मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : एएफपी/रासस
२०७७ श्रावण २२ बिहीबार ०४:०३:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

लेबनान विस्फोटमा सयभन्दा बढीको मृत्यु, चार हजार घाइते

बेरुतमा रहेका नेपाली भन्छन्– सुरक्षित छौँ

Read Time : > 1 मिनेट
२०७७ श्रावण २२ बिहीबार ०४:०३:००

मध्यपूर्वी मुलुक लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विस्फोटमा परी एक सयभन्दा बढीको मृत्यु भएको छ । करिब चार हजारजना घाइते भएका छन् । विस्फोटबाट तीन लाख स्थानीयले घर गुमाएको सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ । 

बेरुतस्थित बन्दरगाहमा राखिएका २७ सय ५० टन आमोनियम नाइट्रेटका कारण विस्फोट भएको बताइएको छ । लेबनान सरकारले बन्दरगाहमा कार्यरत उच्च कर्मचारीलाई अनुसन्धानका लागि हाउस एरेस्टमा राख्ने निर्णय गरेको छ । बेरुत सिटीका गभर्नर बारवान अबोउन्डले समाचार संस्था अलजजिरालाई भनेका छन्, ‘हाम्रा करिब तीन लाख जनताले घर गुमाएका छन् । उनीहरूलाई खाना, पानी र बसोवासका लागि हामी तयारी गरिरहेका छौँ ।’ 

लेबनानमा करिब २५ सय नेपाली छन् । बम विस्फोट भएको क्षेत्रमा रहेका नेपालीमध्ये एकजना सामान्य घाइते भएका छन् । नेपाली दूतावास तथा गैरआवासीय नेपाली संघका अनुसार बुधबार साँझसम्म नेपालीहरू सुरक्षित छन् । 

लेबनान मामिला पनि हेर्दै आएका इजिप्टका लागि नेपाली राजदूत झविन्द्रप्रसाद अर्यालले लेबनानमा रहेका नेपाली सकुशल रहेको बताए । उनले टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘म बेरुतमा रहेका नेपालीहरूसँग सम्पर्कमा छु । अहिलेसम्म सबैजना सकुशल र सुरक्षित रहेको जानकारी छ ।’ लेबनानका सरकारी अधिकारीसँग पनि सम्पर्क राखेको उनले बताए । बेरुतमा रहेको अवैतनिक नेपाली महावाणिज्य दूतावासले पनि नेपालीहरूसँग समन्वय गरिरहेको छ । लेबनान सरकारले दुई साता संकटकाल घोषणा गरेको छ । राजदूत अर्यालका अनुसार बम विस्फोटले आधा बेरुत प्रभावित भएको छ । 

गैरआवासीय नेपाली संघ लेबनानका अध्यक्ष अशोक थापाले बेरुतमा रहेका नेपालीमध्ये एकजना महिलाको हातमा सामान्य चोट लागेको र बाँकी सबै सकुशल रहेको बताए । ‘हाम्रो सम्पर्कमा आएका साथीहरू सबै सुरक्षित हुनुहुन्छ । मानवीय हिसाबले त्रासको अवस्था भयो, तर केही पनि भएन,’ उनले टेलिफोनमा भने ।

अध्यक्ष थापाका अनुसार लेबनानमा रहेका करिब २५ सय नेपालीमध्ये अधिकांश महिला छन् । ‘विस्फोट भएको ठाउँनजिकै करिब सय नेपाली थिए । रेस्टुरेन्टमा कार्यरत, घरेलु कामदार र कम्पनीहरूमा काम गर्नेहरू त्यहाँ थिए । दौरा भन्ने स्थानमा रहेकी एकजना महिलाको हातमा उछिट्टिएको सिसाले चोट लागेको थियो । उपचारपछि मंगलबार नै घर फर्किएको जानकारी आएको छ,’ उनले भने । बाँकी कोही नेपाली पनि अलपत्र नपरेको उनले बताए ।

‘जापानको हिरोसिमामा एटम बम खसेको इतिहास पढेको थिएँ, लेबनानमा त्यस्तै देख्नुप¥यो । आधाजति सहर क्षतविक्षत भएको छ । केही वर्षदेखिको आर्थिक मन्दी र पछिल्लोपटक कोरोनाले आर्थिक रूपमा अप्ठेरो पारेकै थियो, यो घटनाले यहाँको अर्थतन्त्रमा ठूलो असर पर्नेवाला छ । लेबनानमा बचेखुचेका नेपाली पनि अब फर्किने दिन आउलाजस्तो लागिरहेको छ,’ हेटौँडा स्थायी घर भएका अध्यक्ष थापाले भने ।

बेरुतमा कार्यरत पोखराकी सरु गुरुङले बम बिस्फोट भएको ठाउँनजिक रहेका २० नेपाली सकुशल रहेको बताइन् । उनका अनुसार विस्फोट भएको ठाउँनजिकैका फोर्सिजन होटेल, फिनिसिया होटेल र स्टार को–सुपरमार्केटमा नेपालीहरू कार्यरत छन् । ‘अपराह्न ४ बजेको ड्युटी सकेर नेपालीहरू कोठामा फर्किसकेका थिए, त्यसकारण पनि नेपालीहरू जोगिएका हुन् जस्तो लाग्छ,’ उनले भनिन्, ‘हामी बालबाल बच्यौँ ।’

मंगलबार उनी विस्फोट भएको ठाउँनजिकैबाट यात्रा गरिरहेकी थिइन् । दुईजना साथीसँग खाजा खान एउटा रेस्टुरेन्टमा रहेका वेला विस्फोटको ठूलो आवाज आएको, तर यति ठूलो घटना हो भन्ने कल्पनै नभएको गुरुङले सुनाइन् । ‘खाजा अर्डर मात्र गरेका थियौँ, कानको जाली फुट्लाझैँ गरेर ठूलो आवाज आयो, पूरै जमिन हल्लियो, हामीले त जेनेरेटर पड्किएर बत्ती गयो भन्ने सोच्यौँ,’ उनले भनिन्, ‘तर, सुनामीजस्तो धुलो, माटो, सिसा हावामा मिसिएर ठूलो मुस्लो आएपछि हामी रेस्टुरेन्टभित्रै पस्यौँ । पछि मात्रै बम पड्कियो भन्ने थाहा भयो ।’