुँदासम्म उनीहरू फर्किने अवस्था छैन । देशका विभिन्न जिल्लाबाट काठमाडौं आएर कोठा भाडामा लिई अध्ययन गर्ने विद्यार्थी पनि अझै फर्किएका छैनन् । लकडाउनअघि घर फर्किएका उनीहरू कहिले काठमाडौं आउने हुन् यकिन छैन । घरभाडामा दिएको व्यक्ति नआएपछि घरबेटी पनि बिलखबन्दमा परेका छन् । अर्को व्यक्तिलाई भाडामा लगाउन पनि तत्काल कोही भेटिँदैनन् । ‘अहिले भाडा घटाएरै दिन्छु भन्दा पनि मान्छे फेला पार्न कठिन छ,’ खरेल भन्छन्, ‘भोलिका दिनमा काठमाडौंको घरभाडा घट्ने सम्भावना छ ।’

काठमाडौंमा ‘रेन्टल सर्भिस’ ठूलो उद्योग बनिसकेको छ । खरेलको अनुमानमा काठमाडौंमा ५० लाखभन्दा बढी मान्छे बसोवास गर्छन्, जसमध्ये आधाजति जनसंख्या भाडामा बस्दै आइरहेका छन् । ‘कसैले घर छाडिदिने, कसैले पसल बन्द गरिदिने, कोही ठूलो ठाउँबाट सानो ठाउँमा सर्न खोज्ने, घर वा फ्ल्याट भाडामा लिएर बस्ने विदेशी आफ्नो देश फर्किने गर्दा धेरै घर खाली भएका छन्,’ खरेल सुनाउँछन्, ‘अहिले घरबेटी पनि तनावमा छन्, घरभाडामा लगाउन दबाब दिइरहेका छन् ।’ अहिले होस्टेल पनि खाली भइसकेका छन्, जसमध्ये धेरै होस्टेल भाडा तिर्न नसकेर बन्द भइसकेका छन् ।