मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २१ बुधबार २१:४२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अयोध्यामा राम मन्दिर शिलान्यास गर्दै मोदीले भने– नेपालको जनकपुर र अयोध्याको सम्बन्ध आत्मीय

Read Time : > 2 मिनेट
२०७७ श्रावण २१ बुधबार २१:४२:००

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको बुधबार भूमिपूजन तथा शिलान्यास गरेका छन् । भारतको सर्वाेच्च अदालतले गत २४ कात्तिकमा अयोध्याको बाबरी मस्जिद भएको स्थान भगवान् श्रीरामको जन्मभूमि भएको फैसला गरेपछि भारत सरकारले त्यहाँ २.७७ एकड जमिनमा राम मन्दिर निर्माण गर्ने निर्णय गरेको थियो । मोदीले मन्दिर शिलान्यास गरेको दिन समग्र भारत हृदयदेखि नै भावविभोर रहेको बताएका छन् । 

सरकारले रामभूमि तीर्थ क्षेत्र ट्रस्ट गठन गरेर मन्दिर निर्माणको तयारी थालेको छ । बुधबार भूमिपूजनसँगै मन्दिर निर्माण सुरु हुनेछ । मोदीले भूमिपूजन गरेपछि ४० केजी तौलका पाँचवटा इँटा राखेर बुधबार १२ः४४ को साइतमा मन्दिरको शिलान्यास गरेका छन् । कार्यक्रममा राष्ट्रिय स्वयंसेवक संघका प्रमुख सरसंघचालक मोहन भागवत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, ट्रस्टका अध्यक्ष नृत्य गोपालदास महाराजलगायत सहभागी थिए । भूमिपूजन कार्यक्रममा एक सय ७५ जनालाई बोलाइएको थियो जसमध्ये एक जनकपुर मन्दिरका महन्थ राम तपेश्वर दास पनि थिए । 

भूमिपूजनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले राम मन्दिर निर्माण गर्ने शताब्दीऔँदेखिको प्रतीक्षा पूरा भएको बताए । मोदीले भगवान् श्रीरामसँग नेपालसँग आत्मीय सम्बन्ध जोडिएकोसमेत उल्लेख गरे ।  मोदीले भने, ‘नेपालमा भगवान् श्री रामको आत्मीय सम्बन्ध माता जानकीसँग जोडिएको छ ।’  भूमिपूजन कार्यक्रममा सहभागी हुन जानकी मन्दिर जनकपुरधामबाट महन्त राम तपेश्वरदास पनि अयोध्या पुगेका थिए । महन्त दासले नेपाल, नेपाली जनता  र मिथिला नगरीका तर्फबाट चाँदीको इँटासमेत चढाएको उनका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिए । 

भारतमा लामो समय शासन गरेको मुगल शासकले सन् १५२८ मा राम मन्दिरलाई विस्थापन गरी अयोध्यामा बाबरी मस्जिद निर्माण गरेपछि भारतमा विरोध हुँदै आएको थियो । भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीलगायतको नेतृत्वमा सन् १९९२ मा बाबरी मस्जिद भत्काएपछि हिन्दू र मुसलमान समुदायबीच ठूलो द्वन्द्व भएको थियो । उक्त भूमि राम मन्दिरको कि मस्जिदको भन्ने विषयमा लामो समयकाे अदालतको बहस गत कात्तिक २४ मा टुंगिएपछि मन्दिर निर्माणको तयारी थालिएको हो । राम मन्दिर निर्माणको विषयलाई भारतीय जनता पार्टी तथा उसको मातृ संगठन राष्ट्रिय स्वयंसेवक संघले लामो समयदेखि उठाउँदै आएका छन् । 

मोदीले शिलान्यास तथा भूमिपूजन गरेको ठाउँमा रामको एक सय ६१ फिट अग्लो मन्दिर निर्माण हुनेछ । रामायणकालीन झल्को दिने गरी अयोध्यामा साढे तीन वर्षपछि मन्दिर निर्माण पूरा हुने ट्रस्टका महासचिव चम्पत रायले भारतीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । मन्दिर निर्माणका लागि करिब भारु तीन अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । शिलान्यासका वेला बुधबारसम्म अयोध्यामा चाँदीका दुई लाख इँटा जम्मा भएको ट्रस्टका अधिकारीहरूले बताएका छन् ।

राम मन्दिर शिलान्यास भएका दिन सीताको जन्मभूमि जनकपुरमा दीपावली गरिएको छ । राप्रपाका अध्यक्ष कमल थापाले अयोध्यामा राम मन्दिको भूमिपूजन भएकोमा खुसी व्यक्त गरेका छन् । थापाले भने,  
‘पाँच सय वर्षअघि ध्वस्त पारिएको र सयौँ वर्षदेखिको संघर्ष र विवादपछि श्रीरामको मन्दिर पुनर्निर्माणको महत्व रहेको छ ।’  थापाले धर्मसंस्कृति र भगवानप्रतिको आस्था राजनीतिक सिमानाले नबाँधिने भन्दै मन्दिरको भूमिपूजनप्रति विश्वका समस्त हिन्दूहरू खुसी रहेको पनि बताए । 

विश्व हिन्दू महासंघले पनि राममन्दिरको भूमि पूजन भएकोमा खुशी व्यक्त गर्दै अयोध्या विश्वका हिन्दूहरूको तीर्थस्थल बन्ने विश्वास व्यक्त गरेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी महासंघका उपाध्यक्ष हुन् । महासंघका महासचिव अस्मिता भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अयोध्यामा निर्माण हुने श्रीराम मन्दिर संसारभरिका हिन्दूहरूको आस्थाको धार्मिक तीर्थस्थल बन्नेछ भन्ने हाम्रो अटल आस्था र विश्वास रहेको छ । सनातन हिन्दूधर्मले निर्धारण गरेको हाम्रो आध्यात्मिक तथा धार्मिक सम्बन्ध कुनै पनि भौगोलिक र राजनीतिक नक्साभन्दा माथि रहेको हुँदा हामी नेपालीहरू पनि आजको यस महत्वपूर्ण ऐतिहासिक दिनमा गौरवान्वित भएका छौँ ।’