मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण २१ बुधबार २१:०७:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कोरोना पुष्टि भएपछि सम्पर्कविहीन

Read Time : < 1 मिनेट
२०७७ श्रावण २१ बुधबार २१:०७:००

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना परीक्षण गराएका व्यक्तिहरू कोरोना पोजेटिभ रिपोर्ट आएपछि स्वास्थ्य निकायको सम्पर्कमै नरहने क्रम बढ्न थालेको छ । गत शनिबार बुटवल हाटबजारमा व्यापार गर्ने दुईजनामा कोरोना पुष्टि भएलगत्तै बेपत्ता भएका थिए भने बुधबार पनि यसैगरी एकजना संक्रमित सम्पर्कविहीन भएका छन् । 

सिद्धार्थ नगरपालिका– ८ भैरहवा ठेगाना लेखाएका २८ वर्षीय पुरुष सम्पर्कविहीन भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.  विष्णु गौतमले बताए । उनमा कोरोना पुष्टि भएपछि स्वास्थ्य संस्थाबाट सम्पर्क गर्दा सम्पर्क नै हुन नसकेको डा. गौतमले बताए  । 

हाटबजारका दुईजना सम्पर्कविहीन
यसअघि गत शनिबारबाट हाटबजारमा व्यापार गर्ने दुईजना पुरुष कोरोना पुष्टि भएपछि सम्पर्कविहीन भएका छन् । लुम्बिनी प्रदेशिक अस्पतालमा कोरोना जाँच गराएका उनीहरूलाई फोनमार्फत जानकारी गराइएको थियो । फोनबाट जानकारी लिएपछि उनीहरूले मोबाइल नै ‘स्विच्ड अफ’ गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहका अनुसार ४६ र २७ वर्षीय उनीहरू बुटवल–५ स्थित घरमा डेरा गरेर बस्थे । उनीहरूले ठेगाना भैरहवा बताए पनि कुन ठाउँका स्थायी बासिन्दा हुन् भन्ने स्पष्ट पारेका थिएनन् ।