१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २१ बुधबार १६:२५:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना बिमा : सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बिमा सुरु, सर्वसाधारणले पनि सामूहिक बिमा गर्न पाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २१ बुधबार १६:२५:००

बिमा समितिले सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बिमा थालेको छ । 

आर्थिक वर्ष ०७७/७८ को बजेटले बिमासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्दै बिमा समितिले सरकारी कर्मचारीको निःशुल्क बिमा गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । 

समितिले बुधबार पत्रकार सम्मेलन गरी सरकारी कर्मचारीको सामूहिक कोरोना बिमा गर्दा नेपाल सरकारले शतप्रतिशत अनुदान उपलब्ध गराउने बताएको हो । 

समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले सरकारी कर्मचारीको निःशुल्क सामूहिक बिमा गर्ने सम्बन्धमा बजेटले व्यवस्था गरेको कार्यक्रमलाई कार्यान्वयनमा ल्याइएको बताए । 

उनले नागरिकले आफ्नो परिवारको सामूहिक बिमा गर्दा ५० प्रतिशत अनुदान पाउने व्यवस्थालाई पनि कार्यान्वयनमा ल्याइएको बताए । 

परिवारका सबै सदस्यको सामूहिक बिमा गरे मात्रै उक्त अनुदान पाउने अध्यक्ष चापागाईंले बताए । 

यस्तो बिमालेखको अवधि ०७८ असार मसान्तसम्म मात्र हुनेछ ।

बिमालेख खरिद गर्नका लागि नेपाली नागरिक हुनुपर्ने, भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको भएमा १५ दिन अनिवार्य क्वारेन्टाइनमा बसेको र थप १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको हुनुपर्नेछ । 

त्यस्तै सामूहिक कोरोना बिमाका लागि एकाघर परिवारका सदस्यहरू उल्लेख गरिएको स्वघोषणासहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात पेस गर्नुपर्ने व्यवस्थासमेत गरेको छ । 

त्यस्तै अनुदान प्राप्त गर्नका लागि समितिबाट जारी गरिएको कोरोना बिमा मापदण्ड, २०७७ मा तोकिएबमोजिमका जोखिमांकन व्यवस्थासम्बन्धी कागजात, एकाघर परिवारका सम्पूर्ण सदस्यहरूको सामूहिक बिमा गरिएको स्वघोषणा एवं सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात, एकाघर परिवारका सदस्यहरूको नाम तथा उमेर खुल्ने सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात, विगत ३० दिनसम्म नेपालमा नै बसोवास गरेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात पेस गर्नुपर्नेछ ।

बिमा लेखअन्तर्गत एक लाख र ५० हजार गरी दुई प्रकारको बिमांक कायम गरिएको छ । 

एक लाख बिमांक कायम भएको बिमालेखका लागि प्रतिव्यक्ति एक हजार र ५० हजारको बिमांकका लागि प्रतिव्यक्ति पाँच सय बिमाशुल्क कायम गरिएको छ । 

परिवारका सम्पूर्ण सदस्यहरूको सामूहिक बिमा गरिएको खण्डमा एक लाखको बिमांकका लागि प्रतिव्यक्ति ६ सय र ५० हजारको बिमांकका लागि प्रतिव्यक्ति तीन सय बिमाशुल्क लाग्नेछ । परिवारको सामूहिक बिमा गर्दा १ लाखको बिमांकका लागि प्रतिव्यक्ति तीन सय रुपैयाँ र ५० हजारको बिमांकका लागि प्रतिव्यक्ति एक सय ५० रुपैयाँ सरकारबाट अनुदान उपलब्ध हुनेछ ।

कोरोना बिमालेख खरिद गरेको १५ दिनपछि नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पिसिआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पाइएमा बिमालेखबमोजिमको रकम भुक्तानी हुने बिमा समितिले जनाएको छ ।