१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २१ बुधबार १८:५०:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

४५ मिनेटसम्म नेप्सेको तीनवटै सर्भर चलेनन्, पौने २० करोड लागतको स्वचालित प्रणालीमा समस्या 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २१ बुधबार १८:५०:००

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सफ्टवेयरले काम नगर्दा कारोबार नै ४५ मिनेट ढिलो सुरु गर्नुपरेको थियो । नेप्सेले पूर्ण स्वचालित कारोबारका लागि अपनाएको सफ्टवेयर डाउन भएपछि कारोबारमै समस्या आएको हो । नेप्सेले सुरक्षाको कारण अलगअलग स्थानमा तीनवटा सर्भर राख्ने गरेको छ । 

एउटा सर्भर नखुले पनि अन्य सर्भर स्वचालित खुल्नुपर्नेमा यसो हुन नसकेको नेप्सेले जनाएको छ ।  ‘एउटा सर्भर नचले पनि अन्य सर्भर चल्नुपर्ने हो,’ नेप्सेका अधिकारीले भने, ‘अब यसबारेमा प्रतिवेदन बुझाउन नेप्सेले वाइकोलाई निर्देशन दिएको छ ।’

सफ्टवेयर डेभलपर वाइको प्रालिले भारतीय कम्पनी इफिनिट कम्प्युटर सोलुसनसँगको साझेदारीमा नेप्सेको पूर्ण स्वचालित अनलाइन प्रणाली जडान गरेको हो । २० कात्तिक ०७५ देखि सञ्चालनमा ल्याइएको यो प्रणालीको लागत १९ करोड ८१ लाख रुपैयाँ रहेको छ । विश्वस्तरीय दाबी गरिँदै आएको नेप्सेको स्वचालित प्रणालीमा अन्य विभिन्न समस्या पहिलेदेखि नै देखिँदै आएको छ । 

ब्रोकरहरूका लागि उपलब्ध गराइएको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस), लगानीकर्ताहरूले अनलाइन कारोबारको क्रममा आदेश दिन समस्या हुँदै आएको छ । तर, सर्भरमा भने पहिलोपटक समस्या देखिएको नेप्सेले जनाएको छ । ‘पूर्ण स्वचालित प्रणाली सञ्चालनमा आएपछि सर्भरमा पहिलोपटक समस्या देखिएको हो,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने, ‘के समस्या भएको हो बुझ्दै छौँ ।’ 
बुधबार नेप्से परिसूचक कुन सही भन्ने द्विविधासमेत उत्पन्न भयो । कारोबार व्यवस्थापन प्रणाली (टिएमएस)मा सूचक एउटा बिन्दुमा थियो भने वेबसाइटमा अर्को ।  ‘टिएमएसमा केही अंकले मात्र बजार घटेको देखिइरहँदा वेबसाइटमा भने २१ अंकसम्म घटेको देखिएको थियो,’ नेपाल धितोपत्र दलाल संघका अध्यक्ष भरत रानाभाटले भने । बजारको वास्तविक तथ्यांक पाउनसमेत लगानीकर्ताहरूलाई समस्या पऱ्याे । 

वेबसाइटको समस्या पुरानै 
कारोबार प्रणाली (सफ्टवेयर)मा मात्र होइन समयसमयमा नेप्सेको वेबसाइटमा आउने समस्याले समेत लगानीकर्ताहरू आजित भएका छन् । अनलाइन कारोबार नगर्नेहरूले सेयर बजारमा कारोबार हुने कम्पनीहरूको मूल्य, कारोबारको अवस्था, कारोबारको परिमाण हेर्न नेप्सेको वेबसाइटमै भर पर्नुपर्छ । वेबसाइटमा समस्या आएसँगै हाल नेप्सेले कारोबारको अवस्था हेर्न तीनवटा वेबसाइट प्रचलनमा ल्याइरहेको छ । नेपाल स्टक डटकम, नेपाल स्टक डटकम डट एनपी र बेटा भर्सनसहितको अर्को वेब प्रचलनमा ल्याए पनि समस्या हल हुन सकेको छैन । 

‘कारोबार गर्ने वा नगर्ने जसले पनि सेयर बजारमा भइरहेको कारोबारको गतिविधि हेर्न पाउनुपर्छ,’ रानाभाटले भने, ‘तर, वेबसाइटमा समेत सधैँ लगानीकर्ताहरूले समस्या व्यहोर्दै आएका छन् ।’ हालसम्म १७ लाख ४२ हजारले सेयरको अभौतिकीकरण गरिएको (डिम्याट खाता)  खोलेका छन् । 

अनलाइन कारोबार गर्न दर्ता गराएका लगानीकर्ताको संख्या ३३ हजार चार सय २९ छ । नेप्सेकै अनुसार गत वर्ष मात्रै ८ हजार नाै सय ४४ जनाले अनलाइन र ६४ हजार तीन सय ७२ जनाले अफलाइन कारोबार गरेका थिए । अफलाइन कारोबार गर्नेमध्ये कोही ब्रोकरको कार्यालय नै पुगेर त कोही घर, कार्यालय वा अन्यत्रबाट वेबसाइट हेरेरै कारोबारको आदेश दिने गर्छन् । तर, दैनिक अर्बौंको कारोबार हुने बजारमा वेबसाइटजस्तो सामान्य कुरामा भने नेप्सेले आवश्यक खर्च गर्न सकेको छैन । 

‘नेपालमा उपलब्ध अधिकतम क्षमताको वेबसाइट हामीले प्रयोग गरिरहेका छौँ,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने, ‘भिजिटर बढी हुँदा समस्या आउने गरेको हो, क्षमता बढाउन हार्डवेयर र सफ्टवेयरमा धेरै खर्च गर्नुपर्ने कुरा आएको छ, हामी त्यो खर्च गर्न पनि तयार भएका छौँ ।’ 

हाल नेप्सेको वेबसाइटमा दैनिक २० देखि ३० हजारले एकै साथसम्म वेबसाइट हेर्ने गरेको र अधिकतम हुँदा ५० हजारजनासम्म पुग्ने गरेको दाबी नेप्सेको छ । वेबसाइट डेभलपरहरू भने सरकारी निकायहरूले तत्कालीन सोच राख्ने गरेकोले पनि बढी भिजिटर हुँदा समस्या आउने गरेको बताउँछन् । 

‘वेबसाइटको क्षमता एउटै कुरामा मात्रै निर्भर हुँदैन, दुई वा सोभन्दा बढी सर्भर राखेरसमेत एउटै वेबसाइटबाट प्रवेश गराएर पनि बाँड्न सकिन्छ,’ एक प्रविधिविज्ञले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘अर्को उपाय भनेको क्लाउडमा अटो स्केलिङ गरेर पनि सकिन्छ ।’

धेरैजसो सरकारी निकायहरूले क्षमता बढाउन पर्याप्त मात्रामा हार्डवेयर किनेर राख्ने प्रवृत्ति रहेकोसमेत उनी बताउँछन् । नेप्से हाल हार्डवेयर र सफ्टवेयर थप्ने विषय उठाएको भए पनि यसमा धेरै खर्च नहुने उनको भनाइ छ । क्लाउडमा अटो स्केलिङ गर्दा भने भिजिटरको संख्या घटबढ भएसँगै क्षमता घटबढ हुने र सोहीअनुसार मूल्य लाग्ने गर्छ ।