मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २१ बुधबार १९:४५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरा महानगरलाई सोलारबत्ती घाँडो : मर्मतमै ३१ लाख लाग्ने 

Read Time : > 1 मिनेट
२०७७ श्रावण २१ बुधबार १९:४५:००

पोखरा महानगरपालिकाको सडकहरूमा जडान भएका सोलारबत्ती अहिले घाँडो बन्न थालेका छन् । महँगो मर्मतसम्भार, मर्मतका लागि दक्ष जनशक्ति अभाव र सोलारबत्तीका पुराना ब्याट्री व्यवस्थापनमा कठिनाइका कारण सडकका सोलारबत्ती महानागरलाई घाँडो भएको हो । 

महानगरका मेयर मानबहादुर जिसीले सोलारबत्ती मर्मत गर्ने वा विकल्प रोज्ने भन्ने विषयमा छलफल भइरहेको नयाँ पत्रिकालाई बताए । ‘लोडसेडिङको वेलामा सोलारबत्ती उपयुक्त विकल्प थियो । विभिन्न संघसंस्थाको हातेमालोमा सोलारबत्ती जाडान गरिएको होे । अहिले मर्मतसम्भारका लागि लाग्ने लागत हेर्दा बिस्तारै घाँडो बन्ने देखियो । मर्मतमा जाने या विकल्प रोज्ने भन्ने छलफलमै छौँ,’ मेयर जिसीले भने । 

पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड युवा क्लब, स्थानीय विभिन्न क्लब तथा संघसंस्थाले पोखरामा एकताका सोलारबत्ती जडान गर्ने अभियान नै चलाएका थिए । पोखरा उद्योग वाणिज्य संघको  सक्रियतामा चिनियाँ सहयोगमा पोखरामा हजारभन्दा बढी सोलारबत्ती जडान भएका थिए । पोखरा महानगरपालिकाले पनि जनसहभागितामा सडकमा सोलारबत्ती जडानलाई प्राथमिकता दिएको थियो । यसरी जोडिएका सोलारबत्ती पोखरामा दुई हजारको हाराहारीमा छन् । ती बत्ती जोडानमा महानगरको मात्रै पाँच करोड खर्च भएको पोखरा महानगरपालिकाका योजना महाशाखा प्रमुख शारदामोहन काफ्लेले बताए । 

दुई सयवटा बत्ती बल्न छाडे 
महानगरका मेयर जिसीका अनुसार दुई हजारमध्ये दुई सयवटा बत्ती बल्दैनन् । त्यसलाई सञ्चालनमा ल्याउन तत्काल ३१ लाख रुपैयाँ खर्च लाग्ने प्राविधिकहरूको भनाइ छ । अधिकांश पोलमा ब्याट्री ड्यामेज भएको रिपोर्ट प्राविधिक दिएको मेयर जिसीले बताए । 

साँझ उज्यालो दिने अधिकांश सोलारबत्ती केही घन्टामै निभ्ने गर्छन् । पोखराको राष्ट्र बैंक चोकमा रहेको एक निजी कम्पनीमा कार्यरत सुरक्षागार्ड थम्मन ठकुरीका अनुसार यस क्षेत्रका सोलारबत्ती राति १२ बज्दानबज्दै निभिसक्छन् । उनले भने, ‘साँझ उज्यालो हुन्छ । स्थानीयको घरहरूमा पनि बत्ती बल्छ । मध्यरातमा जतिवेला घरहरूमा बत्ती निभ्छ त्यतिवेला सडकबत्ती पनि निभिसक्छन् ।’

जलविद्युत् नै सस्तो पर्ने
नेपाल विद्युत् प्राधिकरण भरतपुर स्टेसनका इन्जिनियर अविनाश महतले भइरहेका सडक सौर्यबत्तीका पोललाई प्रयोग गरी अहिलेकै जति क्षमतामा जलविद्युत् प्रयोग गरिए मासिक एक लाख ९३ हजार पाँच सय ३० रुपैयाँका खर्च लाग्ने बताए । यस हिसाबले वार्षिक २३ लाख २२ हजार ३६० रुपैयाँ विद्युत् महसुल बुझाए पुग्ने उनको भनाइ छ । 

४० वाटको बल्ब जोड्दा मासिक २६ हजार एक सय ४५ युनिट बिजुली खपत हुन्छ । अहिले भइरहेका सौर्यबत्ती ४० वाट क्षमताको रहेका पोखरा महानगरपालिकाका योजना महाशाखा प्रमुख शारदामोहन काफ्लेले जानकारी दिए । 
नेपाल विद्युत् प्राधिकरण पोखरा शाखाका प्रमुख टेकनाथ तिवारीका अनुसार अहिले सय वाटको परम्परागत बल्बले दिने उज्यालो २० वाटको बल्बले नै दिन्छ । यस हिसाबले अझै कम रकमले बत्ती बाल्न पुग्छ । 

ब्याट्री व्यवस्थापन चुनौतीपूर्ण
ब्याट्रीमा प्रयोग भएको रसायनमा लिडको मात्रा अत्यधिक हुनाले यसको व्यवस्थापन चुनौतीपूर्ण छ । नाष्टका प्रवक्ता एवं सौर्य ऊर्जा विशेषज्ञ डा. सुरेशकुमार ढुंगेलले लिड र सल्फिक एसिडको प्रयोग गरेर ब्याट्री बनाइने भएकाले यसले मानव स्वास्थ्य र वातावरणमा निकै नकारात्मक प्रभाव पार्ने बताए । 
विकसित देशहरूमा ‘रिसाइकल’का विभिन्न उपाय अपनाइएको र त्यहाँ राम्रो गुणस्तरका ब्याट्री प्रयोग हुने हुँदा सौर्य ऊर्जा प्रयोग गरेको उनको भनाइ छ । नेपालमा बाहिरबाट आयात गर्ने, कमिसनका विभिन्न खेल हुनेजस्ता कारणले यहाँ ल्याइने ब्याट्री कम गुणस्तरको हुने गरेको उनले जानकारी दिए । 
यद्यपि, आवश्यक मात्रामा सौर्य प्यानल सफा गर्ने र नियमित मर्मतसम्भार गर्दा सौर्यबत्तीको विकल्पमा जानु नपर्ने उनको राय छ । विगतमा सौर्य ऊर्जालाई वैकल्पिक ऊर्जाको रूपमा लिए पनि अहिले भने जलविद्युत्पछिको दोस्रो भरपर्दाे स्रोतको रूपमा उपयोग गरिन थालिएको छ ।